नेपाली समाज टेक्सासको नयाँ बर्षको कार्यक्रम सम्पन्न
अप्रिल १५, डालस, टेक्सास। नेपालीहरुको नयाँ बर्ष २०७४ युलेस स्थित बियर क्रिक पार्कमा सम्पन्न भएको छ। नेपाली समाज टेक्सासको आयोजनामा भएको कार्यक्रममा डालस वरपरका सयौं नेपालीहरुको सहभागिता थियो। नयाँ बर्ष कार्यक्रममा बिभिन्न खाले कार्यक्रमहरु भए। बिहान सबेरै देखि साना साना नानीबाबुहरुका खेलहरु सम्पन्न भए। नेपाली समाज टेक्सासद्वारा संचालित नेपाली पाठशालाका बिद्यार्थीहरुले बिभिन्न खाले खेलकुदमा भाग लिए। चम्चा दौड, बोरामा खुट्टा हालेर दौडिने, डोरी तान्ने खेलहरु सम्पन्न भए। साना साना बालबालिकाले निकै रमाइलो मानेर खेलमा भाग लिए। पुरस्कार पाउँदा औधि खुसि भए।
खेल स्थलको नजिकै डिजे मम आफ्नो सामग्री सहित क्याम्प जमाएर बसिसकेका थिए। उनले धेरै गीत बजाए। उनले रमिला गीत बजाए। नयाँ बर्षको यो अवसरलाइ साँच्चिकै स्मरणीय बनाउन डालस वरपरका धेरै मानिस आएका थिए। डिजे ममले उनीहरुलाई मनपर्ने गीत बजाएर नाँच्न प्रेरित गरे। डिजे ममको टेबल नजिकै एउटा स्टेज बनाइएको थियो। स्टेजमा धेरैले मिठा मिठा गीत गाए। आफ्ना राम्रा राम्रा नाच देखाए। सहभागीहरुले रुचिपुर्बक ती नाचहरु हेरे। रमाइलै भयो ।
अर्को तर्फ भलिबल प्रतियोगिता भैरहेको थियो। १६ वटा टीमहरुले भाग लिएका थिए। युएसएंडनेपाल डट कम, एनएस टी, इन्द्रेणी, नर्थ ट्यारेण्ट भलिबल टीम, अर्भिंग टीम, जनसम्पर्क समितिको टीम, यति च्याम्बर्स अफ कमर्सको टीम, युलेसको टीम, एनआरएनको टीम त्यहाँ समाबिस्ट भएका थिए। खेल सौहाद्रपूर्ण रुपमा सम्पन्न भयो। पहिलो नर्थ ट्यारेण्ट भलिबल क्लबले जितेको छ। दोश्रो स्थान इन्द्रेणी सांस्कृतिक संघको टीमले प्राप्त गर्यो। खेलमा जित हार एउटा प्रक्रिया हो। संसारमा कुनै यस्तो खेलाडी छैन जो अविजित होस। संसारको इतिहासमा यस्तो कुनै टीम छैन जसले कहिल्यै नहारेको होस्। यहाँसम्म सबै ठीकठाक छ।
आजको खेलकुद र सम्पूर्ण इभेन्ट सम्पन्न गर्न नेपाली समाज टेक्सासले र यसका पदाधिकारीहरुले गरेको कामको उच्च प्रशंशा र मुल्यांकन गर्नु पर्छ। यस्ता कार्यक्रम गर्दा हुने दुख, समस्या र झन्झटको नालीबेली उतार्ने हो भने लामै कथा बन्न सक्छ। यसका सबै व्यक्तिहरु आफ्नो आफ्नो तर्फबाट असाध्यै इमान्दारी र जिम्मेवारीपुर्बक इभेन्ट सम्पन्न गर्न व्यस्त हुनुहुन्थ्यो। कोहि फेसबुकमा लाइभ गर्न, कोहि स्टेज तयार गर्न, कोहि पार्किङ्गको व्यवस्था मिलाउन ब्यस्त हुनुहुन्थ्यो। भलिबल तर्फ पनि दिलो ज्यान दिएर लाग्नु भएको थियो।
भलिबल खेलाउने क्रममा भने अलि समस्या पैदा भयो। खेलको नियम र प्रक्रिया थाहा नभएका व्यक्तिहरुले खेल संचालन गर्नु पर्ने बाध्यताले गर्दा लामो विवाद भयो। भलिबल खेलको नियम र प्रक्रिया बुझेको ब्यबसायिक एकजना पनि त्यो खेलमा भएको भए यति धेरै लफडा हुने थिएन। अर्को पटक खेल आयोजना गर्दा नेपाली समाज टेक्सासले यता तर्फ ध्यान दिनुपर्छ भन्ने उपस्थितहरुको भनाइ रह्यो। पैसा दिएर भए पनि एक जना ब्यबसायिक र भलिबलको कखरा जानेको व्यक्ति ल्याउने हो भने संस्था आफै पनि बिबादको घेराबाट बाहिर निस्किन सक्छ । कोहि पनि सबै कुरामा जान्ने हुन्छ र हुनु पर्छ भन्ने छैन तर नजानेको मान्छेले मुढेबल गरेर मै जान्ने छु भन्यो भने त्यहाँ समस्या हुन्छ । काम गरेरै सिकिने भए पनि बिबाद आउने ठाउँहरुमा जिम्मेवार व्यक्तिहरुले बुद्धि पुर्याएर त्यसमा दक्षता भएका व्यक्तिलाई जिम्मा दिनु सबभन्दा उचित देखिन्छ ।
खेलाडीहरु पनि आफ्नो पक्षमा भएको प्रक्रियागत गल्तीलाई चुपचाप शिरोधार्य गर्ने तर आफ्नो प्रतिकुल जस्तो हुने देखिएको अबस्थामा मान्दै नमान्ने दोहोरो चरित्र प्रदर्शन गरे। खेल पुरस्कार जित्नुमा मात्र सिमित हुँदैन, यो त अनुशासन सिक्ने ठाउँ पनि हो भन्ने सामान्य ज्ञान पनि धेरै जस्तो खेलाडीहरुमा देखिएन। त्यस माथि राम्रो खेल्ने भनिएका टीमहरुको व्यवहार झन् असहयोगी रह्यो। खेल्न आउने कुनै पनि खेलाडीहरुले आफ्नो अनुशासन प्रति पनि सजग हुनुपर्छ भन्ने जानकारी राखेको भए पनि त्यति धेरै लफडा हुने थिएन। खेलको मुटु भनेको अनुसासन हो, पुरस्कार होइन ।
आजको इभेन्टमा थुप्रै स्टलहरु राखिएका थिए। रेस्टुरेन्टहरु, इन्स्युरेन्स कम्पनिहरु देखि आइटी ब्यबसायीहरुले आफ्नो आफ्नो ब्यबस्य प्रबर्धन गर्न बिभिन्न योजना सहित उपस्थित थिए। नेपा अटो र अल स्टेट इन्स्युरेन्सले आफ्नो सूचना दिए बापत टिभी र अन्य आकर्षक पुरस्कारहरु दिएका थिए ।
कार्यक्रममा उपस्थित हुन प्रवेश निशुल्क भए पनि पार्किङ्गको राम्रो व्यवस्था हुन नसक्दा सहभागी हुन आउनेहरुलाई अलि नमिठो अनुभूति भयो। अन्य सबै कुराहरुको लागि यो पार्क उत्तम भए पनि गाडी पार्किंग गर्न पर्याप्त ठाउं नभएकोले गाडी ठोकिने, कुचिने र कतिपय अबस्थामा दुर्घटना समेत हुन सक्ने हुनाले यस्तो कार्यक्रम आयोजना गर्दा ठाउँको चयनमा पनि ध्यान पुर्याउन पर्ने आबस्यकता सबैले महशुश गरे। आयोजकमा अलि बढी ओभर कन्फ़िडेन्स हावी भएको हो कि भन्ने धेरैले महशुस गरे।
फेरी पनि हामीले भन्नै पर्छ कुनै कार्यक्रम गर्न सजिलो काम होइन। यसमा कसैको नियतबस समस्या परेको भन्ने बुझ्नु उपयुक्त हुँदैन। त्यसैले यस्तो कार्यक्रमको आयोजना गरेकोमा नेपाली समाज टेक्सास धन्यवादको हकदार छ। यी र यस्ता गतिबिधि सहित बेलुकी ६ बजे तिर कार्यक्रम समापन भयो। संस्थाका अध्यक्ष कृष्ण लामिछानेले सबैलाई शुभकामना र धन्यवाद दिंदै कार्यक्रम समापन गर्नु भयो। बिजयी टोलीहरुलाई पुरस्कार प्रदान गरेर आजको नयाँ बर्षको कार्यक्रम सफलतापुर्बक सम्पन्न भयो।