संगीतकर्मी कल्याणकारी कोषलाई लोकप्रीय गायक हेमन्त शर्माले १० हजार दिने
संगीतकार संघ नेपालले स्थापना गरेको संगीतकर्मी कल्याणकारी कोषलाई लोकप्रीय गायक हेमन्त शर्माले १० हजार रुपैया दिने हुनुभएको छ ।
नेपाली संगीतकर्मीको हितका लागि स्थापना गरेको यो कोष बृद्धिका लागि आफनो तर्फबाट पनि रकम थप्न पाएकोमा गायक हेमन्त शर्माले प्रशन्नता ब्यक्त गर्नु भएको छ । प्रस्तोता समाज नेपालका अध्यक्ष समेत रहेका शर्माले नेपाली संगीतकर्मी हरुका लागि मर्दा पर्दा सहयोग गर्ने महान उद्धेश्यले स्थापना गरिएको कोषको सहि सदुपयोग हुने र संगीतकर्मी लाभान्वित हुनेमा आफू बिश्वस्त रहेको बताउनु भयो । उहाँले कोष बृद्धिमा गच्छे अनुसार सहयोग गर्न सबैलाई आग्रह पनि गर्नु भएको छ ।
संगीतकर्मी लाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले कोष स्थापना गरिएको हो । गत तिहारमा देउसी भैलो कार्यक्रमबाट संगीतकार संघले आफ्नो सम्पूर्ण खर्च कटाएर ८ लाख ४ हजार रुपैयाँ सिटजन्स बैंकमा जम्मा गरेको छ । संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको छ । यस अघि म्यूजिक संसार नेपालले कोषमा १० हजार, र अमेरिकामा रहेका स्रष्टा किशोर सिवाकोटी र उहाँका सहकर्मीहरुले ५० हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । त्यसैगरी संगीतकार विपिन आचार्य र गायीका माण्डबी त्रिपाठीको जोडीले १० हजार र गायीका बिन्दु परियार र संगीत संयोजक सुदीप सागरको जोडीले १० हजार घोषणा गर्नु भएको छ । भने कतारमा कार्यरत हातेमालो संस्थाका आजीवन सदस्य ईश्वर काफ्लेले १० हजार ३३ रुपैया, गीतकार प्रकाश सुवेदीले ५ हजार रुपैयाँ संघको कोषमा हस्तान्तरण गरिसक्नु भएको संघका प्रेस सल्लाहकार लोकराज अधिकारीले जानकारी दिनु भएको ।
कल्ययाणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ । मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई संगीतकार संघको तर्फबाट दश हजार एक रुपैयाँ सहयोग हस्तारण भैसकेको छ । यसभन्दाअघि पनि संघले क्यान्सर पीडित संगीतकार निरज कुमारलाई सहयोग गरिसकेको छ । केहि दिनमै पुराना प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि संघले कोषबाट सक्दो सहयोग गर्ने तयारी गरेको छ ।