कल्याणकारी कोषमा गायीका अंकिता मगरको सहयोग :- म धेरै पैसा सहयोग गर्न त सक्दिन थोरै भए पनि स्विकार गर्दिनु होला
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषमा रोल्पा घर भै हाल पोर्चुगल बस्ने नव गायीका अंकिता मगरले ४ हजार सहयोग गर्नु भएको छ । अंकिताले फेसबुकमा भन्नु भयो – म धेरै पैसा सहयोग गर्न त सक्दिन थोरै भए पनि स्विकार गर्दिनु होला । आफू संगीतको बिद्यार्थी भएकोले पनि यो अभियानमा धेर थोर सहयोग संगै जोडिन चाहेको अंकिताको भनाई छ । अंकिताका केहि गीत रेकर्ड भैसकेका छन । संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको छ । हरेक महिनाको १ गते कोषको विवरण सार्बजनिक गर्ने निर्णय अनुसार संघले पौष १ गते पहिलो विवरण सार्बजनिक गरिसकेको छ । पौष महिनाको विवरण अनुसार कोषमा २ लाख ६६ हजार ८०७ रुपैया थपिएको छ । नेपाली संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने महान उद्धेश्यले स्थापना गरिएको कोषमा गायक हेमन्त शर्माले १० हजार ,अमेरिकामा बस्दै आएका गायक तथा संगीतकार किशोर शिवाकोटीले ५० हजार, गायक तथा समाजसेबी गम्बु शेर्पाले २१ हजार , जर्मनीमा रहेका गीतकार लब थापाले २२ हजार २ सय २२ कोरीया बस्ने संगीतकार डि आर अटु ले १२ हजार , इजरायल बस्ने इन्दिरा केसीले १० हजार इजरायलमै बस्ने अनिता योञ्जनले १० हजार बेलायत बस्ने गीतकार संगीता बायुङ राईले ११ हजार गीतकार तथा रोयल्टी संकलन समाजका उपाध्यक्ष रमेश बिजीले १० हजार , गायक तथा संगीतकार रमेश राज भटटराईले ५ हजार दिने घोषणा गर्नु भएको छ । कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । क्यान्सर पीडित संगीतकार निरज कुमारलाई २० हजार , प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि नगद १५ हजार १ सय ११ र एक बर्षको औषधी खर्च झण्डै १ लाख २० हजार सहयोग जुटाउने प्रतिबद्धता ब्यक्त गरेको छ । त्यसैगरी क्यान्सर पीडित संगीतकार निरज कुमारलाई औाषधि बापतको २० हजार मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई दश हजार एक रुपैयाँ सहयोग हस्तान्तरण भैसकेको छ ।