महिला क्रिकेट टोलीलाई जनही २५ हजार दिइने
हङकङमा भएको आइसिसी महिला विश्वकप क्रिकेटको एसियाली छनोटमा दोस्रो स्थान हासिल गरेको नेपाली महिला क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही रु २५ हजार दिने घोषणा गरेको छ ।
युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले टोलीलाई बधाइ ज्ञापन गर्दै प्रोत्साहन स्वरुप उक्त रकम दिने घोषणा गर्नुभएको हो ।
उहाँले एसिया कप क्रिकेट प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरेमा अझ सम्मान गर्ने प्रतिबद्वतासमेत व्यक्त गर्नुभयो ।
विश्वकप क्रिकेटको अन्तिम छनोट खेल्ने अवसर नपाए पनि नेपाल एसिया कप क्रिकेटका लागि भने छनोट भएको थियो । डबल राउन्ड रोबिन लिगका आधारमा खेलाइएको उक्त प्रतियोगितामा नेपाली महिला टोलीले दोस्रो स्थान हात पार्दै एसिया कपमा स्थान पक्का बनाएको हो ।
उक्त प्रतियोगितामा ६ खेल खेलेको नेपालले तीन खेलमा जित तथा तीन खेलमा हार व्यहोरेको थियो ।