यस्ता छन् काठमाडौंका १० निर्वाचन क्षेत्रका उम्मेदवारहरु, को-को कुन कुन ठाउँ बाट उठ्दै?

मंसिर १० गते ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा पहिलो चरणको चुनाव भएपछि २१ गते बाँकी जिल्लामा चुनाव हुँदैछ। काठमाडौंमा पनि सोही दिन चुनाव हुनेछ। देशको राजधानी शहर समेत रहेको यो जिल्लामा उठ्ने नेताहरुको विशेष चर्चा हुनु स्वभाविक हो। उनीहरुप्रतिको चासो पनि स्वभाविक नै हो।

उम्मेदवारी निश्चित भएका र सम्भावना भएका नेताहरुको सूची तयार पारेको छ। यसैक्रममा उनीहरु यसअघि कहाँबाट चुनाव लडेका थिए वा थिएनन्, कस्तो नतिजा ल्याएका थिए, उनीहरुको पार्टीभित्र र बाहिरको आवद्धता के थियो भन्ने केलाएका छौं।

काठमाडौंमा विशेषगरी वामपन्थी गठबन्धनका तर्फबाट एमाले माओवादीका साझा उम्मेदवार, नेपाली कांग्रेसका उम्मेदवार र वैकल्पिक राजनीतिको अभियान चलाइरहेका विवेकशील साझाका उम्मेदवारहरु प्रतिस्पर्धा गर्दैछन्।

काठमाडौं १

एमाले/माओवादी– शम्भु थापा
वरिष्ठ अधिवक्ता थापा एमालेबाट यस क्षेत्रको चुनावी उम्मेदवार हुने चर्चा चलेको छ। एमाले निकट उनी कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसियसनका पूर्वअध्यक्ष हुन् । २०६२/०६३ सालको जनआन्दोलनमा नेतृत्वदायी भूमिकाका कारण उनी चर्चामा आएका थिए । अन्तरिम संविधानको मस्यौदाकार समेत रहेका थापा पहिलो संविधानसभाको चुनावमा उदयपुरबाट चुनावी प्रतिस्पर्धा गरेर पराजित भएका थिए

कांग्रेस– प्रकाशमान सिंह
संविधानसभाको दुवै चुनावमा सिंह यही क्षेत्रबाट विजयी भएका थिए। २०६४ सालको चुनावमा नेकपा एमालेका उम्मेदवार प्रदीप नेपाललाई ७ हजार ५ सयभन्दा बढी मतान्तरले पछि पारेका थिए। त्यस्तै, ०७० सालको चुनावमा उनले तत्कालीन एकीकृत नेकपा माओवादीकी उम्मेदवार रेणु दाहाललाई ११ हजारभन्दा बढी मतले पराजित गरेका थिए। सिंह नेपाली काग्रेंसका लौह पुरुष गणेशमान सिंहका छोरा समेत हुन्।

विवेकशील साझा– रवीन्द्र मिश्र
राजनीतिमा होमिनका लागि बिबिसीबाट राजिनामा दिएका रवीन्द्र मिश्र नयाँ पात्र हुन्। बिबिसी नेपाली सेवाको सम्पादकको जिम्मेवारी सम्हालेका मिश्र हेल्प नेपालमार्फत परोपकारी काम गर्दै आएका थिए। चुनावी उम्मेदवारको रुपमा उभिएका उनलाई दुई कारणले सहानुभूति राख्नेहरु छन्। पहिलो, सुरक्षित करियर त्यागेर राजनीतिमा होमिने साहस। र दोस्रो, स्वच्छ छबि।

काठमाडौं २

एमाले/माओवादी– माधव नेपाल
२०६४ सालमा सम्पन्न पहिलो संविधानसभाको चुनावमा माधव नेपाल दुई ठाउँ (रौतहट ६ र काठमाडौं २) बाट माओवादी उम्मेदवारसँग पराजित भएका थिए। तर, दोस्रो संविधानसभाको चुनावमा भने उनी दुवै ठाउँ (काठमाडौं २ र रौतहट १) बाट विजयी भए। पछिल्लो पटक उनले काठमाडौं २ त्यागेर रौतहट १ को प्रतिनिधित्व गरेका थिए। लामो समय पार्टीको नेतृत्व गरेका उनी २०६६ सालमा प्रधानमन्त्री समेत भएका थिए। पूर्वप्रधानमन्त्री रहेका व्यक्तिले चुनाव लड्ने भएपछि यो क्षेत्र चर्चित बनेको छ।

कांग्रेस– दीपक कुँइकेल
कुँइकेल अघिल्लो संविधानसभाको उपनिर्वाचनमा विजयी हुदै सभासद भएका थिए। माधव कुमार नेपालले यो क्षेत्र छाडेपछि भएको उपनिर्वाचनमा कुइँकेलले पहिलो पटक सो क्षेत्रमा कांग्रेसको विजय सम्भव तुल्याएका थिए। त्यसअघि सो क्षेत्रबाट कांग्रेस विजयी भएको थिएन। उनले नेकपा एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठलाई झण्डै ५ हजार मतान्तरले पछि पार्दै जित दर्ज गरेका थिए। नेपाली कांग्रेस निकट प्राध्यापक संघवाट केन्द्रिय राजनीतिमा आएका कुइँकेल पुन यही क्षेत्रवाट निर्वाचनमा उठ्दै छन्।

विवेकशील साझा– सूर्यराज आचार्य
आचार्य पुर्वधार विज्ञ हुन्। उनी पुल्चोक इन्जिनियरिङ क्याम्पसका आमन्त्रित प्राध्यापक हुन्। केही समय पहिले मात्र वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीका सहयात्री बनेका थिए। विवेकशील दलसँगको एकीकरणपश्चात उनी विवेकशील साझाका उम्मेदवार बनेका हुन्।

काठमाडौं ३

एमाले/माओवादी– कृष्ण राई
राई एमाले काठमाडौंका अध्यक्ष हुन् । जोरपाटीका स्थानीयवासी राई लामो समयदेखि काठमाडौंमा एमालेको संगठन गरेर बसेका छन्। अघिल्लो संविधान सभामा उठ्ने चाहाना देखाएता पनि उनले टिकट पाएका थिएनन्। यसअघि यसै क्षेत्रबाट विजयी एमालेका उम्मेदवार रामेश्वर फुयाँलको सट्टामा राईले पालो पाएका हुन्। यसअघि एमाले विजयी भएको क्षेत्र भएकाले विजयको साख बचाउने चुनौती राईको काँधमा छ।

कांग्रेस– अम्बिका बस्नेत
बस्नेत बहालवाला सहकारी तथा गरिबी निवारण मन्त्री हुन्। यसअघि दुवै संविधानसभाका लागि कांग्रेसको समानुपातिक सूचीबाट सभासद बनेकी उनी यसपटक प्रत्यक्ष तर्फको उम्मेदवार बन्न लागेकी हुन्। लामो समय नेपाली काग्रेंसको महिला संगठनमा रहेर काम गरेकी बस्नेत बौद्ध निवासी हुन् । उनी नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघकी पूर्वअध्यक्षसमेत हुन्।

विवेकशील साझा–
काठमाडौं ३ मा यो नयाँ पार्टीबाट हालसम्म उम्मेदवारको टुंगो लागिसकेको छैन।

काठमाडौं ४

एमाले/माओवादी– राजन भट्टराई
भट्टराई अघिल्लो संविधान सभामा समानुपातिक कोटाबाट सांसद भएका थिए। कपन निवासी भट्टराई परराष्ट्र मामिलाका विज्ञ हुन्। माधव नेपाल प्रधानमन्त्री भएका बेला उनका परराष्ट्र सल्लाहकार रहेका भट्टराई यस पटक काठमाडौं ४ बाट प्रत्यक्ष चुनाव लड्दैछन्। उनी नेपाल भारत प्रबुद्ध समूहका सदस्य समेत हुन्।

कांग्रेस– गगन थापा
गगन थापा पहिलो संविधानसभामा समानुपातिक र दोस्रो संविधानसभामा यही क्षेत्रबाट निर्वाचित भएका थिए। उनले त्यतिबेला २२ हजार ३ सय ३६ मत ल्याएका थिए। सोही क्षेत्रबाट चुनाव लडेका वर्तमान उपराष्ट्रपछि नन्दबहादुर पुन तेस्रा भएका थिए। ज्ञानेन्द्र शाहले प्रत्यक्ष शासन सुरु गरेपछि आक्रमक भाषण गरेर चर्चामा आएका थापाले निकै प्रशंसक बनाएका छन्। कांग्रेसभित्र गणतन्त्रको अभियान चलाएका थापा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको दोस्रो सरकारमा स्वास्थ्य मन्त्री समेत भएका थिए। अन्य पार्टीका कार्यकर्तामाझ पनि लोकप्रिय छबि बनाएका थापाले आफ्नो लोकप्रियतालाई घट्न दिएका छैनन्।

विवेकशील साझा– सुबुना बस्नेत
विवेकशील पार्टीमार्फत ४ वर्षअघि राजनीतिमा होमिएकी बस्नेत गोबिन्द केसीले चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै थालेको अभियानमा सक्रिय सहभागीता जनाएकी थिइन्। उनी विवेकशील साझा पार्टीको केन्द्रीय सदस्यसमेत हुन्।

काठमाडौं ५

एमाले/माओवादी– ईश्वर पोखरेल
नेकपा एमालेका महासचिव पोखरेल पहिलो र दोस्रो संविधानसभाको चुनावमा दुवै पटक यसै क्षेत्रबाट पराजित भएका थिए। उनी दुवैपटक नेपाली कांग्रेसका उम्मेदवार नरहरि आचार्यसँग पराजित भएका थिए। पहिलो पटक ४ हजार १ सय २५ र दोस्रो पटक ६ सय ४० मतान्तरले पछि परेका थिए। २०६१ सालमा गठन भएको शेरबहादुर देउवा नेतृत्वको सरकारमा पोखरेल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका थिए। त्यतिबेला नेकपा एमाले ‘प्रतिगमन आधा सच्चिएको’ भन्दै देउवा नेतृत्वको सरकारमा सहभागी भएको थियो। त्यसपछि उनी बाबुराम भट्टराई नेतृत्वको सरकारमा १३ दिने उपप्रधानमन्त्रीसमेत बनेका थिए।

कांग्रेस– प्रकाशशरण महत
महत पहिलो र दोस्रो संविधानसभामा समानुपातिक तर्फबाट सभासद भएका थिए। हालसम्म उनले संसदीय चुनाव लडेका छैनन्। उनी पनि २०६१ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारमा राज्यमन्त्री बनेका थिए। त्यस्तै, २०६६ सालमा गठन भएको माधव नेपाल नेतृत्वको सरकारमा उर्जा मन्त्री बनेका थिए। पछिल्लो पटक २०७३ सालमा प्रचण्ड नेतृत्वको सरकारमा उनी परराष्ट्र मन्त्री बनेका थिए। महत राष्ट्रिय योजना आयोगका सदस्य समेत भएका थिए। देउवा नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन भएपछि उनी सो पार्टीका केन्द्रीय सदस्य समेत बनेका थिए। पछिल्ला दुई चुनावमा कांग्रेस उम्मेदवार विजयी भएको यस क्षेत्रमा उनलाई साख जोगाउनुपर्ने बाध्यता छ।

विवेकशील साझा– उज्ज्वल थापा
विवेकशील नेपाली दलको नेतृत्व गरेर नेपाली राजनीतिमा होमिएका थापा दोस्रो संविधानसभाको चुनावमा कुकुर चुनाव चिह्न लिएर स्वतन्त्र उम्मेदवारको हैसियतमा चुनाव लडेका थिए। काठमाडौं ५ को उम्मेदवार बनेका उनी पराजित भएका थिए। हाल उनी नेतृत्वको पार्टी साझा पार्टीसँग एकता गरी विवेकशील साझा पार्टी बनेको छ।

काठमाडौं ६
एमाले/माओवादी– हितमान शाक्य
पहिलो संविधान सभामा माओवादीका तर्फवाट यही निर्वाचन क्षेत्रमा शाक्य विजयी भएका थिए। अघिल्लो वर्ष माओवादीले ३ हजार ९ सय ९९ केन्द्रिय घोषणा गरेको समयमा उनी प्रदेश ३ का इन्चार्ज चयन भएका थिए। मोहन वैद्यले पार्टी फुटाएपछि उनी वैद्यतिरै गए। पछि, बादल समूहसँगै मूल पार्टीमा फर्किएका हुन्।

कांग्रेस–
यहाँबाट कांग्रेस उम्मेदवारको टुङ्गो लागिसकेको छैन। तर, भीमसेनदास प्रधान उम्मेदवार बन्ने सम्भावना छ। कारण, उनी यसअघि यही क्षेत्रबाट विजयी भएका थिए। उनले नेकपा एमालेका उम्मेदवार योगेश भट्टराईलाई उछिन्दै विजयी भएका थिए। उनी यस क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवारको लागि सिफारिस भएका छन्। उनीसँगै सवुजकृष्ण बानियाँ पनि सिफारिसमा परेका छन्।

विवेकशील साझा–
विवेकशील साझाले पनि यस क्षेत्रका लागि उम्मेदवारको तय गरेको छैन।

काठमाडौं ७

एमाले/माओवादी–
गठबन्धनका यी दुवै दलले यहाँबाट उठाउने नेताको टुङ्गो लगाउन सकेका छैनन्।

कांग्रेस– कांग्रेसले पनि यस क्षेत्रमा उम्मेदवार चयन गरिसकेको छैन।

विवेकशील साझा– अनुपा श्रेष्ठ
सञ्चारकर्मीको रुपमा चिनिएकी श्रेष्ठ पुराना र चर्चित कांग्रेस नेता वीरेन्द्रभक्त श्रेष्ठकी छोरी हुन्। करिब २० वर्षदेखि पत्रकारितामा सक्रिय श्रेष्ठ अन्तर्राष्ट्रिय महिला पत्रकारिता सञ्जालको कार्यसमिति सदस्य समेत हुन्।

काठमाडौं ८

एमाले/माओवादी–
गठबन्धनका यी दुवै दलले यहाँबाट उठाउने नेताको टुङ्गो लगाउन सकेका छैनन्।

कांग्रेस– नवीन्द्रराज जोशी
उद्योगमन्त्री रहिसकेका जोशी सोही क्षेत्रका स्थानीय बासिन्दा हुन्। दुवै संविधानसभाको चुनावमा उनी यही क्षेत्रबाट विजयी भएका थिए। २०६४ सालको निर्वाचनमा उनले एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यलाई ४ हजार १ सयभन्दा बढी मतान्तरले पराजित गरेका थिए। त्यस्तै, दोस्रो संविधानसभाको चुनावमा एमालेकै उम्मेदवार जीवनराम श्रेष्ठलाई ७ हजार मतान्तरले पछि पार्दै विजयी भएका थिए।

विवेकशील साझा– पुकार बम
दोस्रो संविधानसभाको चुनावमा स्वतन्त्र रुपमा चुनाव लडेका विवेकशीलका ४ जना उम्मेदवारमध्ये बम पनि एक थिए। उनी त्यतिबेला पनि काठमाडौं ८ बाटै चुनाव लडेका थिए। उनको चुनाव चिह्न पनि कुकुर नै थियो। उनी विगत ४ वर्षदेखि वैकल्पिक राजनीतिक अभियानमा सक्रिय छन्।

काठमाडौं ९

एमाले/माओवादी–
गठबन्धनका यी दुवै दलले यहाँबाट उठाउने नेताको टुङ्गो लगाउन सकेका छैनन्।

कांग्रेस– ध्यानगोविन्द रञ्जित
रञ्जित दुई वटै संविधानसभाको चुनावमा यही क्षेत्रबाट विजयी भएका थिए। उनले पहिलो संविधानसभाको चुनावमा माओवादीका माइला लामालाई २०९ मतले उछिनेर विजयी भएका थिए। दोस्रो संविधानसभाको चुनावमा भने उनले एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठलाई १ हजार ३ सय ८३ मतले पराजित गरेका थिए।

विवेकशील साझा– मिलन पाण्डे
पाण्डे पनि विगत ४ वर्षदेखि वैकल्पिक राजनीतिक अभियानमा सक्रिय छन्। उनी विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य समेत हुन्। पेशाले इन्जिनियर पाण्डे रञ्जु दर्शना काठमाडौं महानगरको उम्मेदवार बनेका बेला उनलाई जिताउनका लागि चुनावी नेतृत्व गरेका थिए।

काठमाडौं १०

एमाले/माओवादी–
गठबन्धनका यी दुवै दलले यहाँबाट उठाउने नेताको टुङ्गो लगाउन सकेका छैनन्।

कांग्रेस– राजेन्द्रकुमार केसी ‘राजन’
दोस्रो संविधानसभाको चुनावमा माओवादी अध्यक्ष प्रचण्डलाई भारी मतान्तरले तेस्रो बनाउँदै विजयी भएका चर्चित नेता हुन् केसी। पहिलो संविधानसभाको चुनावमा पनि उनी सोही क्षेत्रबाट चुनाव लडेका थिए। तर, प्रचण्डसँगै पराजित भएका थिए। उनी बहालवाला युवा तथा खेलकुद मन्त्री हुन्।

विवेकशील साझा–
विवेकशील साझाले पनि यस क्षेत्रका लागि उम्मेदवारको तय गरेको छैन।
( श्रोत : Nayabato.com)

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907