यी हुन् डीपिएल खेल्ने टोलि र रणनीतिक खेलाडी
चैत्र १७ गते देखि धनगढीमा आयोजना हुने दोस्रो सिजनको धनगढी प्रिमियर लिगको टोलि तथा टिमका रणनीतिक खेलाडीहरुको घोषणा भएको छ। आज राजधानीको अन्नपूर्ण होटलमा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले सहभागी टोलि, रणनीतिक खेलाडीहरु र मालिकको नाम सार्वजनिक गरेका हुन् ।
दोस्रो सिजनको धनगढी प्रिमियर लिगमा पनि ६ टोलिको सहभागिता हुने भएको छ। पहिलो सिजन खेलेको कन्चंपुर आईकनिक बाहेक अन्य टोलि भने दोस्रो सिजनमा यथावात रहेका छन्। कन्चनपुरलाई भने महेन्द्रनगर युनाईटेडले प्रतिस्थापन गरेको छ।
यो पटक पछिल्लो सिजनसंग टिमहरुको सम्झौता सकिएका कारण टिमहरुले पहिले टिममा रहेका भन्दा फरक खेलाडीहरु चुनेका छन्।
गत सिजन बिराटनगर किंग्सको कप्तान रहेका शरद भेसावकर यो पटक व्यक्तिगत कारणले खेल्ने छैनन्। पछिल्लो सिजन धनगढी टिम चौराहाको कप्तानी गरेका पारस खड्का किंग्सको रणनीति खेलाडी हुनेछन्। पारसको कप्तानीमा पहिलो सिजनको उपाधि हात पारेको टिम चौराहा धनगढीकोणनीतिक खेलाडी भने यसपटक सोमपाल कामि हुनेछन्।
रास्ट्रीय टोलिका उप-कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा पहिलो सिजन खेलेको सि वाई सि अत्तरियाले यो पटक दीपेन्द्र सिंह ऐरीलाई रणनीतिक खेलाडीको रुपमा चुनेको छ। यस्तै पहिलो सिजनमा कन्चनपुर आईकनिक्सका कप्तान रहेका बिनोद भण्डारी यसपटक नवप्रवेशी टोलि महेन्द्रनगर युनाईटेडको रणनीतिक खेलाडी चुनिएका छन् । रुपन्देही च्यालेन्जर्सको कप्तानी गरेका शक्ति गौचन भने यस सिजनमा पनि रुपन्देहीमानै रहेका छन्।
टिमको रणनीतिक खेलाडीले टिमको सहयोगीको भूमिका निर्वाह गर्नेछन् भने टिमको सहमतिमा कप्तान पनि रहन सक्ने बताईएको छ। एभरेस्ट प्रिमियर लिगमा मार्की प्लेयरले गरेको कामनै डीपीएलको रणनीतिक खेलाडीले गर्नेछन्।
प्रतियोगिताको बिजेताले २५ लाख रुपैयाँ पाउनेछ जुन नेपाली घरेलु क्रिकेटकै सर्बाधिक पुरस्कार राशी हो। यस्तै उपविजेताले रु. १० लाख, तेश्रो हुने टिमले रु. ३ लाख तथा चौथो हुने टिमले रु. २ लाख पुरस्कार पाउनेछ। यस्तै उत्कृष्ट हुने खेलाडीले टिभीएस अपाचे १८० सिसिको मोटरसाइकल पाउनेछ भने प्रत्येक खेलको म्यान अफ द म्याचले रु. १० हजार पाउनेछ। आयोजकले प्रतियोगिताको पुरस्कारको लागि मात्रै ५० लाख रुपैयाँ कम्तिमा खर्च हुने बताएको छ। प्रतियोगिताको अनुमानित लागत ३ करोड रुपैयाँ रहेको छ।
(श्रोत : WicketNepal )