नेपाली रंगमंच को इतिहास मा सय दिन मनाउन सफल महाकवि लक्ष्मि प्रसाद देवकोटा द्धारा रचित खण्ड काव्य मुना मदन गीति नाटक को बिशेष प्रदर्शन
महाकबि लक्ष्मी प्रसाद देबकोटाको अमर कृति मुनामदनलाई नाटकका रुपमा राजधानीमा बिशेष प्रदर्शन गरिएको छ । सांस्कृतिक संस्थान जमलमा आज सयौ दर्शकका माझ नाटक मञ्चन गरिएको हो ।
हातका मैला सुनका थैला के गर्नु धनले
साग र सिस्नु खाएको बेश आनन्दी मनले
दर्शकदीर्घामा रहनु भएका रक्षामन्त्री बालकृष्ण खाँण ,संस्कृति मन्त्रालयका सचिब भरतमणि सुबेदी सहित उपस्थित सबै दर्शकको ध्यान, मुना र मदनको यो गीति सम्बादले मञ्चमा तानिरहेको थियो ।
महाकबि लक्ष्मी प्रसाद देवकोटाको अमर कृति मुना मदनका प्राय हरफ संग परिचित पाठकलाई अभिनय संगैको गीति सम्बादले हृदयको तार हल्लाइ रहेका बेला मदनको भुमिकामा रहेका अभिनेता प्रभाकर शर्मा भोट जाँदै गर्दा बिरामी परेको अबस्थामा मञ्चमा छटपटिएको लामो तर जिबन्त दृश्यले दर्शकको मन मात्र छोएन र प्राय सबैको आँखै रसायो ।
नछोड मेरा हे साथी भाई बनमा मलाई
काग र गिद्ध हरुको पापी शिकार बनाई
झण्डै ७ सय दर्शक क्षमता भएको नाचघरको प्रेक्षालयमा बाल्कोनी बाहेक पुरै भरिका दर्शक मध्य एक जना बालक जो आँशु खसाउदै थिए यहि दृश्यमा । तर आठ बर्षका ति बालक नाटकको दृश्यले रोएको भन्न अफठेरो मान्दै थिए उनि ।झण्डै पौने २ घन्टाको यो नाटक एकिकृत नेपाली समाज हङकङ्गको आयोजनामा डिसेम्बर २५ देखी २७ तारिख सम्म हङकङ्गमा मञ्चन गरिदै छ । त्यसैको तयारी स्वरुप पनि मुना मदन को आज राजधानीमा बिशेष प्रदर्शन गरिएको हो ।
प्रभाकर शर्माले निर्देशन गर्नु भएको यो नाटकमा मुनाको भुमिकामा सारदा सिलवाल,आमाको भुमिकामा माया थापा, नैनीको भुमिकामा अन्जु रन्जित, भोटेको भुमिकामा, केशबराज राई र रेशम पुन तथा मदनका भोट जाने साथीहरुको भुमिकामा मनोज जोशी , रमेश मटटारे र श्रीहरी फूयालले अभिनय गर्नु भएको छ । नाटक मञ्चनका लागि कलाकारको टोली २२ गते हङकङ्ग तर्फ जाने भएको छ ।