हामी सक्छौं, हामी गर्छौं विकास भनेको जनताको स्वाभिमान र जागरणको जगमा मात्र सम्भव छ ।

– लीलामणि पौड्याल /

वाग्मती सफाइ महाअभियान एउटा समृद्ध नेपाल नेपालीले बनाउने परिकल्पनाको जगमा सुरु भएको हो, ०६९ मंसिरमा । सरकारले नयाँ नेपालको निर्माण अभियानका रूपमा १० लाख स्वयंसेवक परिचालन गर्ने एउटा कार्यविधि सार्वजनिक गर्‍यो । नयाँ नेपाल निर्माण कोषमा मन्त्रिपरिषद्का सदस्य र सचिवहरूले ३ देखि १५ दिनसम्मको तलब जम्मा गरे । १० लाख स्वयंसेवक परिचालन गर्न जिल्ला तहसम्म संयन्त्रहरू बनाइए ।19092016052933lmpc-1000x0

त्यसको सुरुआत काठमाडौँमा प्रधानमन्त्रीले महानगरपालिका सरसफाइबाट गर्ने तय भयो । १९ माघ ०६९ मा प्रधानमन्त्री बाबुराम भट्टराईको अगुवाइ र काठमाडौँ महानगरपालिकाको व्यवस्थापनमा तीलगंगामा वाग्मती सरसफाइबाट अभियान सुरु गरियो । यो अभियानलाई सफलतापूर्वक सञ्चालन गरेपछि राजधानीबाहिर लैजाने सोच बनाइएको थियो ।

स्वयंसेवा अभियान केवल सरसफाइ मात्र नभएर एक गाउँ एक पोखरी निर्माण, स्थानीयतहका विकास निर्माण र सम्पदा संरक्षण, दाइजो, बोक्सीजस्ता सामाजिक विकृतिविरुद्धका अभियान, साक्षरता कार्यक्रम, भ्रष्टाचारविरुद्धका अभियान, सेवाग्राहीलाई सुलभ सेवा दिने, कृषि, वन तथा अन्य स्रोतको प्रयोगबाट रोजगारी तथा स्वरोजगारसम्बन्धी कार्यक्रम सञ्चालन गरेर एउटा जागरण र विकासको लहर ल्याउने परिकल्पनामा आधारित थियो । तर, चरम राजनीतिक संकट र दलहरूसँग सरकारको पानी बाराबारको अवस्था, संवैधानिक शून्यताका कारण बजेट, नीति, कार्यक्रम केही नभएको अवस्था र चालू खर्च तथा विगतका योजना मात्रैमा खर्च गर्न पाउने गरी तीन–तीन महिनामा राष्ट्रपतिबाट अध्यादेश जारी गरेर सरकार चल्नुपरेको अवस्था थियो । यस्तो परिवेशमा सुरु गरिएको यो अभियान काठमाडौँ महानगरपालिका मास्क र पन्जा खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा तानिएपछि व्यवस्थापन गर्ने निकायको निष्क्रियतामा फागुन ०६९ सम्म चलेर सेलायो ।

चैत ०६९ मा विभिन्न संघसंस्था र निजी प्रतिष्ठानका साथीहरूले मुख्यसचिवको कार्यालयमा आएर भारतबाट गायत्री परिवारका पाँच सय स्वयंसेवक ल्याई वाग्मती सरसफाइ सुरु गर्ने भन्दै त्यसमा सघाइदिन प्रस्ताव गर्नुभयो । मैले तत्कालै ‘हाम्रो फोहोर भारतबाट आएका गायत्री परिवारले होइन, हामी आफैँले सफा गर्ने हो, त्यसको अगुवाइ सरकार आफैँले लिन्छ, म लिन्छु, बरू तपाईंहरू सघाउनु
होस्’ भनेँ ।

सहरी विकास मन्त्रालय भर्खरै स्थापना भएको थियो । ५ जेठ ०७० मा त्यस मन्त्रालयको स्थापना दिवस पारेर त्यही मन्त्रालय मातहतको वाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालय गुह्येश्वरीबाट वाग्मती सफाइ महाभियान पुन: सुरु गरियो । त्यही अभियान १८ भदौ ०७३ मा १ सय ७३औँ साता अविछिन्न रूपमा सञ्चालन भएको छ । यस अवधिमा धेरै आलोचना, कुप्रचार, बाधा/अवरोध आए । तिनलाई छिचोल्दै जाडो, गर्मी, हिउँद, वर्षा, चाडबाड, नाकाबन्दी, भूकम्प केही पर्वाह नगरी लाखौँको सहभागितामा हजारौँ संघसंस्थाको योगदानबाट स्वयंसेवी यो अभियानले साढे तीन वर्षमा राष्ट्रव्यापी लहरै ल्याएको छ ।
अभियानको विस्तार
अहिले गोकर्ण गुह्येश्वरी खण्डमा स्थानीय समुदायले सरसफाइ, वृक्षरोपण, बगैँचा निर्माण, बालुवा चोरी नियन्त्रण, सार्वजनिक जग्गा अतिक्रमणविरुद्धको कार्यक्रम, तुलसी रोपणलगायतका दर्जनौँ अनुकरणीय काम गरिरहेका छन् । उनीहरू सातामा एक दिन होइन, सातै दिन नदी संरक्षणको स्वयंसेवी काम गरिरहेका छन् । तिलगंगा क्षेत्रमा स्थानीय महिलाको समूह नियमित रूपमा सरसफाइमा सक्रिय छ । रुद्रमती विष्णुमती र नख्खु सरसफाइ निरन्तर चलिरहेको छ भने निकट भविष्यमा हनुमन्ते सरसफाइ सुरु हुँदैछ ।

उपत्यकाबाहिर पोखरामा अभूतपूर्व जनसहभागितामा सरसफाइ जारी छ । दाङको तुलसीपुरमा एक महिनादेखि यो अभियान चलेको छ । पाँचथर, लहान, बिर्तामोड, पर्वत, म्याग्दीको वेनी, गुल्मीको तम्घास र सर्लाहीको वरथहवा निरन्तर सरसफाइ अभियानको रूपमा अघि बढिरहेका स्थान हुन् । वाग्मती सफाइ महाभियानको प्रेरणाले जनकपुरको गंगासागर, भरतपुर, बुटवल, धरान, बिर्तामोड, पूर्वपश्चिम राजमार्ग, सिन्धुली, जुम्ला, राजविराज, धनगढी, सुर्खेतजस्ता दर्जनौँ ठाउँमा सरसफाइ कार्यक्रम सञ्चालन भए ।
अभियानको दायरा
यो अभियान मूलत: स्वच्छ, सफा र स्वस्थ जीवनायपनका लागि चेतना जगाउने र स्वयंसेवी भावनाबाट सामाजिक परिवर्तनका लागि नागरिकलाई उत्प्रेरित गर्ने अभियान हो । काठमाडौँमा यो अभियानले हरेक साता शनिबार बिहान दुई घन्टा घरदैलोमा स्वयंसेवक परिचालन गरेर सरसफाइबारे जनचेतना जगाउने काम गर्छ । त्यसका अतिरिक्त यही अभियानको अभिन्न कार्यक्रमका रूपमा नदी किनारामा वृक्षरोपण र बगैँचा निर्माणका लागि अन्य स्वयंसेवीलाई सहजीकरण गर्छ ।

यो अभियानले आफैँ कुनै पनि चन्दा रकम लिने र परिचालनमा सहभागी हुने काम गर्दैन । सरसफाइ सामग्री दाताले दिन चाहेमा नदी किनारामै सार्वजनिक समारोहमा ग्रहण गरी ती सामग्री वाग्मती सभ्यता एकीकृत विकास समितिलाई जिम्मा लगाइन्छ । यस अभियानलाई चाहिने मास्क, पन्जा, डोकोजस्ता सामग्री दाताले दिएर नपुगेको हदसम्म वाग्मती सभ्यता एकीकृत विकास समितिले उपलब्ध गराउँछ । स्वयंसेवीहरू आफैँले पनि व्यवस्था गर्ने गरेका छन् कतिपय समयमा । सुरुका दिनमा ६० र पछि ४५ जना स्वयंसेवकलाई मासिक जीविकोपार्जनका लागि रकम दिएर सातै दिन नदीमा खटाउने र विष्णुमती सफाइमा लाखौँको सफाइ सामग्री जुटाउने काम एस ट्राभलजस्ता संस्थाबाट भएको छ । हलेसी डेकोर र जीवन विज्ञानको योगदान पनि धेरै छ ।

काठमाडौँका सबै नदीमा जाने ढलको व्यवस्थापनका लागि यही अभियानको बलमा सरकारले कार्यक्रम राखेको छ । वाग्मतीमा ढल बिछ्याउने कार्यक्रम सफाइ अभियानभन्दा पहिले नै गरिएको भए पनि दुई वर्षदेखि अवरुद्ध यो काम अगाडि बढाउने र अन्य नदीमा ढलको व्यवस्था गर्नमा भने यही अभियानको योगदान छ । ढलको प्रशोधनबाट मल र ऊर्जा निकाल्ने, शिवपुरी क्षेत्रमा वर्षाको पानी संकलन गरी हिउँदमा वाग्मतीमा पानीको बहाव बढाउने कार्यक्रम पनि सञ्चालनमा छ । नदीको बालुवा चोरी नियन्त्रण भएको छ । नदीमा फोहोर फ्याक्ने आमप्रचलन अब प्राय: रोकिएको छ । र, सार्वजनिक स्थलमा जथाभावी फोहोर गर्ने प्रवृत्तिमा व्यापक सुधार आएको छ ।

यो अभियानले फोहोर गर्नेलाई दण्ड गर्न सरकारी निकायलाई सघाउने र दबाब दिने दुवै काम गरेको छ । साथै, नदी किनाराका अतिक्रमिक जग्गा निखन्ने काममा सरकारी अधिकारीलाई सघाएको छ । ठोस फोहोरमध्ये कुहिने फोहोरबाट मल र ग्यास निकाल्न स्थानीय समुदायलाई उत्प्रेरित गरेको छ । साथै, ठोस फोहोरबाट ऊर्जा उत्पादन परीक्षण कार्यको सुरुआत काठमाडाँै महानगरपालिकाले गरिसकेको छ । उपत्यकाको पूरै ठोस फोहोरबाट ऊर्जा निकाल्ने ठूलो परियोजना सुरूआतको अन्तिम चरणमा छ । वाग्मती सफाइ महाअभियानकै अग्रसरतामा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा फ्याँकिएका प्लास्टिकबाट पेट्रोल निकाल्ने प्रयोगशाला परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । अब यसको व्यावसायिक प्रयोगका लागि छिट्टै परीक्षण उत्पादन सुरु हुँदैछ ।

यसरी फोहोरको दिगो व्यवस्थापन, जनसहभागिता र जनचेतना, नदी तथा सम्पदा संरक्षण र पुन:स्थापना, पूर्वाधार निर्माण, बगैँचा निर्माण तथा वृक्षरोपणमार्फत सौन्दर्यीकरण र पर्यावरण संरक्षणको काम, फोहोर गर्ने तथा बालुवा चोरी गर्नेलाई दण्ड जरिवानामार्फत नियन्त्रणात्मक क्रियाकलापहरू र समग्रतामा स्वयंसेवा अभियानलाई राष्ट्रव्यापी बनाउन हामी सफल भएका छौँ ।
चुनौती आर्थिक कारोबार नगर्ने र कुनै औपचारिक संस्थाको कानुनी स्वरूप नदिइएको यो अभियान आफैँमा एउटा विशिष्ट खालको स्वयंसेवी अभियान बन्न पुगेको छ । तर, यसका तरंगहरू राष्ट्रव्यापी भइरहँदा अभियानलाई केवल सरसफाइमा मात्र केन्द्रित नगरी यसले सिर्जना गरेको जागरण र सञ्चित गरेको सामाजिक पुँजी तथा ऊर्जालाई सही रूपमा अगाडि बढाउन अब एउटा संस्थागत व्यवस्था गर्नुपर्ने खाँचो छ । अन्यथा, यसले राष्ट्रव्यापी जुन लहर ल्याएको छ, त्यसलाई नेतृत्व दिने र दिशानिर्देश गर्न सकिँदैन ।

यो अभियानमा वाग्मतीको माथिल्लो खण्ड (गोकर्ण–गुह्येश्वरी)मा जसरी जनसहभागिता संस्थागत भएर अनुकरणीय काम गरेको छ । सबै नदी किनाराका बासिन्दालाई नदी संरक्षणमा त्यसै गरी सहभागी बनाई सरसफाइ अभियानलाई उनीहरूमै हस्तान्तरण गरी सबलीकरण र सहजीकरण गर्नुपर्ने खाँचो छ । अर्को कुरा, नदी किनारा अतिक्रमित छ । नदीले धार बदलेको छ । नदीका जग्गा सरकारी निकायकै संलग्नतामा दर्ता र दर्जनौँ पटक हक स्तान्तरण र किनबेच भइसकेका छन् । नदी किनारामा ठूलो संख्यामा अव्यवस्थित बसोवास छ । त्यसको व्यवस्थापन एउटा ठूलै चुनौती हो ।

हुन त सफाइ अभियानले सम्बद्ध कर्मचारीलाई उत्तरदायी र जिम्मेवार बनाउन पनि सफल भएको छ । तर, अझै पनि थुप्रै कर्मचारीमा अकर्मण्यता, कामचोर प्रवृत्ति र लापरबाही गर्ने बानी छ । काम हुँदै नहुने, भए पनि एकदमै ढिलो हुने र गुणस्तरीय नहुने रोग अन्यत्रजस्तै सम्पदा संरक्षण, फोहोरमैला व्यवस्थापन र नदी संरक्षणमा पनि छ । यसका लागि काम तोकेर नतिजाका आधारमा प्रभावित जनताको मूल्यांकनमा कर्मचारीको वृत्ति विकास हुने पद्धति बसाल्नुपर्ने चुनौती पनि हाम्रासामु छ । राष्ट्रिय स्वयंसेवी अभियानलाई सरसफाइबाहेकका राष्ट्र निर्माण अभियानमा जुटाई आफ्नो मुलुक आफैँ बनाउन सक्छौँ र बनाउँछौँ भन्ने भावनाको विकास नजगाएसम्म हाम्रो आर्थिक–सामाजिक रूपान्तरण सम्भव छैन ।

यो मुलुक हाम्रो हो र हामीले नै बनाउने हो । अरू कसैले आएर बनाइदिएर हामीलाई सुम्पने छैन । हाम्रा कमीकमजोरी छन् भने पनि हामी नै मिलेर सच्याउने, सुधार्ने हो । विकास भनेको जनताको स्वाभिमान र जागरणको जगमा मात्र सम्भव छ । पढेलेखेका, देखेजानेका, जुनसुकै पेसा–व्यवसायमा भए पनि पहुँच र प्रभाव भएकाहरू एउटाले अर्कोको आलोचना गर्ने तर राज्यको दोहन गरेर व्यक्तिगत, गुटगत वा दलगत स्वार्थपूर्तिमा ज्यान फालेर लाग्ने प्रवृत्ति छ । अनि, त्यसो नगर्न खबरदारी गर्नेलाई अनेक बहानामा उछित्तो काढ्ने वा निरुत्साहित गर्ने हाम्रा कुसंस्कार नै मुलुक रूपान्तरणका बाधक हुन् । टाठाबाठा, पहुँच र प्रभाव हुनेहरूले आफ्ना ठाउँबाट आफ्नो पेसा–व्यवसाय इमानदारीपूर्वक गर्ने प्रयत्न गर्‍यौँ र सामाजिक लाभका लागि थोरै व्यक्तिगत स्वार्थ त्याग्न तत्पर भयौँ भने यो मुलुक सुन्दर त छँदै छ, समृद्ध र शान्त बनाउन हामी नै सक्छौँ । समृद्धि हाम्रै पालामा हुन्छ । हाम्रो अभियान जारी छ । जारी छ, जारी छ ।  साभार : नेपाल साप्ताहिक

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

युलेस टेक्सासमा दशैं तिहार मैत्रीपूर्ण भलिबल सम्पन्न

डालसमा अक्टोबर १८ शुक्रबार रिदम नाइट हुँदै

दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता

मोमो फेस्टिबल २०२४ नोभेम्बर २ मा भव्य रुपमा हुँदै

चाम्स निर्देशित ‘अञ्जिला’का लागि गीतकार अधिकारीले लेखे शब्द




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907