समर क्याम्प, गुरु चिन्तामणि योगी र अभिवाबकहरुको दायित्व

यतिबेला डालस स्थित नेपाली समाज टेक्सासर नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका पदाधिकारीहरुलाई भ्याई नभ्याई छ। गत १० दिन देखि नेपाली समाज टेक्सास र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रद्वारा संचालित नेपाली पाठशालामा समर क्याम्प चलिरहेको छ। बिहान ९ बजे देखि ४ बजे सम्म ओम लेखिएका पहेंला बस्त्र धारण गरेका ५ बर्ष देखि १५ बर्षसम्मका बालबालिकाहरु बिभिन्न खालका गतिविधिहरुमा सक्रिय छन्। तिनै बालबालिकाहरुलाई हेरचाह, खानपिन, शिक्षा र संस्कार जस्ता अमुल्य कुराहरु प्रदान गर्न नेपाली समाज टेक्सास र नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रका लागेका हुन्। घरधन्दा, ब्यबसाय र अन्य आफ्ना दैनिक महत्वपूर्ण कामहरु छोडेर समाजको लागि र हाम्रा भविस्यका कर्णधारहरुको लागि यसरी बिहान बिहान आइपुग्छन। मनै देखि यसमा लागेका स्वयम्सेवकहरुलाई सलाम गर्नु पर्छ, धन्यवाद दिनु पर्छ। धन्यवाद। समर क्याम्प बढो अच्छा चलिरहेको छ ।

मेरो आफ्नै परिस्थिति र क्याम्प हुने स्थलको दुरीका कारण यसमा स्वयंसेवा गर्ने अवसर पाइन। यो शनिबार भने बिदाको दिन त्यता जाने मौका मिल्यो। केहि हेर्ने अनि केहि अनुभव गर्ने सुनौलो मौका मिल्यो। जिन्दगी धेरैले आफ्नो लागि जिउछन तर त्यहाँ यस्ता व्यक्तिहरु हुनुहुन्थ्यो जसले जिन्दगी अरुकै लागि जिउनु हुन्छ। उहाँ चिन्तामणि योगी हुनुन्छ। थुप्रै पुस्तकहरु लेख्नुको साथै उत्प्रेरक प्रबचनका कारण उहाँ सर्बत्र चर्चित हुनहुन्छ। उहाँ स्वयम् उपस्थित भएर हाम्रा कलिला बाबुनानीहरुलाई सुभ बचन, विचार, मार्गदर्शन गर्दै हुनुहुन्थ्यो। हाम्रो भाषा, धर्म र संस्कृतिको असल, उदार र बृहद पक्षहरु केलाउंदै सबैलाई मन्त्रमुग्ध बनाउदै हुनुहुन्थ्यो। हाम्रो जरो कहाँ छ र त्यो जरो कस्तो छ भनेर सरल र मिठो भाषामा उहाँले प्रबचन प्रस्तुत गरिरहनु भएको थियो। त्यो क्षणमा स्वयंसेवा गर्न पाउनु त अहो भाग्य हुने नै भयो, त्यसमा सहभागी हुन पाउनु र त्यो दिव्य ज्ञानको रसपान गर्न पाउनु अघिल्लो जुनीको कर्मको फल हो।

नेपाली समाज टेक्सासले बिगत लामो समय देखि नेपाली पाठशाला संचालन गर्दै आएको छ। ५ बर्ष अघि पनि गुरु चिन्तामणि योगीको अभिभावकत्वमा यसै गरी समर क्याम चलाइएको थियो। त्यहि समर क्याम्पमा सिकेको ज्ञान लिएर समाजमा सानै उमेरमा आफुलाई असल मानवको रुपमा चिनाउन सफल कृतिमा लामिछाने र आइषा ओझा यो क्याम्पमा पनि अग्र पंक्तिमा देखिए। उनीहरुकै समकक्षि साथीहरु समरमा रमाइलो गर्न खोला, ताल, पार्क र सागरहरुमा डुबुल्की मार्दै गर्दा यिनीहरु भने धर्म, संस्कृति, कर्तब्य र शान्तिको रसपान गर्दै सेवा मार्फत आफुलाई धन्य बनाउदै थिए। गुरुको आशिर्बचन लिंदै कलिला बालबालिकाहरु पनि आफ्नो समग्र सोंच मात्र होइन सुन्दर गन्तब्यसम्म पुग्ने बाटो खन्दै थिए। यसमा गुरु एक पथप्रदर्शक हुनुहुन्थ्यो भने नेपाली समाज टेक्सास र अन्य स्वयम्सेविहरु सहयोगी हुनुहुन्थ्यो। सबैलाई नमन।

नेपाली समाज टेक्सासद्वारा संचालित यो क्याम्पमा दुइसय जना भन्दा बढी बिद्यार्थीहरु छन्। “घरमा झगडा गरेर हैरान पार्नेहरु यसमा आए पछि सुध्रेका छन्” आयोजक समाजका अध्यक्ष कृष्ण लामिछाने गर्ब गर्दै भन्नुहुन्छ। “हामी को रहेछौं, हाम्रो जरो कहाँ रहेछ र त्यो कसरी राम्रो रहेछ भन्ने जानकारी दिने मेरो लक्ष हो, दुइ हप्तामै सबै कुरा गर्न सकिदैन”, गुरु चिन्तामणि स्पस्ट पार्नुहुन्छ। पक्कै पनि हामीले नचाहने हो भने उहाँले दिएको शिक्षा केहि दिन र हप्तामा स्वाहा हुन्छ, बालुवामा पानी राखेजस्तो गरी सुकिहाल्छ। गुरुले सिकाएको त्यो शिक्षा र संस्कारको झिल्कोलाई बाली राख्ने काम अभिभावकहरुको हो। गुरुले उल्लेख गरेका पुस्तकहरु अब सबैको घरमा हुनुपर्छ ताकि हाम्रा बालबालिकाहरुले त्यसको याद गरिराखुन । गुरुले घोकाएका भजनहरु अब सबैको घरमा बज्नु पर्छ ताकि त्यो धुनले उनीहरुलाई हाम्रो धर्मको याद आइरहोस । औपचारिक शिक्षाको निरन्तरता दिने काम भने नेपाली समाज टेक्सास जस्ता संस्थाहरुको हो। राजनीतिको फोहोरी खेल होइन अमेरिकामा वा बिदेशमा रहेका नेपाली संस्थाहरुले यस्तै काम गरिरहनु पर्छ। सकिन्छ इमान, जमान र निष्ठाको राजनीति गरौँ, नसके राजनीति नै नगरौं।

शनिबारको त्यो बिहान गुरु चिन्तामणि योगीको दिव्य ज्ञान पान गरिसकेपछि १२ बजे पछि करिव आधा घण्टा मन्दिरमा आरती भयो। आरती मन्दिरका पुजारी पण्डित मेघराज निरौलाले गर्नु भयो। मिठो स्वर र अथाह ज्ञानका धनि गुरु मेघराज निरौलाले कण्ठस्थ गरेका मिठा भजन, श्लोक र मन्त्रद्वारा सबैको मंगलको कामना गर्नु भयो। समर क्याम्पका साना बालबालिकाहरु अनुसाशित तरिकाले पलेटी कसेर आरती श्रवण गरे, पुस्पागुच्छा अर्पण गरे र पन्चामृत प्रशाद ग्रहण गरे। शंख, घण्ट र मादलले मन्दिर परिषर गुञ्जियो भने त्यो ध्वनिले सबैको मनमस्तिस्कमा धर्म, संस्कृति प्रतिको झुकावको संचार गर्यो भने शान्तिको अनुभूति भयो।गुरु चिन्तामणि योगी केहि दिनको लागि आउनु भएको छ। तर उहाँले हामीलाई ठुलो शिक्षा मात्र होइन दायित्व पनि सुम्पेर जानु हुँदै छ। समर क्याम्पको २९ गते समाप्ति पश्चात त्यो सबै शिक्षालाइ जीवित राख्ने जिम्मा हाम्रो काँधमा छ। त्यसलाई हामीले सत्संगको मार्फत नियमित गर्न सक्छौं। हामीले गर्ने बिबाह, भोज, पार्टी र अन्य रमाइला अबसरमा केहि समय छुट्ट्याएर ज्ञान गुनका कुरा, ध्यानका कुरा र धर्म संस्कृतिका कुरा गरेर हामीले यो सब जीवित राख्न सक्छौं।
आइतबार मात्र स्थानीय समाजसेवी भरत अर्यालले गरे जस्तै गृह प्रवेश (हाउस वार्मिंग) जस्ता अबसरको सदुपयोग गरेर हामी यो धुनी जगाइराख्न सक्छौं। अर्यालले गृह प्रवेशको उपलक्षमा गुरुलाई प्रबचनको लागि निमन्त्रणा दिनु भयो। गृह प्रबेशमा उपहार ल्याउन नपर्ने जनाएर इच्छुक व्यक्तिहरुले गुरु चिन्तामणि योगिद्वारा संचालित गुरुकुलको लागि दान दिन सक्ने व्यवस्था मिलाइदिनु भयो। कुनै कार्यक्रममा जाँदा अनाबस्यक चिजहरु लगेर जानु पर्ने, ती बस्तुहरु जिन्दगीमा प्रयोग पनि नहुन सक्ने अबस्थामा स्वेच्छिक दानले कुनै राम्रो काम गर्न सकिन्छ भन्ने समेत यसमा देखियो। करिब ६ सय डलर रकम संकलन भयो र उक्त रकम सोहि गुरुकुललाई गुरु मार्फत भरत अर्याल र कृष्ण लामिछानेले हस्तान्तरण गर्नु भयो। घरलाई मन्दिर, पाठशाला बनाउनु आजको आबस्यकता हो। नैतिक शिक्षाको पढाई अमेरिकामा हुँदैन। त्यो शिक्षा व्यवहार र सैद्धान्तिक रुपमा घरमा दिन सकिएन भने हाम्रा बालबालिकाको भबिस्य अन्धकार हुन सक्छ। त्यसैले यस्ता असल मानवहरुको संगत गर्ने, शिक्षा लिने र आफ्ना सन्ततिलाई पनि त्यो अमृत पान गराइयो भने मात्र हाम्रो विदेशिनुको औचित्य पुस्टि हुन्छ। नत्र हामी सडेर, गलेर र कुहियर यहि माटोमा बिलाएर जानेछौं। प्रस्तुति:लेखनाथ गौतम

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907