महाअभियोग प्रस्तावबारे काँग्रेसमा असन्तुष्टि
व्यवस्थापिका–संसद्को ठूलो दल नेपाली काँग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाअभियोगको प्रस्ताव दर्ता गराएको भन्दै असन्तुष्टि जनाएको छ ।
सत्तारुढ प्रमुख घटक दलसँग छलफल नै नगरी एकलौटी ढङ्गवाट महाअभियोग प्रस्ताव ल्याइएको भन्दै असन्तुष्ट काँग्रेसले उक्त प्रस्तावबारे केन्द्रीय समितिमा व्यापक छलफल गरी आवश्यक निर्णय लिने भएको छ ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आजदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बोल्ने अधिकांश सदस्यहरुले सत्ता साझेदार ठूलो दलसँग छलफल नगरी एक्कासि महाअभियोग प्रस्ताव ल्याइएकोमा आपत्ति जनाउँदै नेतृत्वसँग जवाफ माग गरेका छन् ।
यद्यपि, उक्त विषय सार्वभौम संसद्मा प्रवेश गरिसकेकाले त्यसबारे विवेकपूर्ण निर्णय लिने काँग्रेसले जनाएको छ ।