दशैंको सांस्कृतिक महत्व र वर्तमानमा यसको सान्दर्भिकता
घटस्थापना देखि दशमी सम्मको देवी दुर्गाको पुजा आराधना पश्चात प्रशादको रुपमा टिका ग्रहण गरिने भएकोले यसलाई दशैं भनिन थलिएको हो। यसलाई दशैं मात्र होइन बिजया दशमी पनि भनिन्छ किनभने असत्य माथि सत्यको बिजयको रुपमा यसलाई मनाउने गरिन्छ। अज्ञानता माथि ज्ञान, अध्यारो माथि उज्यालोको विजयको रुपमा पनि दशैं अर्थात् बिजया दशमी मनाउने गरिन्छ।
समय, अवस्था वा कालखण्डमा आबस्यकता वा बस्तुगत स्थिति अनुसार चाडबाड निर्माण हुने र त्यसको विकास एबम परिमार्जन हुने गर्दछ। कतिपय सांस्कृतिक चाडबाड वा प्रचलन समयको बेगसंगै हराउन पनि सक्छन र नयाँ प्रचलनको शुरुवात पनि हुनसक्छ। यो करोडौं बर्षको मानव बिकासको इतिहासले प्रमाणित गरेको बिषय हो। अर्थात् समयसंग चल्न र परिमार्जित हुन नसक्ने कुराहरु बिलाउदै जान्छन।
दशैं पनि लामो समय देखि मनाउदै आएको नेपाली हिन्दुहरुको मौलिक सांस्कृतिक पर्व हो। यो घटस्थापनामा शुरु भएर कोजाग्रत पुर्णिमाको दिन जमरा सेलाए पछि विधिवत रुपमा समापन हुन्छ। यो अबसरमा आफु भन्दा अग्रज मान्यजनहरुबाट रातो टिका र पहेंलो जमरा लगाएर आशिर्बाद लिनेदिने गर्दै मनाउने गरिन्छ।
दशैलाई एकताको चाडको रुपमा पनि लिइन्छ। लामो समय भेटघाट नभएका दाजुभाइहरु दशैंको अवसर पारेर भेट्ने अवसर यसले सिर्जना गर्छ। टाढा टाढा गएकाहरु पनि दशैंमा मुलघरमा आउने हुनाले सबैको सबैसंग भेटघाट हुन्छ जसले एकार्का प्रतिको सामिप्यता बढ्छ, सद्भाव बढ्छ र माया निरन्तर रहन्छ। मिठो खाने र राम्रो लाउने बेलाको रुपमा यसले कम महत्व पाउदै गए पनि एकता, मिलन र सामिप्यताको अबसरको रुपमा भने यसको महत्व झन्झन् बढ्दै गएको छ।
दशैंको बेलाको मौसम निकै राम्रो हुन्छ। न गर्मी, न जाडो त न पानीको त्रास। वरिपरी जताततै हरियाली नै हरियाली। खेतमा झुलेका धानका बालाहरु र बारीमा झुलेका कोदोका बालाहरुले बाली भित्राउने बेला आएको समेत झल्को दिएको हुन्छ। किसानको अनुहारमा उज्यालो हुने बेला पनि यहि हो।
त्यसै गरी दशैंको बेलामा नयाँनयाँ लुगा लगाउने, मिठो खाने, पिङ्ग खेल्ने, चंगा उडाउने, जनावरको बलि दिने, बिभिन्न मन्दिर र शक्तिपीठहरुको दर्शन गर्ने गरिन्छ। त्यस्तै शुभकामना आदानप्रदान र बिकृतिको रुपमा जुवातास खेल्ने अबसरको रुपमा समेत दशैंलाइ लिइन्छ।
बिजय दशमीमा देवी दुर्गाले महिषासुर बध गरी उसको आतंकबाट साधु, सन्त र सर्बसाधारण जनतालाई मुक्त गरेको अबसरमा मनाउन थालिएको पाइन्छ। त्यस्तै भगवान रामले त्रेता युगमा राबणको बध गरी भक्तहरुको रक्षा गरेको अबसरमा खुसियाली मनाउन बिजया दशमी मनाउन शुरु गरिएको पाइन्छ। तर समग्रतामा असत्यमाथि सत्यको, अज्ञानतामाथि ज्ञानको, अँध्यारो माथि उज्यालोको बिजयको रुपमा नै दशैं मनाउन थालिएको र त्यसको निरन्तरता रहेको पाइन्छ।
बर्तमानमा दशैंको सान्दर्भिकता
पक्कै समाज पहिले जस्तो रहेन। खानेलाउने कुराको लागि बर्ष दिन कुर्नु पर्ने अवस्था धेरैजसोलाई छैन। त्यसो त यो रमाइलो गर्ने साधनमा भएको परिवर्तन मात्र हो। तर यसको मूल कुरा भनेको एकता, सत्य, ज्ञान र उज्यालोको प्रबर्धन हो जुन अहिले झन् सान्दर्भिक छ। धनोपार्जन वा भौतिक उन्नतिको लागि हरेक तिकडम गर्ने अहिलेको जमानामा सत्यको बिजयको रुपमा मनाउने चाडले सत्य तर्फ झुक्ने प्रेरणा प्राप्त हुन सक्छ।
त्यस्तै आफ्नो स्वार्थ पुरा गर्न होस् वा कुण्ठा शान्त गर्न होस्, समाजको बृहत्तर हित वा एकताको बलि चढाउने आसुरी प्रवृति त्याग्न प्रेरक अवसर पनि दशैं हुन सक्छ। समाजलाई एकताबद्ध, सक्रिय र सुसंस्कृत बनाउन सबैले आफु भित्रको अज्ञानता हटाउने प्रण गर्न यो राम्रो अवसर हुनसक्छ। त्यसैले पनि दशैंको सान्दर्भिकता पहिले भन्दा अहिले बढी छ। व्यक्ति भन्दा परिवार, परिवार भन्दा समाज, समाज भन्दा देश, देश भन्दा बिस्व र समग्र मानवता ठुलो हो भन्ने चेतना यो अबसरले प्रदान गर्न सक्छ।
त्यसैले दशैं फगत मिठो खाने र राम्रो लाउने, टिका र जमरा लाउने कुरामा सिमित नभई आफु भित्रका यी बिकारहरुको बली चढाउने अबसरको रुपमा हामी सबैले प्रयोग गर्न सक्यौं भने मात्र दशैंको बास्तविक सान्दर्भिकता पुरा हुनेछ। आफु भित्रको अज्ञानता, भ्रम, कुण्ठा, अँध्यारो पक्षलाइ हटाउने मार्गमा यो दशैं मार्गदर्शक बनोस, बडादशैं २०८१ को सबैमा शुभकामना।