संगीतकर्मी कल्याणकारी कोषमा थाइल्याण्डबाट १० हजार सहयोग
संगीतकर्मी कल्याणकारी कोषमा थाइल्याण्डकी एक संगीत पारखीले झण्डै ३ हजार थाई भाट सहयोग गरेकी छन । संघका प्रेस सल्लाहकार लोकराज अधिकारीको अनुरोधमा थाई नागरिक पिसामाईले नेपाली १० हजार रुपैया संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा पठाएकी हुन । सहयोग रकम संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष लाई हस्तान्तरण गरिएको छ । संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार संगीतकर्मीलाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष शेषले जानकारी दिनु भएको छ । प्रसिद्ध गायक तथा संगीतकार मधुबाबु थापाको निधनका बेला श्रद्धाञ्जली कार्यक्रम, एम्बुलेन्स खर्च र बिद्युतिय शबदाह गृहको खर्च २२ हजार ५ सय कोषबाट ब्यहोरिएको थियो । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।