नामिबियासँग हुने खेलबारे यसाे भन्छन् नामिबियामै डेब्यू गरेका सुवास खकुरेल
सन् २०१५ मा अन्तराष्ट्रिय क्रिकेट परिषद्(आइसीसी)ले नामिबियाको विन्डहकमा अवस्थित विन्डहक अफ्रिकन्स प्राइमरी स्कुलको मैदान(एफीज पार्क)मा पहिलोचोटी अन्तराष्ट्रिय लिस्ट ए का खेलहरु आयोजना गर्दै थियो।
आइसीसी विश्व क्रिकेट लिग डिभिजन दुई–२०१५ अन्तर्गतका खेलहरु तिनै लिस्ट ए का खेलहरु थिए। आइसीसीले सार्वजनिक गरेको कार्यतालिकामा उक्त विरानो मैदानमा नेपालले तीन खेल खेल्नुपर्ने थियो।
नेपालले आफूसँगै डिभिजन तीनबाट उक्लिएको युगान्डासँगै केन्याविरुद्ध बाँकी दुई खेल एफीज पार्कमा खेलेको थियो। पहिलो पटक एफीज पार्कमा उत्रिएको नेपालको सम्झना भने बिर्सन लायक रह्यो। अर्थात् तीनै खेलमा नेपाल पराजित भयो।
लिस्ट ए क्रिकेटमा पहिलोपल्ट डेब्यू गरेका सुवास खकुरेल, नरेश बुढाऐर र करण केसीलाई एफीज पार्कमा युगान्डाविरुद्धको खेल नमिठो हार बन्यो। नेपाल मात्रै २ रनको झिनो अन्तरले पराजित भएको थियो। युगान्डाले बनाएको १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १ सय ४४ रनमा समेटिएको थियो।
सोही मैदानमा लिगचरणमा केन्यासँग ५ विकेटले पराजित भएसँगै नेपालले त्यसबेला डिभिजन एकमा उक्लने मौका गुमाएको थियो। त्यससँगै आइसीसीका विकास कार्यक्रम अन्तर्गत पाउने सहयोग तथा कन्टिनेन्टनल कप खेल्ने मौका पनि नेपालले गुमाएको थियो।
एफीज पार्कमा नेपालको नमिठो सम्झना त्यतिमै सीमित रहेन्। तेस्रो स्थानका लागि डिभिजन दुईमा पुनः नेपालले केन्याको सामना गर्नुपर्ने भयो। २ सय ८ रनको लक्ष्य पछ्याएको नेपाल ४७औं ओभरमा १ सय ९३ रनमा पराजित भएसँगै १५ रनको अर्को हार व्यहोर्न पुग्यो।
एकपटक फेरि नामिबियाले बिहीबारबाट डिभिजन दुईको आयोजना गर्दैछ। नेपाल पुनः एफीज पार्कमा फर्किएको छ। यसपटक नेपालले उद्घाटन खेलमा नामिबिया र लगत्तै अर्को दिन एफीज पार्कमा ओमानको सामना गर्दैछ। शीर्ष दुईमा रहन सुरुवाती खेलका नतिजा आफ्नो पक्षमा पार्ने योजना बनाएको नेपालले क्षमतासँगै त्यहाँको कन्डिसन अनुसार खेल्नुपर्ने हुन्छ।
एफीज पार्कमै लिस्ट ए क्रिकेटमा डेब्यू गरेका राष्ट्रिय खेलाडी सुवास खकुरेल नामिबियाको सम्झना सुनाउँदै नेपाली ब्याट्सम्यानहरुले ब्याकफुटमा रहेर खेल्नुपर्ने सुझाउँछन्। ‘नामिबियामा विश्वास योग्य पिच हुँदैन, विकेट पनि लो हुन्छ,’ डिभिजन दुईमा नेपालका लागि सर्वाधिक रन बनाउने पाँचौ खेलाडी समेत रहेका उनले भने, ‘त्यसहिसाबले ब्याट्सम्यानहरुले ब्याकफुटमा रहँदै खेल्नुपर्ने हुन्छ। अगाडि बढेर विभिन्न प्रयासहरु गर्दा छिटै विकेट गुमाउने खतरा रहन्छ।’
त्यहाँका तीन मध्ये एफीजको पीच ब्याट्सम्यानका लागि तुलनात्मक रुपमा राम्रो रहेको तथा मैदानको बाउन्ड्री समेत सानो रहेकाले रन बन्न सहयोग पुग्ने उनले बताए। नेपालले एफीजसँगै वन्डर्रर क्रिकेट ग्राउन्डमा क्यानडा र केन्यासँग तथा युनाइटेड क्रिकेट ग्राउन्डमा यूएईको सामना गर्नेछ।
तीनवटै मैदानको कन्डिसन फरक फरक रहेको सुवासको अनुभव छ। ‘कुनै मैदानमा एक्स्ट्रा बाउन्स हुन्छ भने कुनै मैदानमा फ्ल्याट पिच छ,’ उनी भन्छन्, ‘वान्डर्रर मैदानमा बलमा स्विङ तथा टर्न पनि हुन्छ भने युनाइटेड मैदान स्लो र लो पिच भएकाले ब्याट्सम्यानलाई चुनौती हुनेछ।’
विभिन्न मैदानमा नेपालको खेल तालिकाः
माघ २५ गतेः नेपाल भर्सेस नामिबिया – एफीज मैदान
माघ २६ गतेः नेपाल भर्सेस ओमान – एफीज मैदान
माघ २८ गतेः नेपाल भर्सेस यूएई – ट्रस्टको युनाइटेड मैदान
माघ २९ गतेः नेपाल भर्सेस केन्या – वान्डरर्स मैदान
फागुन २ गतेः नेपाल भर्सेस क्यानडा – वान्डरर्स मैदान
(श्रोत : nepalkhabar )