नेपाली सांस्कृतिक तथा आध्यात्मिक समर क्याम्पको आबस्यकता किन ?
डालस, टेक्सास। गुरु चिन्तामणी योगीको आतित्थ्यतामा डालसको नेपाली मन्दिरमा समर क्याम्प चलिरहेको छ। नेपाली समाज टेक्सासले लामो समय देखि संचालन गर्दै आएको यो समर क्याम्पमा नेपाली भाषा, संस्कृति र संस्कारबारे शिक्षा दिने उद्देस्य छ। अमेरिका बसे पनि नेपालीपन जीवित राख्ने, नेपाली भाषा र परम्परा अर्को पुस्तामा हस्तान्तरण गर्ने यसको उद्देस्य हो। त्यसले गर्दा यसलाई नेपाली सांस्कृतिक तथा आध्यात्मिक समर क्याम्प नामाकरण गरिएको छ।
आज करिव साढे बजे मन्दिर पुग्दा ९ बर्ष मुनिका बालबालिकाहरुको लागि कक्षा चलिएर्हेको थियो। ४ बर्ष देखि ९ बर्षसम्मका बालबालिकाहरु लामबद्ध भएर गुरु र निर्देशक स्वयंसेवकहरुको कुरा पच्छ्याइरहेका थिए। बिध्यार्थीहरुको संख्या अनुसार हल अलि सानो भएको प्रतित हुन्थ्यो। हलको बिचमा सोफामा गुरु चिन्तामणी योगी बसिरहनु भएको थियो। संगसंगै हुनुहुन्थ्यो नेपाली पाठशालाका प्रिन्सिपल तथा समर क्याम्पका संयोजक डाक्टर भोजबहादुर बलायर। हलको वातावरण निकै उल्लासयोग्य थियो।
व्यक्तिगत कारणले समर क्याम्पका केहि दिन म त्यहाँ जान पाएको थिइन। कति बिद्यार्थी होलान, कसरी र के सिकिरहेका होलान भन्ने जिज्ञाशा मेरो मनमा सक्रिय थियो। नेपाली भाषा र संस्कारलाई प्रबासमा वा यहाँ अमेरिकामा निरन्तरता दिनु पर्छ भन्ने दह्रो मान्यता राख्ने भएकोले नेपाली समाज टेक्सासले गर्ने यो कार्यक्रम मेरो रोजाइको कार्यक्रम हो। नेपाली संस्थाहरुले नेपाली भाषा र धर्म संस्कृतिलाइ नै प्राथमिकतामा राखेर अघि बढ्नु पर्छ भन्ने मेरो दृढ मान्यता रहेकोले मैले यस भित्रका कुराहरुलाई चासोका साथ् हेर्ने गर्छु।
क्याम्पमा गुरु र बिद्यार्थी संगै स्वयंसेवकहरुको पनि राम्रो उपस्थिति थियो। निश्चित संख्या नखुलाई स्वयंसेवकहरुको आबेदन मागेकोमा करिव तीनसय ८० भन्दा बढीले आबेदन दिएका थिए। आवेदकहरु भने स्कुले बिद्यार्थीहरु थिए जो स्थानिय बिद्यालयहरुमा अध्ययनरत छन्। क्याम्प दुइ समुहमा विभाजित गरिएको छ। ६ देखि ९ बर्षसम्मका बालबालिकाहरुको लागि एक हप्ता र १० बर्ष देखि माथिका बालबालिकाहरुका लागि एक हप्ता समर क्याम्प संचालन गरिएको छ। स्कुलमा २०० भन्दा बिध्यार्थीहरुले कक्षा लिइरहेका छन्।ठुलो संख्या रहेको डालसमा यो संख्या ठुलो नभए पनि अघिल्ला बर्षहरुको तुलनामा राम्रो हो।
सांस्कृतिक तथा आध्यात्मिक समर क्याम्पको महत्व
प्रबासमा आफ्नो जरो वा पृष्ठभूमिको पहिचान अनिबार्य हुन्छ। नत्र मान्छे प्रबासमा हराउँछ र अस्तित्वबिहिन बन्न जान्छ। मान्छे चिनिने भनेको आफ्नो भाषा, धर्म र संस्कृतिले हो। यी मानव जीवनका गहना हुन्। नयाँ परिवेशलाइ आत्मसात गर्दै आफ्नो जरोकिलो प्रति सजग रहँदै त्यसको अपनत्व ग्रहण गर्न सक्ने नागरिक तयार गर्नु यस्ता कार्यक्रमहरुको मुख्य काम हो। हाम्रो संस्कार भनेको आफु भन्दा ठुलालाई आदर, सानालाई माया, आमाबाबालाई भगवानको रुपमा ग्रहण गर्दै सम्मान, गुरुहरुलाई आदर, परिवार प्रति उत्तरदायी हुनु हो। व्यक्ति भन्दा परिवार र परिवार भन्दा समाज ठुलो हो भन्ने संस्कार हाम्रो हो। अरुलाई आदर सम्मान गर्नु पनि हाम्रो संस्कार भित्र पर्छ।
त्यस्तै हाम्रा राम्रा कुरा र संस्कारहरुलाई प्रबासमा रक्तनलिहरुले जसरी मुटुमा रगत पुराउछन, त्यसै गरी हाम्रा राम्रा संस्कार र संस्कृतिहरुलाई हाम्रो अन्तर्मनसंग जोड्ने काम भाषाले गर्छ। भाषा बिर्सिनु आफैलाई, आफ्नो माटोलाई, आफ्नो धरातललाइ र आफ्नो जरोलाई बिर्सिनु हो। भाषाकै माध्यमबाट हामीले नेपाल र नेपाली मात्र होइन हाम्रो पहिचानलाई जोगाउन सकिन्छ। यस्ता क्याम्पहरुले भाषालाई खालि एकार्कासंग बोलचाल गर्ने माध्यमको रुपमा लिने परिपाटी सहि होइन भन्ने बुझाउन मद्धत गर्छ। आफ्नो भाषा बोल्नेसंग जति छिटो आत्मियता बढ्छ, त्यो अन्य तरिकाले बढ्न सक्दैन।
अमेरिकामा रहेका धेरै समुदायहरु मध्ये नेपाली समुदाय भर्खर बढ्दै गएको समुदायमा पर्छ। तर भारत र अन्य कतिपय देशका मान्छेहरुले कैयौं पुस्तासम्म पनि आफ्नो भाषा, धर्म र संस्कृति जोगाएर राखेका छन्। नेपालीहरुमा भने आफ्नो भाषा र धर्म प्रति गर्ब भन्दा ग्लानि अनुभव गर्ने, अंग्रेजी बोल्न जान्यो भने संसार नै जिते जस्तो गर्ने, आफ्नो संस्कारलाई रुढिबादीको संज्ञा दिंदै यसका सकारात्मक कुराहरुलाई पनि नअपनाउने प्रवृति पाइन्छ। यसले गर्दा अर्को पुस्तासम्म पुग्दा नै नेपालीहरु धर्म, भाषा र संस्कृति बिमुख हुने खतरा बढ्दै गएको छ। यस्तो बिकराल अबस्थालाई केहि भए पनि सुधार गर्न यस्ता अभियानहरु निरन्तर गर्न अत्याबस्यक छ।
यसको लागि हाम्रो धर्म र संस्कृतिको सकारात्मक प्रचार गर्ने र रुढिबादी प्रवृतिको अन्त्य एबम विभाजनकारी र अन्योल सिर्जना गर्ने कामहरु बन्द गर्नु पर्छ। हाम्रा चाडबाडलाइ समयानुकुल समायोजन र बैज्ञानिक बनाउनु पर्छ। यसको लागि समाजका अगुवाहरुले एक ठाउँ केन्द्रित भन्दा पनि टोलटोल केन्द्रित साना साना कक्षाहरु संचालन गर्नु पर्छ। ठुलो भैसकेको नेपाली समाजको लागि यो अत्याबस्यक भैसकेको छ।
गुरु चिन्तामणी योगीकै शब्द सापट लिने हो भने मान्छेको बुद्धि भएर पनि बिबेक भएन भने, धन भएर पनि संस्कार भएन भने, सिप भएर पनि आफ्नो धर्म र संस्कृति बिहिन छ भने, पढेर पनि आद्यात्मिक चिन्तन र चेतना भएन भने त्यो मान्छे प्राकृतिक हुन सक्दैन। उ फगत आर्टिफ़िसियल हुन्छ, नक्कली हुन्छ। हामीले अर्को पुस्तालाई हाम्रो धर्म संस्कृति हस्तान्तरण गर्न सकेनौं भने हाम्रो पहिचान र इतिहास समाप्त हुन्छ। त्यसैले पनि यस्ता क्याम्पहरु र कार्यक्रमहरु अत्यन्त आबस्यक छन्।
यसो गौरवपूर्ण काम गरेकोमा नेपाली समाज टेक्सासलाइ धन्यवाद दिनै पर्छ। आगामी दिनमा नेपाली समाज टेक्सासले यो दायरा फराकिलो पार्दै अन्य ठाउँहरुमा पनि विस्तार गर्ने कुरामा आशा गरौँ। त्यसै अहिले भएका कमीकमजोरीहरुलाई पनि आगामी दिनमा हटाउने र यो क्याम्पलाई रोटेट गर्दै बर्ष भरिनै संचालन गर्ने तर्फ ध्यान दिनेछ भन्नेमा यहाँको समुदाय आशाबादी छ।
विश्लेषण: लेखनाथ गौतम