बार्सिलोनामा भएको आतंकबादी हमलामा १३ जनाको मृत्यु
बार्सिलोना, स्पेन, अगस्त १७ । पर्यटकहरुले व्यस्त शहर बार्सिलोनामा आज एक आतंककारी हमला भएको छ । उक्त हमलामा अहिले सम्म १३ जनाको ज्यान गएको छ भने ८० जना भन्दा बढी घाइते भएका छन् । मानिसहरुको भिडमा ट्रकले जोतेर उक्त हमला गरिएको छ । हमला गर्न एउटा र भाग्न एउटा गरी दुइवटा ट्रक प्रयोग गरिएको जनाइएको छ । हत्याको जिम्मेवारी आइसिसले लिंदै सामाजिक संजालमा खुसी व्यक्त गर्दै संदेश प्रबाह गरिएको छ । स्पेनका प्रधानमन्त्री अमानविय आतंकबादी हमला भनेर यसको निन्दा र भर्त्सना गरेका छन् ।
छानबिनको क्रममा स्पेनिस प्रहरीले एक जना हमलाकारीको पहिचान गरेको छ । मोरक्कोका नागरिक ड्रिस अउकबर एक हमलाकारी भएको जनाइएको छ भने उनलाई पक्राउ समेत गरिसकिएको छ । रिपोर्टका अन्सुअर अउकबरले घटनास्थल भन्दा १५ माइल टाढाबाट ट्रक भाडामा लिएको फेला परेको छ । अउकबरको फेसबुक पेज जुन अहिले बन्द गरिएको छ, त्यसका अनुसार उनि फ्रान्समा पनि बसेका थिए र पछि उनि स्पेन आएका थिए । उनीसंग स्पेनको अस्थायी परिचय पत्र थियो जुन आप्रबासीहरुलाई दिने गरिन्छ । तर उसले सामाजिक संजालमा आफ्नो तस्विर फैलिए पछि आफुले आतंककारी हमला नगरेको जनाउंदै आत्मसमर्पण गरेको थियो । प्रहरीले यसबारेमा जाँचबुझ गरिरहेको जनाएको छ ।
स्पेनमा गरिएको यो आतंककारी हमलाको संसारभरका नेताहरुले भर्त्सना गरेका छन् । जर्मन चान्सलर एन्जेला मार्केलले आतंकबादी हमलाको निन्दा गर्दै आफु, आफ्नो देश र सिंगो युरोप स्पेनको साथमा रहेको जनाउदै आबस्यक हरेक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।