संगीतकार संघ नेपाललाई सिटिजन्स बैंकले ३ लाख रुपैयाँ सहयोग
संगीतकार संघ नेपाललाई सिटिजन्स बैंकले ३ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकको दशौं वार्षिकोत्सवको अवसरमा आफ्नै कार्यालय नारायणहिटीपथमा आयोजना गरेको कार्यक्रममा बैंकका अध्यक्ष डा.शंकरप्रसाद शर्मा, कार्यकारी प्रमुख राजन भण्डारीले संगीतकार संघका अध्यक्ष लक्ष्मण शेषको हातमा उक्त रकम बराबरको चेक हस्तान्तरण गर्नु भएको हो ।
सहयोग प्राप्त गरेपछि कार्यक्रममा बोल्दै संघका अध्यक्ष शेषले सिटिजन्स बैंकलाई संगीतकर्मीहरुले शिरमा राखेर हिंड्ने बताउनु भयो । अहिलेसम्म बैंकिङ क्षेत्रबाट संगीतकर्मीहरुसँग सहकार्य गर्ने पहिलो बैंकका रुपमा सिटिजन्सले सहयोगी हातहरु अगाडि बढाएकोमा धन्यवाद दिँदै शेषले सम्पूर्ण संगीत क्षेत्रमा आइपरेको समस्यामा बैंकले सदैव यसरी नै सहयोगको हात पैmलाउने आशा व्यक्त गर्नु भयो ।
दशौं वार्षिकोत्सवको अवसरमा बैंकले सामाजिक क्षेत्रमा आफ्नो आम्दानीको १ प्रतिशत प्रदान गर्ने निर्णय अनुरुप विभिन्न सामाजिक संघसंस्था, विद्यालय, पुस्तकालय, पिछडिएको क्षेत्रलगायतका सामाजिक क्षेत्रमा सहयोग प्रदान गरेको थियो । बैकले दिएको उक्त सहयोग रकम मध्य १ लाख ११ हजार ११ रुपैया संगीतकर्मी कल्याणकारी कोषमा थप्ने संघले जनाएको छ । बाँकि रकम संगीतकार संघका अन्य सामाजिक गतिबिधीमा खर्च गरिने पनि संघले जनाएको छ ।
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषको चैत महिना सम्मकोे विवरण अनुसार हाल कोषमा ६ लाख ३२ हजार १६५ रुपैयाँ ३७ पैसा जम्मा भएको छ । संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएकोे कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिनु भएको छ । अधिकारीका अनुसार कोषमा सहयोग गर्न चाहनेहरुले बिभिन्न स्थानबाट सोधिखोजी गर्दै सहयोग रकमको प्रतिबद्धता समेत ब्यक्त गर्नु भएको छ । उहाँहरुले प्रतिबद्धता गरेको सहयोग रकम आफू अनुकुलको समयमा हस्तान्तरण गर्ने बचन दिनु भएको छ । नेपाली संगीत क्षेत्रका सबै बिधाका सर्जकहरुलाई आपत बिपत पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेकोे छ । अहिले सम्म ३ जना सर्जक एकजना रंग पत्रकारको औषधी उपचारमा र एकजना सर्जकको निधनमा कोषबाट ८९ हजार ९सय ६७ रुपैया सहयोग गरिसकिएको छ । यसैबीच कल्याणकारी कोषमा सहयोग गर्ने दाताहरुलाई संघले बिशेष सम्मान गर्ने भएको छ । संघको साधारण सभाका अबसरमा त्यस्तो सम्मान गरिने कल्याणकारी कोषका संयोजक शुनिल मास्केले जानकारी दिनु भएको छ । संघको साधारणसभा जेठ १६ गते हुदैछ ।