मनोचिकित्सा र मानसिक स्वास्थ्य विभाग, आइ.ओ.एम. त्रि.वि.को आयोजनामा मनोचिकित्सा एवं मानसिक स्वास्थ्यको २ दिने पाँचौ अन्तर्राष्ट्रिय सेमिनार काठमाडौंमा सम्पन्न भएको छ । उत्तर र दक्षिणका राष्ट्रहरुको मानसिक स्वास्थ्यको आवश्यकता, चुनौति र यसको समाधान संयुक्तरुपमा खोजी गर्दैै एवं मनोशारीरिक र अन्तरसांस्कृतिक विषयमा विभिन्न अनुसन्धान र बाल दुव्र्यवहारका विषयमा छलफल र अनुभवहरु आदान प्रदान गर्दै सेमिनार सम्पन्न भएको हो ।
कार्यक्रममा नर्वे, हल्याण्ड र नेपालका अनुसन्धानकर्ताहरुले विभिन्न विषयमा आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । नेपालको मानसिक स्वास्थ्यको वर्तमान आवश्यकता र चुनौतिका विषयमा प्रा.डा. सरोज प्रसाद ओझाले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै मानसिक स्वास्थ्य क्षेत्रको विकासका लागि राज्य, मानसिक स्वास्थ्य कर्मी, संघ संस्था र जनस्तरबाट समेत पहल गर्नुपर्ने बताउनु भयो ।
यसैगरी ओस्लो विश्वविद्यालयका सह–प्राध्यापक डा. सुरज थापाले नेपाल र नर्वे विच मानसिक स्वास्थ्यको अनुसन्धान, शिक्षण र सेवामा सहकार्यको सम्भावना र आवश्यकता बारे प्रकाश पार्नु भएको थियो । प्रत्येक वर्ष गरिदै आएको यस्तो कार्यक्रमले मानसिक स्वास्थ्य कर्मीको क्षमता विकासमा महत्वपूर्ण भूमिका खेल्ने र सर्वसाधारणहरुलाई गुणात्मक सेवा प्रदान गर्न मद्धत मिल्ने आइ.ओ.एम. का कार्यकारी डीन विमल सिन्हाले बताउनुभयो । कार्यक्रममा विभिन्न देशका मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत मनोचिकित्सक, मनोविद्, मनोपरामर्शदाता, अनुसन्धानकर्ता एवं स्वास्थ्यकर्मी र पत्रकार लगायत १०० भन्दा बढीको उपस्थिति रहेको थियो । कार्यक्रम ओस्लो विश्वविद्यालय र साइक्याट्रिक्स् एसोसिएशन नर्वेको सहकार्यमा भएको थियो । – गोपाल ढकाल (मनोविद्)