संगीतकर्मी कल्याणकारी कोषमा थापा, महत र तिमल्सिनाको सहयोग
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा दोलखा घर भइ हाल अष्ट्रेलिया निवासी गीतकार तथा संगीतकार आरसि थापाले १० हजार सहयोग गरेका छन । अन्तराष्ट्रिय नेपाली कलाकार समाज इनासका नव निर्वाचित ग्लोवल उपाध्यक्ष समेत रहेका थापाले कोषमा जोडिन पाउँदा खुसी लागेको बताए । उनले कोष बृद्धिका लागि सक्दो सहयोग गर्न अरुलाई पनि आग्रह गरेका छन ।
त्यसैगरी भक्तपुर घर भै हाल अमेरिका निवासी गीतकार भुपेन्द्र महतले पनि १० हजार सहयोग गरेका छन । गीतकार महतले कोषको उद्धेस्य र संघले गरेको गतिबिधी बाट आफू प्रभावित भएकोले सानो सहयोग गरेको बताए । महतले कोषबृद्धिका लागि आफूले सक्दो पहल गर्ने पनि बताएका छन ।
त्यसैगरी संगीतकार चक्रपाणी तिमल्सिना पनि कोषमा जोडिएका छन । संगीतकार चक्रपाणी तिमल्सिनाले ७ हजार रकम कोषलाई हस्तान्तरण गरेका छन । सहयोग रकम हस्तान्तरण गर्दै संगीतकार तिमल्सिनाले कोष बृद्धि र प्रभावकारी परिचालनको शुभ कामना पनि ब्यक्त गरेका छन ।
संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएकोे कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम निरन्तर रहेको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिएका छन ।
अधिकारीका अनुसार कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधि खोजी गर्दै सहयोग रकमको प्रतिबद्धता ब्यक्त गरेका छन । दाताहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिएका छन । दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ ।
नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई आपत बिपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ ।
अहिले सम्म ६ जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र ४ जना सर्जकको निधनका बेला कोषबाट १ लाख ९४ हजार २ सय ४१रुपैया सहयोग गरिएको संघका कोषाध्यक्ष हरिलम्सालले जानकारी दिएका छन । भदौ महिनाको बिवरण अनुसार कोषमा ८ लाख ८९हजार ७७० रुपैया ८ पैसा बचत रहेको छ ।
कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले केहि समय अघि बिशेष सम्मान गरेको थियो । त्यस्तो सम्मानलाई निरन्तरता दिइने संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिएका छन । कल्याणकारी कोष बृद्धिका लागि तिहारमा देउसी भैलो खेल्ने र केहि समय पछि मेचीकाली यात्रा गरिने पनि संघले जनाएको छ ।