डालस एभरेस्ट लायन्स क्लबले अप्रिल ८ मा पदयात्रा गर्दै
लेखनाथ गौतम, डालस टेक्सास । अमेरिकाको टेक्सास जति नेपालीहरुको जमघटको केन्द्र बन्दै छ, यहाँ संघ संस्थाहरुको संख्या पनि बढ्दै गएको छ । संघ संस्थाहरुको संख्या बढे संगै तिनका गतिबिधिहरु पनि बढ्दै गएका छन् । केहि संस्थाहरुको उद्देश्य अमेरिकामै रहेका नेपालीहरुको सहयोग गर्ने रहेको छ भने अधिकांश संस्थाहरु आफ्नो मातृभूमिको लागि केहि गर्ने उद्देश्य अनुरुप स्थापना गरिएका छन् । ती संस्थाहरु मध्ये थोरै पुराना संस्थाहरुमा डालस एभरेस्ट लायन्स क्लब पनि एक हो ।
२००३ मा स्थापित डालस एभरेस्ट लायन्स क्लबले नेपालमा बिभिन्न काममा सहयोग गर्दै आएको छ । सोही अनुरुप आगामी अप्रिल ८ शनिबारको दिन एक पैदल यात्रा कार्यक्रम आयोजना गरेको छ । किड्नी वाक २०१८ नाम राखिएको उक्त पदयात्रा कार्यक्रमको मुख्य उद्देस्य केहि रकम संकलन गर्नु र उक्त रकम नेपालमा मृगौलाबाट पिडितहरुको परिक्षण केन्द्र स्थापनामा सघाउन को लागि प्रयोग गरिनेछ ।
लायन्सहरुको मुख्य नारा “वि सर्भ” अर्थात् “हामी सेवा गर्छौं” भन्ने हो । यो संस्थामा दिनको लागि प्रवेश गरिन्छ । सोही उद्देश्य अनुरुप नै डालस एभरेस्ट लायन्स क्लब पनि सक्रिय छ । नेपालीहरुले गर्ने कार्यक्रमहरुमा रचानान्त्मक कार्यक्रम गर्ने संस्थाहरुमा यो क्लब अग्रपंक्तिमा पर्छ । यसपाली पनि नेपाल र नेपालीकै भलोको लागि केहि गरौँ भन्ने उद्देस्यका साथ् यो कार्यक्रम गर्न लागिएको छ ।
पदयात्राको प्रमुख अतिथि अर्भिंग सिटिका मेयर रिक् स्टफ़र छन् भने पदयात्राको अग्रपंक्तिमा लायन्स क्लब टुएक्स-वान का गभर्नर हेनरी ह्वाइटले गर्नेछन । कार्यक्रमको संयोजन लायन थलराज पन्तले गर्नेछन । त्यस्तै सो अबसरमा बिभिन्न सांस्कृतिक प्रस्तुतिहरु रहनेछन भने रमाइला खेलहरुको समेत आयोजना गरिएको छ । प्रबेश शुल्क $१० रहेको उक्त पदयात्रा आफ्नो मातृभूमि नेपालको सेवामा एउटा सानो योगदान हुने जनाउंदै त्यसमा भाग लिन हार्दिक अनुरोध गरिएको छ । ३३३ आइ-६३५ अर्भिंग टेक्सासको रिचर्ड्सन पार्कमा उक्त कार्यक्रम सम्पन्न हुनेछ ।
पदयात्रा संयोजन थलराज पन्तका अनुसार यसपटकको पदयात्रामा एक दर्जन नेपाली डाक्टरहरुको सहभागिता रहने छ । अमेरिकाका बिभिन्न अस्पतालहरुमा कार्यरत ती नेपाली डाक्टरहरु एकै ठाउँमा आउनु नेपाली समाजको लागि उपलब्धिको कुरा हो । नेपाली संगै करिव आधा दर्जन अन्य देशका डाक्टरहरुको समेत पदयात्रामा उपस्थिति रहने छ । यसले भविस्यमा अमेरिकाको नेपाली समाजमा समेत स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु ल्याउन सहयोग मिल्ने देखिन्छ ।
पन्तका अनुसार डायलासिस केन्द्रको स्थापनाको लागि नेपालमा लामो समय देखि सक्रिय आरोग्य फाउन्डेसनसंग सहकार्य गरिनेछ । नेपालमा ठुलो जनसंख्या यो सेवाबाट बन्चित रहेको अहिलेको अबस्थामा डालस एभरेस्ट लायन्स क्लबले भबिस्यमा अमेरिकाका अरु संघ संस्थाहरुसंग मिलेर हरेक प्रदेशमा केन्द्र स्थापना गर्ने उद्देश्य समेत रहेको छ । स्मरण रहोस डालस एभरेस्ट लायन्स क्लबका अध्यक्ष बिएन पन्त हुनुहुन्छ ।
नेपालमा मृगौला रोगीहरुको संख्या बढ्दै छ । मधुमेह रोगको कारण मृगौलामा समस्या आउने हुनाले समयमै मधुमेह र मृगौला रोगको पहिचान गर्न सकिएमा पिडितको ज्यान बचाउन सकिन्छ । उक्त कामको लागि परिक्षण केन्द्रको आबस्यकता महशुस गरी सो कार्यमा सक्दो सहयोग गर्न यो पदयात्रा आयोजना गरिएको छ । हाम्रो दस डलरले ठुलै परिणाम त ल्याउन नसक्ला, तर केहि मान्छेहरुको रोगको समयमै पहिचान भयो भने पनि पक्कै हाम्रो योगदान खेर नजाने हुनाले सपरिवार यस कार्यक्रममा उपस्थित हुन हामी सबैमा सादर अनुरोध गर्दछौं ।