संगीतकर्मी केसी दाजुभाई द्धारा कल्याणकारी कोषमा ५१ हजार सहयोग
बागलुङ्ग नरेठाँटी घर भै हाल अमेरिका बस्दै आउनु भएका संगीतकर्मी अनिल केसी र कृष्ण केसीले संगीतकर्मी कल्याणकारी कोष बृद्धिका लागि ५१ हजार रुपैया सहयोग गर्नु भएको छ । केसी दाजुभाई मध्य अनिलले नेपाली संगीतमा लगानी गर्दै आउनु भएको छ भने कृष्ण आफनो मन आफै संग, कस्ले सुरुवात गर्यो होला जस्ता चर्चित गीतका सर्जक हुनुहुन्छ । केसी दाजु भाईले संगीतकर्मी कल्याणकारी कोषमा गर्नु भएको सहयोग संगीतकार संघका पदाधिकारीहरु र सल्लाहकार हरुको उपस्थितीमा अनिलले संगीतकार संघका सदस्य श्रीकृष्ण बम मल्ल मार्फत कोषलाई हस्तान्तरण गर्नु भएको हो ।
रकम हस्तान्तरण गर्दै कार्यक्रममा उपस्थित हुनु भएका अनिलले संगीतकर्मी कल्याणकारी कोषमा सहयोग गर्न पाएको मा खुसी ब्यक्त गर्नु भएको छ । उहाँले अरुलाई पनि सक्दो सहयोग गरि यो पवित्र अभियानमा जोडिन आग्रह गर्नु भएको छ । संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको बैसाख महिना सम्मकोे विवरण अनुसार कोषमा ७ लाख ६८ हजार २६१ रुपैयाँ ९७ पैसा जम्मा भएको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएकोे कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिनु भएको छ । संघका प्रेस सल्लाहकार अधिकारीका अनुसार कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधिखोजी गर्दै सहयोग रकमको प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । उहाँहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिनु भएको छ । यसैबीच दाताको सहजताका लागि म्यूजिक संसार नेपालले डोनेट बक्स समेत संचालनमा ल्याएको छ । इच्छुक दाताले म्यूजिक संसार नेपालको वेव साइटमा रहेको डोनेट बक्स मार्फत कल्याणकारीकोषमा सहयोग रकम जम्मा गर्न सकिने छ । नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई आपत बिपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ । अहिले सम्म कोष बाट ५ जना सर्जक संगीतकर्मी एकजना रंग पत्रकारको औषधी उपचारमा र एकजना सर्जकको निधनमा कोषबाट १ लाख २४ हजार ९सय ७२ रुपैया सहयोग गरिसकिएको छ । यसैबीच कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले बिशेष सम्मान गर्ने भएको छ । संघको साधारण सभाका अबसरमा त्यस्तो सम्मान गरिने छ । संघको साधारणसभा जेठ १६ गते हुदैछ । कल्याणकारी कोष बृद्धिका संघले मेचीकाली यात्रा गर्ने भएको छ । साधारण सभा लगत्तै अभियानको तयारी गरिने संघले जनाएको छ । त्यसैगरी कल्याणकारी कोष ब्यबस्थापनका लागि बैधानिक र बैज्ञानिक कार्य्बिधिको तर्जुमा पनि गरिएको छ । संघले आफनै वेव साइट पनि निर्माण गरेको छ । छिटटै लञ्च गरिने वेव साइट बिशेष खालको हुने संघले बताएको छ ।