कल्याणकारी कोषमा अमेरिकामा रहेका स्रष्टा किशोर सिवाकोटी र उहाँका सहकर्मीहरुको ५० हजार सहयोग
संगीतकार संघ नेपालले स्थापना गरेको कल्याणकारी कोषमा अमेरिकामा रहेका स्रष्टा किशोर सिवाकोटी र उहाँका सहकर्मीहरुले ५० हजार सहयोग गर्ने घोषणा गर्नु भएको छ ।
संगीतकार संघका प्रेस सल्लाहकार लोकराज अधिकारीका अनुसार उक्त रकम केहि दिनमै गायक सिवाकोटीका मित रेर्कडिष्ट किशोर थापाको उपस्थितिमा कोषमा हस्तान्तरण गरिने छ ।
शिवाकोटी आफैमा राम्रो गायक संगीतकार र रचनाकार हुनुहुन्छ । केहि समय अगाडी शिवाकोटीको ट्रिब्युट नामक एकल एल्बम सार्बजनिक भएको थियो । आशा भोस्ले र शिवाकोटीको स्वरमा रहेको गुराँस फूल्यो बनैमा बोलको गीत अहिले चर्चामा छ । संगीतकर्मी लाई मर्दा पर्दा सहयोग गर्ने उद्धेश्यले कोष स्थापना गरिएको हो । गत तिहारमा देउसी भैलो कार्यक्रमबाट संगीतकार संघले आफ्नो सम्पूर्ण खर्च कटाएर ८ लाख ४ हजार रुपैयाँ सिटजन्स बैंकमा जम्मा गरेको छ । संगीतकार संघको कल्याणकारी कोषमा देश विदेशबाट सहयोग रकमहरु जम्मा हुने क्रम जारी रहेको छ । केही दिन पहिला मात्र गीतकार प्रकाश सुवेदीबाट ५ हजार रुपैयाँ संघको कोषमा जम्मा भएको थियो भने गत सोमबार कतारमा कार्यरत हातेमालो संस्थाका आजीवन सदस्य ईश्वर काफ्लेले १० हजार ३३ रुपैयाँ संघलाई हस्तान्तरण गर्नु भएको थियो । सहयोग आउने क्रम अझै जारी रहेको संघका अध्यक्ष लक्ष्मण शेषले जानकारी दिनु भएको छ । उआले सबैप्रति आभार ब्यक्त गर्नु भएको छ । शेषले कल्याणकारी कोषमा सहयोग आउने क्रमसँगै पीडित संगीतकर्मीका लागि पनि खर्च गरेको जानकारी दिनु भयो । मिर्गौला पीडित संगीत व्यवसायी शिव पौडेललाई संगीतकार संघको तर्फबाट दश हजार एक रुपैयाँ सहयोग हस्तारण भैसकेको छ । यसभन्दाअघि पनि संघले क्यान्सर पीडित संगीतकार निरज कुमारलाई सहयोग गरिसकेको छ ।