टेक्सास चुनावमा होमियो: च्याप्टर अध्यक्षका उम्मेदवार भानु खरेलद्वारा बिज्ञप्ति जारी
डालस, टेक्सास। एनआरएनए अमेरिकाको चुनावको घोषणा संगै अमेरिकाको नेपाली समुदायमा चहलपहल बढेको छ। सामाजिक संजालमा आफुलाई मतदान गरी बिजयी गराउन उम्मेदवारहरुले अनुरोध गर्ने क्रम व्हात्तै बढेको छ। नयाँ नयाँ समीकरण, नयाँ नयाँ गठबन्धन बन्ने र भत्कने क्रम पनि तिब्र छ। मतदाताहरु रनभुल्लमा छन्। को कता, किन र कसलाई भन्ने एक किसिमको अन्योल अरु केहि दिन रहिरहने देखिन्छ।
टेक्सास नेपालीहरुको ठुलो संख्या भएको राज्य हो। टेक्सासमा पनि डालस नेपालीहरुको संगम स्थल नै भन्नु पर्छ। गतिबिधिका हिसाबले हेर्दा अमेरिका आउने कुनै व्यक्ति डालस नआइ फर्किन नसक्ने अवस्था समेत सिर्जना भएको छ। एनआरएनए अमेरिकामा पनि अध्यक्ष पदकै दुइ जना प्रत्याशी हुनुहुन्छ गौरी जोशी र राम पोख्रेल । बरिस्ठ उपाध्यक्षमा सुनील शाह र उपाध्यक्षमा भुवन आचार्य लगायत बोर्ड अफ डिरेक्टरमा आधा दर्जन भन्दा बढी उम्मेदवार हुनुहुन्छ । त्यसबाहेक च्याप्टरमा काम गर्न चाहनेहरुको पनि लामै लाइन छ। अध्यक्षमा दुइ जनाको उम्मेदवारी परेको जनाइएको छ। त्यसमध्ये एकजना हुनुहुन्छ भानु खरेल।
टेक्सास च्याप्टरको अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेसंगै खरेलले एक बिज्ञप्ति जारी गर्नु भएको छ। आफ्नो बिगत, वर्तमान र भविस्यको योजनाहरुको मोटामोटी स्वरुप उल्लेख गरिएको उक्त बिज्ञप्ति एनआरएनए अमेरिकाको निर्बाचन आयुक्तहरुलाई सम्बोधन गर्दै जारी गरिएको छ।
बिज्ञप्तिको सार यस्तो छ :
म अमेरिका आएको २० बर्ष भयो। म बिद्यार्थीको रुपमा अमेरिका आएँ । आए देखिनै म नेपालीहरुका विभिन्न खालका सामाजिक संस्थाहरुमा सहभागी हुँदै आएको छु। कम्प्युटर प्रविधिमा बिएससी र इञ्जिनियरिङ्ग प्रविधिमा एमएससी सके पछि म जर्जियाबाट टेक्सास बसाइ सरें २००६ मा। त्यस पछि अमेरिकाका विभिन्न सूचना प्रविधिका ठुला कम्पनिहरुमा प्रोग्रामर र आर्टिटेक्टको रुपमा काम गर्दै आएको छु । बिगत १२ बर्ष देखि यी कम्पनीहरुमा ब्यबस्थापकको भूमिकामा छु।
प्रबासमा आफ्नो र परिवारको भरण पोषण गर्न जागिर बाहेक बचेको समयमा मैले समाजसेवा गर्ने गरेको छु। समाजसेवा मेरो रहर हो बाध्यता होइन। मलाई लाग्छ हामी समाज वा प्रणालीबाट केहि लिएकाहरुले आफ्नो समुदायलाई केहि दिनु पर्छ। मेरो समाजसेवा प्रतिको यहि लगावका कारण अमेरिकामा स्थापित धेरै नेपाली सामाजिक संघ संस्थाहरुमा भौतिक, आर्थिक र स्वयंसेवकको रुपमा काम गरेको छु। NASEA , होप फर चिलरेन, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, रेड क्रस अमेरिका, ब्लड डोनर्स अफ अमेरिका, यति च्याम्बर्स अफ कमर्स, नेपाली समाज टेक्सास जस्ता संस्थाहरुमा अनगिन्ति समय स्वयम् सेवामा व्यतित गरेको छु।
बिगत २० बर्ष देखि म नेपाली समुदायका हरेक समस्याहरुमा प्रत्यक्षदर्शी हुँदै आएको छु। बिशेष गरी नेपाली बिद्यार्थीहरुका समस्याहरु प्रति म अझ बढी जानकार छु। बिभिन्न तरिकाले अमेरिका आएर अमेरिकामा उज्ज्वल भबिस्य निर्माण गर्ने नेपालीहरुका समस्या प्रति म चिर परिचित छु। स्थानीय रुपमा एनआरएनलाइ अझ सक्रिय र प्रभावकारी बनाउन र स्थानिय संघ संस्थाहरुसंगको सहकार्यमा मेरो अनुभव र दक्षता सहयोगी सिद्ध हुनेछ भन्ने मेरो विश्वास छ। स्थानीय सामाजिक संघ संस्थाहरुसंग मिलेर नेपाली समुदायले सामना गरिरहेका चुनौतिहरु सामना गर्न म मेरो बर्कतले भ्याय सम्म काम गर्नेछु।
मेरो एनआरएनए टेक्सास च्याप्टर अध्यक्षको रुपमा एनआरएनए अमेरिकाको प्रत्यक्ष समन्वय, स्थानीय अगुवाहरुको अभिभाकत्वमा बिद्यार्थी, आप्रबाशी, अभिभावक, साना बालबालिकाहरु, युबाहरु, ब्यबसायीहरु र सम्पूर्ण समुदायका सदस्यहरुलाई बिभिन्न खाले कार्यक्रम मार्फत लाभान्वित तुल्याउने प्रतिबद्धता जनाउन चाहन्छु ।
धन्यवाद
भानु खरेल
उम्मेदवार, एनआरएनए अमेरिका टेक्सास च्याप्टर सभापति