इन्द्रेणी सांस्कृतिक संघद्वारा तीज बिशेष कार्यक्रम सम्पन्न
अगस्त १९, डालस । नेपाली नारीहरुको बिशेष चाड तीज आउन करिब एक हप्ता बाँकी छ । तर यसको चहलपहल शुरु भएको हप्तौं भैसैकेको छ । बिशेष गरी बिदेशमा चाडबाड मनाउन पनि सप्ताहान्त अर्थात् सनिबार वा आइतबार कुर्नु पर्ने हुनाले तीज अझ पहिले देखि शुरु हुन्छ। बिभिन्न संघ संस्थाहरुले आफ्नै आयोजनामा यस्ता चाडबाड आयोजना गर्ने हुनाले पनि यस्तो अवस्था आउने गर्छ। सोहि अनुसार डालस टेक्सासमा लामो समय देखि नेपालको सांस्कृतिक पहिचान जोगाउन बिभिन्न खाले कार्यक्रमहरु गर्दै आएको इन्द्रेणी सांस्कृतिक संघले तीज बिशेष कार्यक्रम आयोजना गर्यो।
डालस नजिकैको सहर अर्भिंगको डिएफडब्लु होटेलमा आयोजित उक्त तीज कार्यक्रम अत्यन्त भव्य र सभ्य रुपमा सम्पन्न भएको छ । नेपाली राष्ट्रिय गानबाट शुरु गरिएको उक्त कार्यक्रममा औपचारिता स्वरुप संस्थाका अध्यक्ष तारा प्रसाद भुसालले एक मिनेट दिदीबहिनीहरुलाई शुभकामना दिनु भएको थियो भने त्यस लगत्तै तीजका गीत र नृत्य शुरु गरिएको थियो। तीजको गीतमा नाच्ने इन्द्रेणी सांस्कृतिक संघका कलाकारहरु थिए भने सुलोचना खनाल, अस्मिता गौतम, मनकला लिम्बु, अविरल पाण्डे आदि थिए। त्यसपछि डिजेले लोकप्रिय गीत बजाएर सामुहिक नृत्य शुरु भएको थियो।