रोहिणी पुलको शिलान्यास
युवराज कंडेल / तिलोत्तमा
रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाको पूर्वी र देवदह नगरपालिकाको दक्षिणी भूभागलाई जोड्ने रोहिणी खोला पुलको रुपन्देही क्षेत्र नम्बर १ का माननीय सांसद तथा नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले आइतवार एक कार्यक्रम विच शिलान्यास गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असार ३० गते खोलामा पुल बनाउनको लागि नागार्जुन कन्स्ट्रक्सन कम्पनी संग ठेक्का सम्झौता गरे अनुसार बन्न लागेको रोहिणी खोला पुलको शिलान्यास गरिएको हो । देवदह नगरपालिकाको वसन्तपुर र तिलोत्तमा नगरपालिकाको भाटा बजार जोड्ने पुल निर्माणका लागि २०७५ साल फाल्गुन १५ सम्म निर्माण सम्पन्न हुने गरि नागार्जुन कन्स्ट्रक्सन कम्पनीसंग पुल निर्माणको ठेक्का सम्झौता गरिएको छ । निर्माणाधीन रोहिणी पुलको लम्बाई १२० मिटर रहेको रहने र पुल निर्माण संगै ५०० मिटर एप्रोच सडक र २०० मिटर नदि नियन्त्रण पनि गरिने ठेक्का सम्झौता भएको छ । तिलोत्तमा नगरपालिका वार्ड नम्बर १५मा आयोजित शिलान्यास कार्यक्रममा बोल्दै सांसद रज्जाकले सिंचाई, खानेपानी, सडक , पुल, नदि नियन्त्रण जस्ता कार्यहरु जनताका आवस्यकता भएकोले आफु संसद रहेपनि नरहे पनि जनतालाइ सुबिधा पुग्ने स्थानीय विकासका कार्यहरुमा निरन्तर लागि रहने बताए । राजनीतिले विकास प्रभावित हुनु नहुने बताउदै उनले संविधानको पूर्ण कार्यान्वयन नहुदा सम्म देशमा स्थिरता, विकास र सुशासन प्राप्त हुन् कठिन हुने भएकोले देशका सबै वर्ग र समुहको चासोलाई सम्बोधन गरेर संविधानलाई पूर्ण कार्यान्वयनमा लैजान देशका सबै राजनैतिक दलहरू जिम्मेवार ढंगले अघि बढ्नु पर्ने कुरामा जोड दिए । शिलान्यास कार्यक्रममा नेपालि कांग्रेसका जिल्ला सदस्य हरि काफ्ले, नेकपा माओबादी केन्द्रका मेघनाथ पौडेल, तिलोत्तमा नगरपालिका काकार्यकारी अधिकृत राजेन्द्र आचार्य लगायतले बोल्दै पुल निर्माणले नजिक भएर पनि खोलाको कारणले टाढा जस्तै भएका तिलोत्तमा र देवदह नगरपालिकाका गाउँहरुलाई जोड्ने मात्र नभई गौतम बुद्धको मावली देवदहको प्रचार प्रसार र पर्यटन विकासमा मद्धत पुग्ने बताएका थिए । डिभिजन सडक कार्यालय बुटवलका प्रमुख मेघराज मरासिनीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शाखा अधिकृत मुक्ति प्रसाद पाण्डेले गरेका थिए । देवदह र तिलोत्तमा नगरपालिकाका दक्षिण–पूर्वी वस्तीहरुलाई जोड्ने रोहिणी पुलको लम्बाई १२० मिटर रहेको रहने र कुनै आर्थिक र भौतिक अवरोध नआएमा ३० महिना भित्र पुल निर्माण गरि हस्तान्तरण गरिसक्ने नागार्जुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक विष्णु फुयाल बताउछन् । सडक डिभिजन कार्यालय बुटवलका अनुसार २०७५ साल फाल्गुन १५ सम्म निर्माण सम्पन्न हुने गरि नागार्जुन कन्स्ट्रक्सन कम्पनीसंग पुल निर्माणको ठेक्का सम्झौता गरिएको छ । अहिले रोहिणी खोला नजिकको भाटा गाउँ देखि बुटवल सम्म नगर बस संचालन भैरहेको भए पनि खोला पूर्वका बासिन्दाहरु बुटवल र भैरहवा जानु परेमा सूर्यपुरा सम्मपुगेर गाडी चढेर खैरेनी बजारमा गई गाडी बदलेर बुटवल पुग्नुपर्ने बाध्यता रहेकोमा पुल बनेपछि यो बाध्यता हट्ने देखिएको छ । बुटवल उप महानगरपालिकाको योगीकुटी देखि भाटा सम्म तिलोत्तमा चक्रपथको नाममा सडक निर्माण भैसकेकोले रोहिणी पुलनिर्माण भएपछि यो सडक हुदै अहिले प्रयोग भैरहेका बाटो बाट भन्दा छिटो र सुरक्षित किसिमले धकधई र परासीबजार पुग्न सकिने बताउछन भाटाका सामाजिक कार्यकर्ता नर बहादुर थापा । थापाले भने जस्तै यो पुलले बुटवललाई रुपन्देही जिल्लाका पूर्वी क्षेत्रका वस्तीहरु र परासिलाई जोड्ने मात्र नभई बुद्ध मावली देवदहलाई भैरहवा र लुम्बिनीसंग नजिक ल्याउने समेत देखिन्छ । पुल निर्माण संगै ५०० मिटर एप्रोच सडक र २०० मिटर नदि नियन्त्रण कार्यको पनि ठेक्का सम्झौतामा समावेश गरिएको छ । वर्षेनी नदि कटानले नदि किनारका खेतहरु कटानमा परिरहेको अवस्थामा नदि नियन्त्रण र सडक निर्माण कार्य हुदा नदि कटान नियन्त्रण भै खेत र वस्तीहरु सुरक्षित राख्न मद्दत पुग्ने देखिन्छ ।