कल्याणकारी कोषमा गायीका बिन्दु परियार र संगीत संयोजक सुदीप सागरले १० हजार रुपैया दिने
संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा गायीका बिन्दु परियार र संगीत संयोजक सुदीप सागरले १० हजार रुपैया दिने हुनुभएको छ ।
यो जोडीले नेपाली संगीतकर्मीको हितका लागि स्थापना गरेको यो कोष बृद्धिका लागि आफनो तर्फबाट पनि रकम थप्न पाएकोमा प्रशन्नता ब्यक्त गरेको छ । कोष स्थापनाका लागि खेलिएको देउसी भैलोमा पनि निरन्तर सहभागी भएको यो जोडीको घोषणा कोष बृद्धिका लागि अरु स्रष्टालाई पनि पे्ररक भएको संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेषले प्रतिकृया दिनु भएको छ । गायीका परियारले झण्डै २ सय गीतमा स्वर दिइ सक्नु भएको छ । त्यसैगरी सुदीपले झण्डै ६ सय गीतको संगीत संयोजन गरीसक्नु भएको छ । यो जोडी छिटटै एकल एल्वमको तयारीमा रहेको छ । बिन्दुको एकल स्वर सुदीपको एकल संगीत संयोजन संगीतकार सुरेश अधिकारीको एकल संगीत र गीतकार लोकराज अधिकारीको एकल शब्द रहने गरी तयारी भैरहेको जानकारी यो जोडीले दिएको छ
संगीतकर्मी लाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले कोष स्थापना गरिएको हो । गत तिहारमा देउसी भैलो कार्यक्रमबाट संगीतकार संघले आफ्नो सम्पूर्ण खर्च कटाएर ८ लाख ४ हजार रुपैयाँ सिटजन्स बैंकमा जम्मा गरेको छ । संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको छ । यस अघि म्यूजिक संसार नेपालले कोषमा १० हजार, र अमेरिकामा रहेका स्रष्टा किशोर सिवाकोटी र उहाँका सहकर्मीहरुले ५० हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । भने कतारमा कार्यरत हातेमालो संस्थाका आजीवन सदस्य ईश्वर काफ्लेले १० हजार ३३ रुपैया, गीतकार प्रकाश सुवेदीले ५ हजार रुपैयाँ संघको कोषमा हस्तान्तरण गरिसक्नु भएको छ ।
कल्ययाणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च भैरहेको छ । मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई संगीतकार संघको तर्फबाट दश हजार एक रुपैयाँ सहयोग हस्तारण भैसकेको छ । यसभन्दाअघि पनि संघले क्यान्सर पीडित संगीतकार निरज कुमारलाई सहयोग गरिसकेको छ । केहि दिनमै पुराना प्रसिद्ध लोकगायक तथा अभिनेताको बुद्धिकृष्ण लामिछानेलाई उपचारका लागि संघले कोषबाट सक्दो सहयोग गर्ने तयारी गरेको छ ।