संगीतकर्मी कल्याणकारी कोषमा साउदीमा रहेका गीतकार खडका द्धारा ५ हजार सहयोग
संगीतकर्मी कल्याणकारी कोषमा गीतकार दिपेन्द्र खडकाले ५ हजार सहयोग गर्नु भएको छ । मोरङ घर भै हाल कामको शिलशिलामा साउदीमा रहनु भएका खडकाले कोषका लागि रकम पठाउनु भएको हो । गीतकार खडकाले पठाएको सहयोग रकम संगीतकार संघ नेपालको कार्यालयमा आयोजीत एक कार्यक्रममा कोषलाई हस्तान्तरण गरिएको छ । गीतकार खडकाले आजै रोयल्टी संकलन समाजको सदस्यता पनि लिनु भएको छ । खडकाको दिप नामक एल्वम सार्बजनिक भएको छ । एल्वम साउदीमै बिमोचन गरिएको थियो । गीतकार खडका नयाँ एल्वमको तयारीमा पनि हुनुहुन्छ । खडकाले कोषमा आफूपनि जोडिन पाएको खुसी ब्यक्त गर्नु भएको छ ।
संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार संगीतकर्मीलाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले स्थापना गरिएको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । पौष सम्मको विबरण अनुसार कल्याणकारी कोषमा ४ लाख १६ हजार ७५५ जम्मा भएको छ । सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । प्रसिद्ध गायक तथा संगीतकार मधुबाबु थापाको निधनका बेला श्रद्धाञ्जली कार्यक्रम, एम्बुलेन्स खर्च र बिद्युतिय शबदाह गृहको खर्च २२ हजार ५ सय कोषबाट ब्यहोरिएको थियो । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।