संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा म्यूजिक संसारले १० हजार थप्ने
संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा म्यूजिक संसार नेपाल प्रालीले १० हजार सहयोग गर्ने भएको छ । संस्थाको आज बसेको संस्थापकहरुको बैठकले तत्कालका लागि १० हजार रकम कल्याणकारी कोषमा जम्मा गर्ने र बिस्तारै सहयोग रकम बढाउने निर्णय गरेको हो । नेपाली गीत संगीतको प्रर्बद्धन र अनलाइन बिक्री समेत गर्ने उद्धेश्यले संचालन गरिएको म्यूजिक संसार नेपालले गीत उपलब्ध गराउने श्रष्टालाई आम्दानी भए पछि कटटा हुने गरी गीत संगीतको अग्रीम रोयल्टी समेत दिदै आएको छ । म्यूजिक संसार नेपालले संगीत सम्बन्धी अनलाइन न्यूज पोर्टल पनि संचालन गर्दै आएको छ ।
संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार उक्त रकम सोमबार सम्म संघलाई उपलब्ध गराइने छ । संगीतकर्मी लाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले कोष स्थापना गरिएको हो । गत तिहारमा देउसी भैलो कार्यक्रमबाट संगीतकार संघले आफ्नो सम्पूर्ण खर्च कटाएर ८ लाख ४ हजार रुपैयाँ सिटजन्स बैंकमा जम्मा गरेको छ । संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी छ । हिजो मात्र अमेरिकामा रहेका गायक तथा संगीतकार किशोर सिवाकोटी र उहाँका साथीहरुले कोषमा ५० हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ । यस अघि कतारमा कार्यरत हातेमालो संस्थाका आजीवन सदस्य ईश्वर काफ्लेले १० हजार ३३ रुपैयाँ संघलाई हस्तान्तरण गर्नु भएको थियो । भने गीतकार प्रकाश सुवेदीबाट ५ हजार रुपैयाँ संघको कोषमा जम्मा भएको थियो । सहयोग आउने क्रम अझै जारी रहेको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । शेषले कल््याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च गरेको जानकारी दिनु भयो । मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई संगीतकार संघको तर्फबाट दश हजार एक रुपैयाँ सहयोग हस्तारण भैसकेको छ । यसभन्दाअघि पनि संघले क्यान्सर पीडित संगीतकार निरज कुमारलाई सहयोग गरिसकेको छ ।