आज महानवमी
आज महानवमी पर्व हर्षोल्लासका साथ दुर्गा भवानीको पूजाआजा गरी बलि दिएर मनाइँदैछ ।
आज दसैँघर र कोतलगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती एवम् देवीस्तोत्र पाठ गरिन्छ ।
मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई वध गरेकाले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ ।
आज बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइन्छ ।
हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि आजैको दिन खुल्ने गर्दछ ।