एनआरएन अमेरिका भित्र युवाको लागि अलग्गै कोठा चाहिन्छ: स्वराज खाती

एनआरएन अमेरिकाको चुनावको चर्चा संगै उम्मेद्वारी दिने लहर चलेको छ । उम्मेदवारहरुको त्यो लाइनमा युवाहरु पनि देखिनु एनआरएनको भविस्यको लागि खुसीको कुरा हो । अहिले देखा परेका उम्मेदवारहरुले आफ्नो बिरासत भन्दा आफ्नो योजना र त्यसलाई कार्यन्वयन गर्ने प्रतिबद्धता दोहोर्याउनु अझै राम्रो कुरा हो । राजनीतिक संलग्नता भन्दा उम्मेदवारहरुको योग्यता र क्षमता पहिचान गरेर मतदान गर्नु मतदाताहरुको कर्तब्य हो । अघि पछि यो भएन र त्यो भएन भनेर गोइडरो गर्ने तर सक्षम उम्मेदवार छान्न आफ्नो हातमा ताला चाँवी हुँदा उम्मेदवारहरुको क्षमता नहेरी गुट उपगुट, क्षेत्र वा अन्य बहानामा अर्कैलाई भोट हालेर चुन्ने गर्छौं । यो तरिका हामीले परिवर्तन गर्नु पर्छ ।

कसले के गर्न सक्छ भन्ने मापन गर्ने धेरै आधारहरु छन् । सबभन्दा पहिले उसको एजेन्डाहरु केके छन् हेर्नु पर्छ । एजेन्डा कसरी पुरा गर्ने भनेर योजना केके छन् हेर्नु पर्छ । त्यस्तै उनीहरुको अनुभव हेर्नु पर्छ । उनीहरुले गरिरहेको काम हेर्नु पर्छ । उनीहरुको नेतृत्व क्षमता हेर्नु पर्छ । हाम्रो नेतृत्व गर्ने मान्छे जिम्मा हाम्रै भएकोले हाम्रो अपेक्षा पुरा गर्ने मान्छे हामीले नै रोज्नु पर्छ । हाम्रो रोजाइ युवा, योजना भएको र केहि गर्न सक्ने व्यक्ति हुनु पर्छ ।

एनआरएन आन्दोलनको भविस्य सुरक्षित गर्ने हो भने एनआरएन बुझेको, नेपाल र नेपाली बुझेको युवाहरु एनआरएनमा आउनु पर्छ। यदि नेपालमा जन्मेर र हुर्केर आएकाहरु मात्र एनआरएनमा आबद्ध हुने हो भने एक दिन एनआरएनहरु खोज्न दिउसै लाल्टिन बाल्नु पर्ने अवस्था हुनसक्छ। त्यसैले नेपाली समुदायको काम  भनेको एनआरएनमा युबाहरुलाई अगाडी बढाउनु हो। उनीहरुलाई एनआरएन हाम्रो हो र यसलाई बलियो बनाउनु पर्छ भन्ने अनुभूति गराउनु पर्छ। एनआरएनए अमेरिकाको भबिस्य पनि त्यस्तै युबाहरुको हातमा छ। युवा संयोजकको अबधारणा युवालाई एनआरएनको मुलधारमा ल्याउनु हो। तर त्यसमा युवाको भावना बुझेको नेतृत्व आउन जरुरी छ। यहि शिलशिलामा एनआरएनए अमेरिकाको युवा संयोजकमा टेक्सास निबासी स्वराज खाती आगामी कार्यकालको लागि उम्मेदवार बन्ने कुरा लामो समय देखि चर्चामा छ । एनआरएन, चुनावी सेरोफेरो लगायत युवा संयोजकको रुपमा के गर्ने योजना छ भनेर मैले उहाँसंग लामो कुराकानी गरेको थिएँ। प्रस्तुत छ कुराकानीका केहि महत्वपूर्ण साटासाटहरु :

– एनआरएनए भनेको के हो ? यसको उद्देस्य के हो ? 

बिस्वब्यापी संस्थागत संरचनाको माध्यमबाट नेपाल बाहिर स्थायी रुपमा बसोबास गर्ने नेपालीहरुलाई संगठित गर्दै उनीहरुको नेपालमा हित र अधिकारको संरक्षण गर्नुका साथसाथै नेपालको बिकासमा  टेवा पुर्याउने मुख्य उद्धेश्य  खोलिएको संस्था एनआरएनए हो। हरेक नेपाली प्रवासमा नेपालको तर्फबाट अवैतनिक राजदुत हुन् । नेपाली भाषा , धर्म  र संस्कृतिलाई विश्वभर फैलाउंदै , नेपाललाई इज्जत साथ चिनाउने काम एनआरएनहरुले गर्छन । ती एनआरएनहरुलाई नेपालसंग भौतिक तथा भावनात्मक रुपमा  जोडीरहन आवश्यक भुमिका निर्वाह गर्ने  काम एनआरएनए को हो । एनआरएनए अमेरिकाले ले अमेरिकामा बस्ने नेपालीहरुको हकहितमा र आपदविपद पर्दा प्राथमिकतासाथ कार्य गर्नुपर्ने अहिले को आवश्यकता रहेको मैले देखेको छु ।

– तपाईं एउटा सक्रिय युवा, एनआरएनए अमेरिकामा त नेपालदेखि नै सक्रिय बुढाहरुको पकड देखिन्छ । तपाईं चाहिं के उद्देश्यले जान लाग्नु भएको हो ?
एनआरएनएको सन्दर्भमा  एउटा नेपाली उखान चरितार्थ भएको छ  ” खोला तर्यो , लौरो बिर्स्यो  ” अर्थात् युवाहरुलाई आ-आफ्नो बिसेष हितको लागि मात्रै उपयोग गरेको देखिन्छ । प्रवासी नेपाली युवाहरुको क्षमता , योग्यता र उर्जालाई संगठित रुपमा संस्थागत हितमा उपयोग गरेको देखिदैन । हाम्रो सामाजिक जीवनमा युबाहरुको सहभागिता, सक्रियता र चासो नदेखिनुको प्रमुख कारण यहि नै हो भन्ने मलाई लाग्दछ ।अत: एनआरएनएमा  एक सबल ,सक्षम  र इमान्दार युवा नेतृत्वको अभाब छ । एनआरएनए भित्र समग्र बिकासको अबधारणा व्यवहारमा लागु गरी एउटा शसक्त र अधिकार सम्पन्न युवा मंचको स्थापना आजको आबस्यकता हुन गएको छ । यस अर्थमा मैले दृढ संकल्प लिएर युवा संयोजकको पदमा आफ्नो  उम्मेद्वारी दिन चाहेको  हो ।
– एनआरएनए  को वर्तमान संरचना , यहाँको समग्र मनस्थिति तपाई जस्तो को लागि काम गर्न अनुकुल छ ? त्यहाँ कसरी आफ्नो योजना लागु गर्ने सोच्नु  भएको छ ?
एनआरएनए को वर्तमान संरचनालाई हेर्दा समय सापेक्ष परिवर्तनको आवश्यकता छ । अहिले सम्मको एनआरएनए को यात्रालाई अवलोकन गर्दा  सामाजिक आन्दोलनको रुपमा पूर्ण  बिकसित हुन सकेको छैन । कुनै पनि परिवर्तन को मूल उर्जा भनेको नै युवाहरु को संगठित शक्ति  हो । एनआरएनएको संरचना भित्र त्यसको नितान्त अभाब देखिन्छ । एनआरएनएको वर्तमान परम्परालाई हेर्दा युवा नेतृत्व बिकास गर्नुको साटो थपडी बजाउने कार्यकर्ता रुचाउने घातक प्रवृति बिध्यमान छ । युवाहरुको लागि नत बार्षिक कार्यक्रमहरु छन् नत निश्चित बजेट नै विनियोजित  गरेको पाईन्छ । प्राण बिनाको शरीर जस्तै एनआरएनए भित्र युवा संरचना बाँचीरहेको छ । मेरो स्पस्ट धारणा छ एनआरएनएको घर भित्र युवाहरुको लागि छुट्टै कोठा हुनुपर्छ जहाँ युवाहरु खुलेर आफ्नो विचार , क्षमता र नेतृत्व प्रदर्शन गर्न सकुन पक्कै पनि आगामी चुनावमा कस्तो नेतृत्व निर्बाचित हुन्छ, त्यसले हाम्रा धेरै योजनाहरुलाई लागु गर्न सजिलो हुने वा अप्ठेरो हुने परिस्थिति हुनसक्छ  । त्यस परिणामले आगामी युवाहरुको  भविष्यको निर्धारण मात्र  नभई समग्र प्रवासी नेपालीहरुको भविष्यलाई प्रभावित पार्नेछ ।  तर नेतृत्वमा जो आए पनि मैले युवाहरुको सरोकारको बिषयलाई नेतृत्व तहमा उजागर गरेर  नेतृत्वदायी  भूमिका निभाउने छु । मैले गर्नुपर्ने कार्यहरुलाई तिन आधारमा विभाजित गरेकोछु । १)  कार्यसमितिबाट युवामुखी कार्यक्रमहरु  स्वीकृत गराउने २) युवा संजाल तयार गर्ने ३) एनआरएनए  युवाका  ६० भन्दा बढी मुलुकमा स्थापित शाखाहरु र आइसिसि बीच सुमधुर सम्बन्धका साथै सहकार्य स्थापित गराई कार्यक्रम गर्ने।
 

युवाहरुको समस्या बुझेको छु  भन्नुभयो ? के रहेछन समस्या ? के छ समाधान ? 

मेरो बुझाइमा अमेरिकाको नेपाली समाजमा बिभिन्न खालका युवाहरु छन् –  बिद्यार्थी, डिभी परेर आएका युवाहरु , अमेरिका मै जन्मेका – हुर्केका युवाहरु, युवा ब्यबसायी तथा श्रमजीवीहरु यी सबै वर्गको युवाहरुको आफ्नै समस्या र खुबीहरु छन् । म आफु पनि पहिला बिद्यार्थी भिसामा अमेरिका आएकोले धेरै युवाहरुले सामना गरिरहेको समस्याहरु थाहा छ । अमेरिकामा सबैभन्दा बढी युवाहरु एफ-वान भिषामा  रहेको अध्ययनले देखाएको छ ।  बिद्यार्थीहरुको अमेरिकामा शैक्षिक यात्रा एकदम कठिन छ । त्यसैले विद्यार्थी कल्याण कोष को  थालनी गर्दै छात्रवृति कार्यक्रमहरुद्वारा विद्यार्थीहरूको शैक्षिक यात्रा सजिलो बनाउन तथा अन्य कार्यक्रमहरु  ल्याउन पहल  गर्नेछु । अधिकांस युवाहरु  आफ्नै समस्याहरुमा जकडिएर बसिरहेका छन् । अधिकांश युवाहरु एनआरएनए  प्रति आकर्षित  छैनन् किनभने एनआरएनएले ठोस रुपमा युवा आकर्षित  गर्ने वा युवा लक्षित कार्यक्रम  दिन सकेका छैन । खेलकुद प्रतियोगिता, विभिन्न अतिरिक्त क्रियाकलाप जस्ता वृत्ति विकासका कार्यक्रमहरूको आयोजना गराई  युवाहरूलाई आफ्नो दक्षता पहिचानमा मद्दत पुऱ्याउँदै सामाजिक कार्यमा पनि संलग्न गराउने छु । अमेरिकाका विभिन्न राज्यका कलेज क्षेत्र एवम् सहरहरूमा एनआरएन युवा विशेष दूत” नियुक्त गर्ने  मेरो योजना छ  |

आफु कलेज छँदा नेपाली बिद्यार्थीसंगठन को अध्यक्ष भएर काम गरेको हुनाले बिद्यार्थी संगठनको शक्ति , समस्या र संघर्ष  बारे मेरो आफ्नै अनुभव छ  । अमेरिकाका  विस्वबिद्यालयहरुमा  ५० भन्दा बढी नेपाली बिद्यार्थी संगठनहरु छन् ।  यी सबै संस्था एकीकृत भएर काम गरेमा अमेरिकामा युवा आवाजको ” पहिचान हुने मैले बुझेको छु । उनीहरुलाई नेपाली समुदायको मुलधारमा समाहित गर्न सकियो भने  भोलि यही विद्यार्थी युवा नेतृत्व एनआरएनए अथवा अरु स्थानीय संस्थामा आएर समाजलाई सेवा दिनेछन । नेपाल फर्केर वा यही बसेर भएपनि नेपाल को बिकासमा सहयोग पुर्याउने छन् ।शैक्षिक योग्यता आर्जन गर्ने  मुख्य उद्देस्य लिएर  बिद्यार्थीहरु अमेरिका आएका हुन् । उनीहरुलाई हाम्रो समुदाय को माया , हौसला , साथ र समर्थनको बढी अवस्यकता छ । यी जोशिला युवा मनहरुलाई हामीले ओइलाएर जान दिनु हुँदैन र समाजको बृहत्तर हितमा प्रयोग गर्नुपर्छ | बिद्यार्थी युवाहरु हाम्रो बौद्धिक पुंजी हुन् । यो उद्देस्य पुरा गर्न विभिन्न विश्वविद्यालयमा रहेका नेपाली विद्यार्थी संगठनहरूको लगत संकलन गरी तिनीहरूलाई पनि सामाजिक सञ्जालको  माध्यमबाट जोड्दै सञ्चालनार्थ  आवश्यक स्रोत उपलब्ध गराई मद्दत गर्नुका साथै विद्यार्थीहरूसँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाको पहिचान एवम् सामना गर्न संजालको निर्माण गरी सोहि संजाल मार्फत सामुहिक प्रयास गर्ने मेरो योजना छ । त्यसै गरी अमेरिकामा नै जन्म भएका दोस्रो पुस्ताका नेपाली बालबालिकामा नेपाली भाषा, समाजिक एवम् सांस्कृतिक मूल्य र मान्यता प्रति अभिरुचि स्थापना गराउनु पर्छ र  उनीहरुमा  नेपालीपन अविचलित राख्नु पर्छ । हामीहरुलाई अमेरिकीहरुले मेक्सिकन, भारतीय वा एसियन भन्ने गर्छन । नेपाली अमेरिकन भनेर अहिले सम्म हामी चिनिएका छैनौ । अझै पनि हामी आफ्नो पहिचान बनाउन संघर्ष गर्दैछौं  । अमेरिकामा जन्मे पनि वा सानैमा नेपालबाट अमेरिका आए पनि यदि उनीहरुलाई नेपाली भाषा, धर्म र संस्कारसंग जोड्न सकियो भने पछि बाहिर अमेरिकी समाजमा गएर हाम्रा नानीहरुले  हाम्रो नेपाली मूल्य र मान्यतालाई आफ्नो औजार बनाउदै आफ्नो “नेपाली ” पहिचान स्थापना गर्न सफल हुनेछन ।

एउटा सानो अन्तरबार्तामा मेरो सबै कुरा भन्न त सम्भव छैन तर म संग यी लगायत थुप्रै योजनाहरु छन्।  त्यसलाई वास्तविकतामा रुपान्तरण गर्न तयार पनि छु। मैले अवसर पाएँ भने पक्कै भोलिको एनआरएन र नेपाली समुदायमा नयाँ पुस्ता पनि एक हिस्साको रुपमा जोड्न सफल हुनेछु भन्ने विश्वास दिलाउंदै म चुनावी मैदानमा छु। आशा छ तपाईंले मलाई त्यो अवसर पक्कै प्रदान गर्नु हुनेछ ।

 

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907