प्रचण्ड र ओलीबीच नेतृत्वबारे सहमति हुनै बाँकी

२५ पुस, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रवीचको पार्टी एकता प्रक्रिया अझै केही समय लम्बिने संकेत देखिएको छ । सोमबार दुबै दलका बेग्लाबेग्लै बैठक बसे पनि नेतृत्वको विषय नटुंगिएकाले पार्टी एकताबारे ठोस कार्ययोजना बनाउन सकेनन् ।

आइतबार दुई पार्टीका अध्यक्षबीच सरकार र पार्टीको नेतृत्वबारे कुराकानी भएको तर, ठोस अवधारणा बन्न बाँकी नै रहेको एमाले र माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।

सोमबार दुई अध्यक्षको भेटले पार्टी एकतामा ‘ब्रेक थ्रु’ गरेको बताइए पनि नेतृत्वको भागवण्डाबारे छिनोफानो हुन अझै बाँकी नै रहेको माओवादी नेताहरुको प्रतिक्रिया छ ।

एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार साँझ झण्डै एक घण्टा कुराकानी भएको थियो । दुई नेताबीच भएको समझदारी अनुसार भोलि मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्नेछ ।

एकता संयोजन समितिको बैठक बस्नुपूर्व सोमबार दुबै दलले आन्तरिक छलफल गरेका छन् । माओवादी अध्यक्ष प्रचण्डले नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादलसहितका नेताहरुसँग छलफल गरेका छन् ।

एमालेको स्थायी कमिटी बैठक बसेको छ र पार्टी एकता प्रक्रियामा छिटो टुंगोमा पुर्‍याउने निर्णय गरेको छ ।

पार्टी एकताबारे भोलि थप छलफल हुने दुबै दलका नेताहरुले बताएका छन् । भोलि दिउँसो पार्टी एकता संयोजन समितिको बैठक बोलाइएको छ ।

‘उहाँहरुबीच नेतृत्वबारे कुरा भएको बुझिन्छ । तर, कुरा छिनेर भएको छैन’ माओवादीका एक नेताले अनलाइनखबरसँग भने, ‘एकता संयोजन समितिको बैठकमा पनि लिडरहरुको धारणा आउँछ । मिल्दै गयो भने कार्यदल बन्छ, मिलेन भने केही समय लाग्छ ।’

नेताहरुका अनुसार भोलिको बैठकमा अन्तरिम कालका लागि पार्टीको बैचारिक राजनीतिक लाइन, नेतृत्व तथा संगठनको एकीकरण र मतभेद भएका विषय तथा सामूहिक रुपमा बहस गर्नुपर्ने विषय गरी तीन एजेण्डामा छलफल हुनेछ ।

एकता वार्तामा सहभागी नेताहरुले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने भद्र सहमति भएको दाबी गरेका छन् ।

तर, ईश्वर पोखरेलसहितका एमालेका केही नेताहरुले भने प्रधानमन्त्री र अध्यक्ष दुबै केपी ओली नै हुनुपर्ने मत अघि सारेका छन् । त्यसको काउन्टरमा माओवादीका केही नेताले प्रचण्डलाई अध्यक्ष नबनाए पार्टी एकता नै नहुने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

तर, दुई नेताबीच भने आइतबारको भेटमा यसबारे ठोस कुरा नै नभएको बुझिएको छ । भेटमा प्रचण्डले ओलीको स्वास्थ्य अवस्थाबारे चासो देखाएका थिए ।

पार्टी एकता अगाडि बढाउने समझदारी भएको छ । तर, डिटेलमा कुराकानी भएको छैन’ एक नेताले भने ।

भोलि नै कार्यदल नबन्न पनि सक्छ

नेताहरुका अनुसार भोलिको पार्टी एकता संयोजन समितिको बैठकमा बैचारिक र राजनीतिक कुरा पनि हुन्छ, संगठन र नेतृत्वको कुरा पनि हुन्छ ।

त्यहाँ सकारात्मक कुराकानी भयो भने विचार राजनीतिबारे एउटा राजनीतिक समिति र नेतत्व एवं संगठनको कुरा मिलाउन संगठनात्मक कमिटी बन सक्छ’ प्रचण्डनिकट एक नेताले भने, ‘तर, मोटामोटी संयोजन समितिमै टुंगिन्छ, टुंगिनुपर्छ ।’

उनका अनुसार (सरकार र पार्टीको) नेतृत्व र विचारबारे नेतृत्व तहमा मोटामोटी समझदारी भए लिपिवद्ध गर्न कार्यदल बनाउने हो, अन्यथा छलफल लम्बिनेछ र भोलि नै कार्यदल नबन्न पनि सक्छ ।

केपी ओली पर्सि (बुधबार) नियमित स्वास्थ्य परीक्षणका लागि बैंकक जाने भएकाले भोलि नै एकता संयोजन समितिको बैठक ठोस निर्णयमा पुगेन भने एकता प्रक्रिया ओली विदेशबाट फर्केपछि मात्रै अघि बढ्ने नेताहरुले बताएका छन् ।(श्रोत : onlinekhabar )

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907