गीतकार योगेन्द्रमणि पक्राउ
गीतकार सङ्घका अध्यक्ष योगेन्द्रमणि दाहाल रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका छन् ।
उनलाई महानगरीय प्रहरी परिसर, ललितपुरको टोलीले मङ्गलबार बालुवाटारबाट पक्राउ गरेको हो । उनलाई उनी कार्यरत संस्था नेपाल बिटुमिन एन्ड ब्यारेल लिमिटेडको रु १२ करोड ३५ लाख हिनामिना गरेको आरोप लागेकाले पक्राउ गरिएको ललितपुरका प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।
कम्पनीबाट परेको उजुरीका आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
गीतकार दाहाल विसं २०४६ देखि अमलेखगन्जमा रहेको उक्त अलकत्रा कम्पनीको लेखा अधिकृतका रुपमा कार्यरत थिए । त्यहाँ रहँदा रकम हिनामिना भएको सूचना पाएपछि कम्पनीले उनीमाथि छानबिन अघि बढाएको थियो र दसैँअघि प्रहरीमा उजुरी गरेको थियो ।