नर्थ क्यारोलिनामा कन्फ़िडरेटको सांकेतिक मुर्ति ढालियो
अगस्त १५, नर्थ क्यारोलिना। भर्जिनियाको चार्लोट्सभिल घटनाको बिरोधमा डुरहाम सिटिमा आयोजित प्रदर्शनमा कन्फ़िडिरेटको मुर्ति ढलाइएको छ। चार्लोट्सभिलमा गर्न लागिएको अतिबादी गोराहरुको र्यालीको बिरोधमा र्याली गर्दा एक जना अतिबादीले जुलुश माथि गाडी कुदाएको थियो जसमा एकजना हेदर हेयर नामकी महिलाको मृत्यु भएको थियो। सोहि अतिबादी र आतंकबादी घटनाको बिरोधमा आयोजित उक्त जुलुशले उक्त मुर्ति ढालेको हो।
सोमबार बिहानै प्रदर्शकारीहरु डुरहाम काउन्टीको कोर्टहाउसमा जम्मा भए जहाँ कफ़िडरेट सिपाहीको मुर्ति रहेको थियो। त्यसपछि एकजना प्रदर्शनकारी मुर्तिमा चढे र डोरीले मुर्तिको माथिल्लो भागमा बाँधे। तल बसेका प्रदर्शनकारीहरुले “हामी क्रान्ति हौँ” भन्ने नारा लगाए। त्यसपछि डोरी जोडले ताने र मुर्ति ढालियो। सन् १९२४ मा निर्माण गरिएको यो मुर्ति कन्फ़िडरेट सिपाहीको हो जसले बन्दुक भिरेको छ र मुर्तिको ठिक तल “खैरो केटोको सम्झनामा” भनेर लेखिएको थियो । मुर्ति ढाले पछि प्रदर्शकारीहरुले मुर्तिलाई लात्तीले हान्ने र थुक्ने गरेका थिए।