डालस एभरेस्ट लायन्स क्लबको पदयात्रा सम्पन्न
अप्रिल ९ । डालस एभरेस्ट लायन्स क्लबले हिजो अर्थात् अप्रिल ८ आइतबारका दिन “किड्नी पदयात्रा” सम्पन्न गर्यो । अर्भिंग सिटि स्थित आरडब्ल्यु रिचार्ड्सन पार्कमा आयोजित उक्त किड्नी पदयात्रामा डालस वरपर रहेका करिव सय जना व्यक्तिहरुको उपस्थिति थियो ।
“किड्नी पदयात्रा २०१८” का संयोजक थलराज पन्त हुनुहुन्थ्यो भने कार्यक्रममा अर्भिंग सिटीका मेयर रिक् स्टफ़र प्रमुख अतिथि हुनुहुन्थ्यो । त्यस्तै लायन्स क्लब डिस्ट्रिक्ट २X का उच्च पदस्थ व्यक्तिको साथै डालस वरपर सक्रिय रहेका बिभिन्न नेपाली संघ संस्थाहरुका प्रतितिनिधिहरुको उपस्थिति रहेको थियो ।
पदयात्राको उद्देश्य नेपालमा आरोग्य फाउन्डेसनद्वारा संचालित “डायलासिस केन्द्र” मा मेसिन किन्न आर्थिक सहयोग जुटाउनु थियो ।
डालस एभरेस्ट लायन्स क्लब अमेरिकामा नेपालीहरुद्वारा स्थापित संस्थाहरु मध्ये सामाजिक रुपमा बढी सक्रिय, संस्थागत रुपमा कम बिबादित र प्रभावका हिसाबले बढी प्रभावकारी योजना र कार्यक्रमहरु संचालन गर्ने संस्था हो । आलोपालो नेतृत्व लिने र सबैले बराबर काम गर्ने उत्कृस्ट अभ्यास यो संस्था भित्र भए गरेको देखिन्छ । ठुला र खर्चालु कार्यक्रमहरु गरेर काम गरेको प्रदर्शन गर्ने तर जुन उद्देश्यको लागि कार्यक्रम आयोजना गरिएको हो, त्यसमा कुनै सहयोग नपुग्ने तरिकाले तडकभडक प्रदर्शन नगरी सामान्य खर्चमा यसमा कार्यक्रम संचालन गरिन्छ । हिजोको कार्यक्रममा पनि त्यस्तै भयो ।
बादलले टम्म आकास भरिएको, चिसो हावा चलेको अबस्थामा पनि लायनहरु पहेंलो ज्याकेट लगाएर सक्रिय थिए । कोहि दर्ता गर्न सक्रिय थिए भने कोहि अन्य काममा । कोहि पनि भिआइपी बनेर गफ गरेर नबसी पदयात्राको सफलताको लागि कार्यरत देखिन्थे । प्रतिकुल हावापानीका बाबजुद पनि कार्यक्रम राम्रो संग सम्पन्न भयो ।
कार्यक्रममा धेरै बक्ताहरु थिएनन । प्रमुख अतिथि अर्भिंग सिटीका मेयर रिक् स्टफ़रले डालस लायन्स क्लबले गरेका कामहरुको प्रशंसा गर्दै यसको क्षेत्र बिस्तार गर्न सुझाव दिएका थिए । त्यस्तै प्राध्यापक प्रभात दिक्षितले लायन्स क्लबले अब जिल्ला स्तरिय पदयात्राको लागि बहस शुरु गर्ने जनाएका थिए । कार्यक्रममा नेपाली समाज टेक्सासका अध्यक्ष सुमन थापाले क्लबको काममा आफुले संस्थागत र व्यक्तिगत तर्फबाट आबस्यक सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए । ब्लड डोनर्स एसोसियसनका अध्यक्ष नन्द रेग्मीले संस्थाको उद्देश्य माथि प्रकास पार्दै लायन्सले गर्ने हरेक काममा आफु र संस्थाको सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
पदयात्रा कार्यक्रमको समापन गर्दै क्लबका अध्यक्ष बिएन पन्तले उपस्थित सबैलाई धन्यवाद दिएका थिए । बोलि र काममा समेत उर्जावान पन्तका अभिव्यक्तिहरु प्रेरक हुन्छन । सोहि अनुसार उनले उपस्थित धेरै गन्य मान्यहरुको नाम लिंदै बिस्तारमा उनीहरुको योगदानको कदर स्वरुप धन्यवाद दिए । पछाडी बसेका एक जना व्यक्तिले “बिएन जी अत्यन्त मिठो बोल्नु हुन्छ तर कहिले काहीं अलि लामो बोल्दा नमिठो हुन्छ कि भन्ने डर लाग्छ” भन्दै थिए । उनको कुरा एक तरिकाले ठिकै लागे पनि बिएन जीको ओजपूर्ण भाषण सबैले धैर्यतापुर्बक सुनिरहेका थिए ।
कार्यक्रमको अन्तिम कोशेली मंजिला आचार्यको नृत्य र नारायण त्रिपाठीको हाँस्यव्यंग्य थियो । मंजिलाले नेपाली गीतमा उत्कृस्ट नृत्य गरिन भने प्रेम चरोको नामले परिचित नारायण त्रिपाठीले केहि जोक्स भनेर सबैलाई हँसाए । कार्यक्रममा लायन्सको युवा संगठन लियो क्लबका युवाहरु सक्रियातापुर्बक सहभागिता जनाउंदै कार्यक्रम सफल पार्न बिभिन्न काममा खटिएका थिए ।