प्राङ्गारिक तरकारी उत्पादनले व्यवसाय फस्टायो

रामपुर (पाल्पा), भदौ १५। तरकारीमा रासायनिक मल र विषादीको अत्यधिक प्रयोग भइरहेका बेला क्षमबहादुर गुरुङले भने घरायसी उपचारको प्रयोग गरी प्राङ्गारिक तरकारी उत्पादन गर्नुभएको छ ।

प्राङ्गारिक तरकारी उत्पादन गर्नुभएका कृषक गुरुङको घरमा दिनहुँ तरकारी किन्नेको घुइँचो लाग्ने गर्दछ । तानसेन नगरपालिका– ११ लामडाँडा निवासी ५२ वर्षीय गुरुङले उत्पादन गर्नुभएका तरकारी किन्न उपभोक्ता, व्यापारी मात्र नभई चिकित्सक र नर्सहरु समेत पुग्ने गरेका छन् ।

प्राङ्गारिक रुपमा तरकारी उत्पादन गरेकै कारण अहिले उहाँको व्यवसाय फस्टाउँदै गएको छ । बजारमा पाइने तरकारीमा रासायनिक मल, विषादीको अत्यधिक प्रयोग भएका कारण लुम्बिनी मेडिकल कलेजका चिकित्सक, नर्सहरुले गुरुङको बारीमा आफैँ टिपेर तरकारी किन्ने गरेका छन् ।

“रासायनिक मल र विषादीको प्रयोग नभएकै कारण आजसम्म लुम्बिनी मेडिकल कलेजका डाक्टर, नर्स लगायतका उपभोक्ताहरुको मन जितेको छु” उहाँले भन्नुभयो ।

छोटो समयमा धेरै नाफा कमाउने उद्देश्यले रासायनिक मल र विषादीको प्रयोग गरेर स्वास्थ्य बिगार्नुभन्दा विषादीरहित तरकारी लगाउन गुरुङले सबैलाई सल्लाह दिनुभएको छ । कृषक गुरुङले रासायनिक मलको सट्टा गाउँ घरमै उत्पादन गरिएको गाईभैँसी, बाख्रा, कुखुराको मल विभिन्न स्थानबाट खरिद गरेर तरकारीमा प्रयोग गर्दै आउनुभएको छ ।

तरकारीमा रोग किरा लागेको अवस्थामा घरमै तयार पारिएको जैविक विषादीको प्रयोग उहाँले गर्दै आउनुभएको छ । बढ्दो सहरीकरणले सदरमुकाम तानसेनमा रहेका जग्गा घडेरीमा बिक्री भइरहेको अवस्थामा राजमार्गको छेउमा रहेको जग्गामा गुरुङले तरकारीखेती गर्नुभएको छ ।

कैयाँै पटक दलालहरुले जग्गा किन्न माग्दा पनि उहाँले बेच्नुभएन । त्यही जग्गामा गुरुङले तरकारीखेती गरेर वार्षिक रुपमा रु चारदेखि रु पाँच लाख आम्दानी गर्नुहुन्छ ।

तरकारी बेचेको आम्दानीले छोरीलाई तानसेनमा उच्च शिक्षा दिनुभएको छ । अहिले उहाँको बारीमा मौसमी तथा बेमौसमी जातका तरकारी फलिरहेको छ । गोलभेँडा, काँक्रा, तितेकरेला, खुर्सानी, सिमी, बोडी, भान्टालगायतका तरकारीको उत्पादन राम्रो रहेको उहाँले बताउनुभयो ।

तीस वर्ष गाडी चालकका रुपमा काम गर्नुभएका गुरुङलाई अहिले परिवारको महत्व थाहा भएको छ । “गाडी चलाउँदा साँझ घरमा नआउँदासम्म परिवारलाई सधैँ पिरलो हुन्थ्यो, परिवारको मन सधैँ चिन्तित हुने गथ्र्यो, तर अहिले पारिवारिक मायाको छहारीमा खुसीसाथ दिन बित्ने गरेको छ” उहाँले भन्नुभयो ।

परिवारमा एक श्रीमती, तीन छोरीबाट उहाँले व्यवसाय गर्न राम्रो सहयोग पाउनुभएको छ । गुरुङले तरकारीखेतीसँगै मकैखेतीमा समेत नयाँ प्रविधिबाट अनुसन्धान सुरु गर्नुभएको छ । उहाँले जिल्ला कृषि विकास कार्यालयको सल्लाह विपरीत बारीमा डोरी टाँगेरै एकै स्थानमा दुईदेखि तीनवटा मकै रोपी अध्ययन सुरु गर्नुभएको छ ।

जिल्ला कृषि विकास कार्यालयका प्राविधिकहरुले एकै स्थानमा एकभन्दा बढी मकैको बीउ रोपिएको स्थानमा राम्रो उत्पादन नहुने सल्लाह दिए पनि परीक्षणका लागि एकै स्थानमा दुईदेखि तीनवटा मकैका बीउ रोप्नुभएका गुरुङले नसोचेको उत्पादन भएको बताउनुभयो ।

उहाँ भन्नुहुन्छ – “प्राविधिकको सल्लाह विपरीत परीक्षणका रुपमा नयाँ प्रविधिबाट रोपेको मकैबारीमा अध्ययन अनुसन्धान गर्ने गरी फलेको छ ।” एकै ठाउँमा रोपिएका दुईदेखि तीनवटा मकैका प्रत्येक बोटमा दुई दुईवटा घोगा फलेका छन् ।

मकैमा समेत कुनै रासायनिक मल नराखी घरायसी मलको प्रयोग गरिएको गुरुङले बताउनुभयो । आफूले गरेको मकैको अनुसन्धानबाट मल भएमा थोरै जमिनबाट पनि धेरै उत्पादन गर्न सकिने विश्वास मिलेको उहाँले बताउनुभयो । रासस
–––––––––

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

नेपाल जर्नीको पुस्तकालय निर्माण अभियान तिब्र

नेपालीहरुमा आप्रबासी बारे दोहोरो चरित्र किन ?

सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताको महत्त्व

नोभेम्बर निर्बाचनमा कसलाई रोज्ने होला ?

कलेज क्याम्पसमा प्रदर्शन: बाइडेन प्रशासनको लागि असहज




EXPLORE YOUR BUSINESS...
USANDNEPAL.COM is created to provide companies of all sizes the ability to explore their businesses and services on the internet. This would be right choice for you to grow your business. Find out more information on our services below :
NEPAL OFFICE

Bhanimandal-4
Lalitpur, Nepal

977-9849361677

US OFFICE

P.O.Box No. 166141
Irving, TX 75016

817 448 2907