भाउ बढेपछि घर बनाउनै सकस
दोलखा, २२ माघ- भूकम्प गएको अढाई वर्षपछि बल्ल बाबेडाँडाका विस्थापितले घर बनाउन सुरु गरेका छन् । तर, यही बेला निर्माण सामग्रीको भाउ चुलिएपछि उनीहरूलाई ‘पहिलो गाँसमै ढुंगा’ लागेजस्तो भएको छ । आवास निर्माण गर्न सरकारले दिने भुक्तानीको प्रक्रियागत झन्झट पार गरेका उनीहरूसामु भाउ वृद्धिको अर्को वज्रपात थपिएको हो, कान्तिपुरमा खबर छ ।
गौरीशंकर गाउँपालिकास्थित बाबेका २२ मध्ये आधाभन्दा बढी घर महँगी र श्रम अभावले निर्माण हुन सकेका छैनन् । स्थानीय धनबहादुर तामाङका अनुसार सिमेन्ट र रडको भाउ बढेपछि अलमल बढेको छ । सरकारले दिने रकम नै गुम्छ भन्ने दबाब आएपछि बल्ल घर बनाउन सुरु गरेका थिए, स्थानीयले । बस्तीमा काम गर्ने श्रमिकको अभाव छ । दक्ष जनशक्तिको ज्याला नै दैनिक १ हजार ५ सय पर्न थालेपछि बस्तीमा घर निर्माण अभियान नै सुस्ताएको छ ।
भूकम्पले दोलखाका ६३ हजार घरमा क्षति पुगेको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान रकम दिने म्याद नथप्ने जनाएपछि अहिले जताततै निजी आवास निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । तर यही बेला कालो बजारीे, भाउवृद्धि र जनशक्ति अभावले समस्या भएको स्थानीयले बताए । सिमेन्ट र रडको भाउ बढेपछि कतिपयले माटो र काठ प्रयोग गरेर भूकम्पप्रतिरोधी घर बनाउन थालेका छन् ।
भूकम्पीय आवास पुनर्निर्माण आयोजना कार्यान्वयन एकाइले हालसम्म जिल्लामा १५ हजार घर निर्माण सम्पन्न भएको जनाएको छ । ५५ हजारले घर बनाउने अनुदान सम्झौता गरेका छन् । घरको जग हालेर दोस्रो किस्ता प्राप्त गर्ने २२ हजार भए पनि अहिले करिब ३० हजारले घर बनाउन थालेको अनुमान छ । घर बनाउने बढेपछि व्यापारीले पनि मौका छोपेर निर्माण सामग्रीको भाउ बढाएको गुनासो स्थानीय जनप्रतिनिधिको छ ।