संगीतकर्मी कल्याणकारी कोष बृद्धिका लागि अष्ट्रेलियामा पहल :गायक रमण रेग्मीले ५० डलर बाट थाले संकलन अभियान
संगीतकर्मी कल्याणकारी कोष बृद्धिका लागि अष्ट्रेलियामा अभियान सुरु भएको छ । न्यू साउथवेल्स निवासी गायक रमण रेग्मीले आफनो तर्फबाट अष्ट्रेलियन ५० डलर कोषका लागि राख्दै अरुलाई पनि अभियानमा सहभागी हुन अनुरोध गर्नु भएको छ । गायक रेग्मीले सामाजिक सञ्जाल मार्फत कोष बृद्धि अभियानमा सक्दो सहयोग गर्न सबैलाई आग्रह गर्दै संकलित रकम पारदर्शी रुपमा संगीतकार संघको कल्याणकारी कोषमा हस्तान्तरण गरिने बताउनु भएको छ । कल्याणकारी कोषको पुष महिना सम्मको सम्पूर्ण विबरण हिजो सार्बजनिक गरिएको थियो । संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारीे छ । हरेक महिनाको १ गते कोषको विवरण सार्बजनिक गर्ने निर्णय अनुसार हिजो ४ लाख १६ हजार ७५५ जम्मा भएको दोश्रो विबरण सार्बजनिक गरिएको हो । कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको संग्तिकार संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । प्रसिद्ध गायक तथा संगीतकार मधुबाबु थापाको निधनका बेला श्रद्धाञ्जली कार्यक्रम, एम्बुलेन्स खर्च र बिद्युतिय शबदाह गृहको खर्च गरी २२ हजार ५ सय कोषबाट ब्यहोरिएको थियो । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।