बिश्व वौद्धिक सम्पत्ति दिवसमा प्रतिलिपी अधिकार र रोयल्टीको चर्चा
परिवर्तनको शक्तिः नवप्रवर्तन र सिर्जनशीलतामा महिला नाराका साथ आज बिश्व वौद्धिक सम्पत्ति दिवस नेपालमा पनि मनाइएको छ । सन् १९७० मा आजकै दिन विश्व वौद्धिक सम्पत्ति संगठन विधिवत रुपमा संचालन भएको आजको दिन। वैज्ञानिक, लेखक, साहित्यकार, कलाकार लगायतका समस्त सृजनात्मक क्रियाकलापमा आफ्नो जीवन समर्पण गर्ने बौद्धिक वर्गहरुको लागि मात्र हैन लगानीकर्ता, उत्पादक, तथा वस्तु र सेवाका उपयोगकर्ताहरु लगायत आम नागरिकलाई पनि विशेष महत्वको दिन हो ।
बौद्धिक सम्पत्ति अन्तर्गत प्रतिलिपि अधिकार, विभिन्न प्रकारका चिन्हहरु, आविष्कार, औद्योगिक डिजाइन भौगोलिक संकेत, व्यवसायिक गोपनीयता जस्ता बिषयहरु समेटिएका छन् । प्रतिलिपि अधिकारभित्र साहित्यिक कार्य, कलात्मक कार्य, वैज्ञानिक कार्य, संगीत र बिभिन्न प्रस्तुति जस्ता बिषयहरु पर्दछन् ।
बौद्धिक सम्पत्ति अधिकार भनेको कुनै श्रष्टाले सिर्जना गरेको कुनै बौद्धिक सम्पत्तिलाई राज्यले कानूनी संरक्षण दिनु हो । यस्तो संरक्षण पाउन श्रष्टाले आफ्नो बौद्धिक सम्पत्ति आवश्यकता अनुसार कानूनन् दर्ता वा प्रकाशन गराउनु पर्छ । यसका लागि सरकारी कार्यालयहरु उद्योग विभाग र प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालय हुन् । यिनलाई व्यवस्थित गर्न हाल मुलुकमा पेटेण्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ तथा प्रतिलिपि अधिकार ऐन, २०५९ क्रियाशील रहेका छन् ।
अन्तर्राट्रिय जगतमा बौद्धिक सम्पत्ति अधिकारलाई मानवाधिकारको रुपमा स्वीकार गरिएको छ भने नेपालको संविधानमा स्रष्टा वा सर्जकको मौलिक अधिकारको रुपमा स्थापित भएको छ । बौद्धिक सम्पत्तिको अधिकारको संरक्षण गर्नु पर्ने मूलभूत कारण सिर्जनशीलतालाई प्रोत्साहन गर्नु र व्यवस्थित रुपले यस्ता सम्पत्तिलाई अन्य आर्थिक तथा प्रविधिको क्षेत्रको अतिरिक्त खासगरी उद्योग व्यापारका क्षेत्रमा व्यापक रुपमा प्रयोग गरी मुलुकका सामाजिक तथा आर्थिक उद्देश्यहरु हासिल गर्नु हो ।
बौद्धिक सम्पत्ति संरक्षण समाज नेपाल (इप्सन), उद्योग विभाग र नोपल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको संयुक्त रुपमा आयोजनामा भएको कार्यक्रममा “परिवर्तनको शक्तिः नवप्रवर्तन र सिर्जनशीलतामा महिला” विषयमा डा. प्रतिभा पाण्डेले , प्रतिलिपि अधिकार संरक्षण विषयमा रजिष्ट्रार रााजेन्द्र सिग्देलले र “बौद्धिक सम्पत्तिको अन्तर्राट्रिय परिवेश र नेपाल” बिषयको कार्यपत्र इप्सनका महासचिव मधुसूदन पौडेलले प्रस्तुत गरेका थिए । कार्यपत्रमाथी इप्सनका उपाध्यक्ष अधिवक्ता अन्जु उप्रेती ढकाल ,नाष्टका वैज्ञानिक तथा इप्सनका सदस्य डा. चिरञ्जीवीले गरेका थिए ।
वौद्धिक सम्पत्तिको संरक्षणबाट वैज्ञानिक, अनुसन्धानकर्ता, लेखक, साहित्यकार, कलाकार, प्राविधिज्ञ, विभिन्न व्यवसायी जस्ता व्यक्तिहरुले आफ्नो सिर्जनामा एकलौटी कानूनी अधिकार स्थापित हुने हुँदा प्रत्यक्ष ढंगले फाइदा पाउन सक्छन् । जसबाट उनिहरु थप नयाँ कुराहरु सिर्जनाका लागि लगानी गर्न सक्षम हुन्छन् ।
कार्यक्रममा बोल्ने बक्ताहरुले बौद्धिक सम्पत्तिको संरक्षण हुदा मुलुकमा रोजगारी सिर्जना हुने, विदेशी लगानी बढ्ने, नयाँ उद्योगहरु स्थापना हुने, प्रविधिको विकास हुने, मानवीय मूल्य र मान्यताको जगेर्ना हुने, जीवनस्तर बढ्ने र उपभोक्ताको हित संरक्षण भै मुलुकको समग्र आर्थिक तथा सामाजिक विकासमा ठूलो मद्दत पुग्ने बताएका थिए ।
बक्ताहरुले वौद्धिक सम्पत्ति संरक्षणका चुनौतीहरुमा जनचेतनाको कमी, अन्तराष्ट्रिय मान्यता अनुसारको स्तरीय कानूनको अभाव, जिम्मेवारपूर्ण र सुविधायुक्त वौद्धिक सम्पत्ति कार्यालयको अभाव, बजारमा नक्कली र संदिग्ध उत्पादनको विगविगी, पुरातन उत्पादन प्रणालीको बाहुल्य, उपयुक्त अध्ययन अनुसन्धान र कार्यगत रुपान्तरणको कमी तथा सृजनाशीलताको निम्ति सेवा सुविधा र प्रोत्साहनको कमी रहेको बताएका छन ।
त्यसैगरी विदेशमा वौद्धिक सम्पत्ति संरक्षणका लागि अन्तराष्ट्रिय पहूच र खर्चको समस्या, स्वदेशी रोयल्टी संकलन समाजको विदेशी समाजसंग सहकार्यको थालनी नहुनु, दुर्वल संरक्षण स्तर र फितलो कार्यान्वयन, विदेशी लगानी तथा प्रविधि हस्तान्तरणमा उदासिनता, आविष्कार सम्बन्धमा वढी उदार, सामाजिक मूल्य मान्यता वौद्धिक सम्पत्ति सरोकारको कमी तथा प्रतिभा पलायन रहेका बताएका छन ।
नेपाल विश्व बौद्धिक सम्पत्ति संगठन स्थापना गर्ने स्टकहोम महासन्धि १९६७, औद्योगिक सम्पत्ति संरक्षणका लागि पेरिस महासन्धि, १८८३, साहित्यिक र कलात्मक कृति संरक्षणका लागि वर्न महासन्धि १८८६ को सदस्य भैसकेको छ । साथै, नेपाल विश्व व्यापार संगठनमा पनि आवद्ध भैसकेको हुँदा ट्रिप्स एग्रिमेन्टको पक्षराष्ट्र भैसकेकोछ । तर नेपाल कला प्रस्तुती, ध्वनी अंकन र प्रसारणका लागि रोम महासन्धि, १९६१, अन्तर्राष्ट्रिय चिन्ह दर्ताका लागि मेड्रिड सन्धि, भौगोलिक संकेत संरक्षणका लागि लिसबन सन्धि र पेटेन्ट सहयोग सन्धिहरुको अनुमोदन गर्न अब ढिला भएको बक्ताहरुले औल्याएका छन ।
उद्योग मन्त्रालयका सचिव यामकुमारी खतिवडाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पुर्व मन्त्री एबं गीतकार एसपी कोईराला, संगीत रोयल्टी संकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारी लगायतले वौद्धिक सम्पत्ति,प्रतिलिपी अधिकार र रोयल्टीका बारेमा आफ्ना बिचार राखेका थिए ।