सडक दुर्घटना नियमित घटना जस्तै
सडक यातायात नेपालीलाई विकल्पहिन विकल्प हो । जलमार्गको सम्भावना नभएको, रेल मार्गको विस्तार भै नसकेको र हवाई मार्ग अधिकांश नेपालीको पहुंच बाहिर रहेकाले सडक यातायात एक मात्र भरपर्दो यात्राको माध्यम हो । सडक यातायात असुरक्षित बन्दै गईरहेको छ, सडक दुर्घटना र दुर्घटनामा ज्यान गुमाउनेहरुको संख्या ह्वात्तै बढेको छ । यात्रुहरु अपांङ्ग भएर बांच्न बाध्य छन, धनको क्षति त्यत्तिकै छ । दुर्घटनाले व्यक्ति, परिवार, समाज तथा देशलाई ठुलो क्षति भईरहेको छ ।
सडक दुर्घटना अहिले विश्व भरिका मानिसको मृत्युको मुख्य कारण बनेको छ । बिस्व बैंक द्वारा प्रकाशित २०१५ को तथ्यांक अनुसार संसारमा हरेक बर्ष औसत १२ लाख ५० हजारको मृत्यु सडक दुर्घटना बाट हुने गर्छ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार सडक दुर्घटनाबाट औसतमा दैनिक ५ जना नेपालीले ज्यान गुमाउँछन्, भने बार्षिक १८ सयको मृत्यु र १२ हजार घाइते हुन्छन्। सडक दुर्घटना हुनुका प्रमुख कारणहरुमा तिब्र गति, माधकपदार्थ सेबन, बिना हेल्मेट सवार, सिट बेल्ट नबाँध्नु, सडकको अबस्था, चालकको अनुभब, सवारी चलाउंदा फोनमा कुराकानी गर्नु आदि हुन् । नेपाल जस्ता अविकसित देशहरुमामा हुने अधिकांश दुर्घटना सडकको कम्जोर अबस्था, पैदैल यात्री, कम्जोर ट्राफिक नियम, क्षेमता भन्दा बढी यात्रु, सवारी साधनको अबस्था, अदक्ष चालक जस्ता कारण रहेका छन ।
त्यसै गरि गाउँमा सडक खन्नु र सवारी गुडाउनुलाई गाउँलेहरु गर्व मान्छन् । सवारीमा यात्रा गर्ने सपनालाई साकार पार्न सबै मिलेर सडक त खन्छन तर सवारी गुडाउनका लागि उपयुक्त सडक बन्यो कि बनेन त्यसबारे परिक्षण नै नगरी देशका अधिकांश पहाडी तथा ग्रामिण क्षेत्रमा स्थानिय श्रोत साधनबाट सडक विस्तार गरी सवारी कुदाउने गरेका छन् जुन दुर्घटनाको प्रमुख कारणका रुपमा देखिएको छ । तीव्र गतिमा सवारी चलाउने, अनावश्यक प्रतिष्पर्धा, प्राविधिक तथा यान्त्रिक खरावी भएको सवारी चलाउने, क्षमता भन्दा बढी यात्रु चढाउने, जोखिम मोलेर नयां र अप्ठ्यारो सडकमा सवारी चलाउने, हेलचेक्र्याई तथा रिसाएर सवारी चलाउने, कम उमेरमा ठुला सवारी चलाउनु, सडक प्रयोगबारे ऐन कानुन बारे चेतना नहुनु दुर्घटनाका अन्य कारणहरु हुन् ।
पुराना र पाका चालकहरु सुरक्षित भविश्य र राम्रो ज्यालाको खोजीमा खाडी मुलुक तर्फ लर्को लागेर जाने गरेका छन् । अहिले नयां चालकहरुको प्रवेश कार्यथलोमा बढेको छ । अहिलेका चालकहरु प्राय युवा भएकाले पनि दुर्घटना बढेको छ ।
नेपालमा दैनिक जसो सडक दुर्घटना भै रहेकका छन् । यसरि भइरहने दुर्घटनाका खबरले यात्रा गर्नु पर्ने मानिसका आफन्तको मन भत्भती पोल्ने गर्छ । चाडवाडको बेला अरु समय भन्दा बढी मानिसको ओहोर दोहोर हुने गर्दछ । यति नै बेला सडक दुर्घटना बढी हुने गर्दछ । धेरै जनालाई लाग्छ, नजाउँ भने वर्ष दिनको चाड, जाउँ भने बाँचिन्छ भन्ने ग्यारेन्टी छैन । काठमाडौँ आवत जावत गर्ने राजमार्ग नभएर कालमार्गका रुपमा चिनिएको त्रिशूलीको किनारामा यात्रा गर्ने हरेक नागरिकको मनमा यो प्रश्न तेर्सिने गरेको छ ।
महान् चाड दशैं, तिहार, छठ नजिकिंदै छ, यतिबेला कसैको पनि मृत्यु र दुर्घटनाका समाचार सुन्नु र भोग्नु नपरे हुने थियो । तर के गर्नु मृत्यु र दुर्घटनाका समाचार कति सुन्नु र भोग्नुपर्ने ! म आफु परदेशमा छु । प्रतेक वर्ष, वर्ष दिनको चाड मान्न आफ्ना आमाबाबु भेट्न, सँगै चाड मनाउन चाहेर पनि सकिरहेको छैन । तर नेपालको विभिन्न ठाउँमा रहेका नेपाली दाजुभाई दिदि बहिनिहरु वर्ष दिनको चाड मान्न आफ्ना आमाबाबु भेट्न, सँगै चाड मनाउन यात्रा गर्नै पर्ने हुन्छ । आफ्ना निजी सवारी साधन, थोरै यात्रु र आफ्नो गतिमा हुँइक्याउने अलि सम्पन्न र अति सम्पन्नहरु यही सडकमा दुःखद समाचार बन्न पुग्छन । सर्बसाधारण नेपाली गुन्द्रुक जसरी छत माथि र तल खाँदिएर हिँड्न र तीव्र गतिमा गुडाउने सन्काहा चालकको हातमा आफ्नो ज्यान सुम्पन बाध्य छन ।
हामी कहाँ एउटा चलन छ दशैं हैन दशा । यसलाइ बिभिन्न कारणले भनिएको हो । खासगरी मध्यम बर्ग र न्यून बर्गका मानिसको आर्थिक जटिलताका कारण यसो भनियको हो । अहिले आएर त्रासदीपुर्ण यात्राका कारण पनि यो उखान सत्य जस्तो भएको छ । यस्तो लाग्दछ नेपालमा हरेक क्षण मानिसहरु मृत्युको सन्त्रासमा बसेर यात्रा गर्नु परिरहेको छ । अझ चालक केही कारणले यात्रुसँग रिसायो भने त सबै यात्रुहरुको मुटु ढुकढुक गर्न थाल्छ, कतिबेला कहाँ लगेर खसाल्छ भनेर ।
दुर्घटना जहाँ पनि हुन्छ । माथि उल्लेख गरेको तथ्याङ्कले पनि सडक दुर्घटनाको बिस्वब्यापी दुरावस्था प्रस्ट हुन्छ । तर नेपालमा नियति/भवितव्य भन्दा पनि चरम लापरबाहीको कारण धेरै दुर्घटना हुने गरेका छन् । सडक यात्रा मात्र नभएर हवाई यात्रा गर्नेको अवस्था झन् कहालीलाग्दो छ । न सडक सुरक्षित छ न आकाश सुरक्षित छ । तर यसो भनेर यात्रा नगर्ने पनि कुरा भएन । उही यक्जना ब्यंग्यकारले भने जस्तो “केहि नहुने जेल केहि पनी हुन्न ” भनेर नै यात्रा गर्नु पर्दछ ।
आफ्नो निजी सवारीसाधनमा यात्रा गर्ने भीआईपीको काल बनेको यो सडक सर्वसाधारणका लागि त पाइला–पाइलामा काल हो भन्दा फरक पर्दैन । यो आजको समस्या होइन, सरकारले चाहने हो र समयमै बुद्धि पुर्याउने हो भने गर्न सकिने धेरै छ । तर, यहाँ त ठूलाबडा मरेपछि चर्चा हुन्छ, सर्वसाधारण मर्दा चरा–मुसा मरेजत्तिको पनि हुँदैन । देशले चिनेको लब्धप्रतिष्ठित व्यक्ति पूर्वगृहमन्त्री माधव घिमिरेको सिंगो परिवार निल्ने त्रिशूली नदीमा दुर्घटना रोकथाम गर्ने दीर्घकालीन तारजाली लगाउनसमेत सरकारले सक्दैन । अनि दिनैपिच्छे नागरिक त्रिशूलीमा बेपत्ता हुन्छन्, कत्तिको शवसम्म भेटिएला । कत्तिको त त्यही पनि भेटिँदैन । आखिर यो नियत कहिलेसम्म भोग्नुपर्ने नेपाली जनताले ?
मानिस जन्मे पछि अबस्य मृत्यु हुन्छ तर यो सत्यकुरा नै सबभन्दा नमिठो र डरलाग्दो हुन्छ, पीडादायी हुन्छ । मानिसको मृत्यु विभिन्न कारणले हुन्छ । हरेक दिन, हरेक क्षण दुर्घटना, हत्या हिंसा र मृत्युका समाचार आइरहेका हुन्छन । नेपालको परिप्रेक्षमा अनेकन् त्रासका कारण यात्रा गर्नु परिरहेको छ । यात्रामा निस्कँदा गन्तव्यमा पुगिन्छ कि पुगिँदैन, पुगेपछि सकुशल फर्किन्छ कि फर्किंदैन भन्ने धुकचुकसाथ यात्रा गर्नुपरिरहेको हुन्छ ।
सडक दुर्घटना हुनुमा प्रतिशतको मात्रा फरक हुनसक्ला तर दोष सबै पक्षको छ । कुनै एक पक्षलाई मात्र दोष लगाएर आफु पन्छिन खोज्नु त्यति उप्युक्त देखिन्न । सार्वजनिक सवारी उपभोक्ता, पैदल यात्री तथा सर्वसाधारणले लगाउने आरोपलाई अन्यथा मान्न नसकिएला तर भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग, सडक विभाग, ट्राफिक प्रहरी, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, जिल्ला विकास समिति, गाउं विकास समिति, यातायात व्यवसायी संघ तथा महासंघहरु, यातायात श्रमिक संगठनहरु तथा राजनीतिक दलहरु सबैले जिम्मवारी लिनु पर्छ, यात्रा सुरक्षित हुनुपर्छ ।
सुरेन्द्र रेग्मी ( हाल टेक्सास, अमेरिका)