अमेरिकामा बन्दुक आतंक कहिलेसम्म ?
अमेरिकाको उत्तरपुर्बी राज्य मेइनको लिविस्टनमा हिजो एउटा बन्दुक आतंक भयो। उक्त आतंकमा १८ जनाको ज्यान गयो भने १३ जना घाइते भए। उक्त घटना घटाउने व्यक्ति भने फरार छ भने स्थानीय, स्टेट र संघीय सरकारका निकायहरुले खोज्ने कामलाई तिब्र बनाएका छन्। चालिस बर्षिय रोबर्ट कार्ड भनिने व्यक्तिलाई आरोप लगाइएको छ र उनको खोजि जारी छ। सुरक्षा निकायले उनी हतियारबद्ध र खतरनाक भएको भन्दै आम जनतालाई घरभित्रै बस्न अनुरोध गरेका छन्।
यो त अहिलेको जल्दो बल्दो घटना भयो जसमा एकजना समस्याग्रस्त मान्छेले धेरैको ज्यान लिएको छ। तर यहि बर्ष मात्रै यो सहित ५५६ यस्तै घटना अमेरिकामा घटिसकेका छन्। तर पनि टेक्सासको उभाल्दे सिटीमा अबस्थित एक प्राइमरी स्कुलमा भएको बन्दुक आतंक पछिको अर्को ठुलो आतंक हो। त्यतिबेला एकजना युवकले स्कुल भित्र पसेर १९ जना बच्चा र २ जना शिक्षकका गोलि हानि हत्या गरेको थियो।
अमेरिकामा यस्ता धेरै घटना घट्नुमा धेरैले बन्दुक सम्बन्धि कानुन कडा नहुनु र धेरै मान्छे मार्न सक्ने हतियार सजिलै खरिद गर्ने पाइने कानुन हुनुलाई एकथरीले प्रमुख समस्या मान्छन। विभिन्न सर्बेक्षणहरु हेर्दै करिव ९०% अमेरिकीहरु बन्दुक सम्बन्धि कानुन कडाइ गर्नु पर्ने र सेनाले चलाउने हतियार सर्बसाधारणको लागि बेच्न नहुने कुरामा सहमत देखिन्छन। अर्कोथरी मानिसहरु भने बन्दुक कानुनमा अझ खुकुलो बनाउनु पर्ने भन्दै बन्दुक चलाउने मान्छेले भएकोले बन्दुलाई दोष दिन नहुने तर्क समेत गर्छन।
अहिले सबै खालका हतियारको कुरा गर्दा अमेरिकामा करिव ५ सय मिलियनको संख्यामा रहेको अनुमान छ। यसमा गैरकानुनी रुपमा राखिएका हतियारहरुको हिसाब किताव छैन। ३२० मिलियन जनसंख्या भएको देशमा यति हतियार हुँदा करिव एकजनासँग अनुपातमा एउटा र आधा हतियार रहेको देखिन्छ। यसले अमेरिकीहरुको हतियार प्रतिको मोह दर्शाउँछ। संविधानको दोश्रो संसोधनले अमेरिकी जनतालाई हतियार बोक्ने स्वतन्त्रता दिएको छ।
९०% अमेरिकीहरुले हतियारको ब्यबस्थापन हुनुपर्ने विचार राखे पनि राजनीतिक दलका नेताहरुले त्यसलाई सम्बोधन गर्ने कुनै कानुन ल्याउने गरेका छैनन्। नेसनल राइफल एसोसिएसनले धेरै राजनीतिक दलका नेताहरुलाई प्रभावित पार्ने गरेका छन् भने हतियार उत्पादक कम्पनीहरुले पनि लबिङ्ग गरेर त्यस्ता कानुन आउन रोक्ने गर्छन। अघिल्लो चुनावमा मात्र राइफल एसोसियसनले करिव तीस मिलियन डलर डोनाल्ड ट्रंपको निर्बाचनमा खर्च गरेको तथ्यांक सार्बजनिक भैसकेको छ भने दुवै राजनीतिक दलका धेरै नेताहरुले यस्ता कम्पनीहरुबाट चुनावमा पैसा ल्याउने गरेका छन्। जसले गर्दा उनीहरु आफ्ना ठुला चन्दाका श्रोतहरुलाई चिढ्याउन चाहदैनन्।
जब जब यस्ता बिभत्स घटना घट्छन, यसबारेमा चर्को बहस चल्छ। तर त्यसको एक हप्ता पछिनै त्यसलाई बिर्सिन्छ र फेरी अर्को घटना नहुन्जेल कसैले त्यता तर्फ वास्ता गर्दैनन्। यस्तै गर्दै बिगत लामो समय देखि अमेरिकामा हतियारको बिक्रि माथिको नियन्त्रण गर्ने अभियान निकै मन्द गतिमा चलिरहेको छ। हतियारको कानुनमा अलिकति परिबर्तन गर्दा पनि यहाँ ठुलो हंगामा हुनेगर्छ।
संविधानको दोश्रो संसोधनले प्रत्याभूत गरेको हतियार बोक्न र किन्न पाउने स्वतन्त्रतालाइ अमेरिकीहरुले आधारभूत अधिकारको रुपमा लिनुलाई नै समस्याको प्रमुख कारण मान्नु पर्छ। राज्य जतिबेला पनि दमनमा उत्रिन सक्ने भन्दै जनताको हातमा पनि हतियार भयो भने सजिलै दमन गर्न नसक्ने र आफ्नो स्वतन्त्र कायम रहने धेरै हतियारका पक्षपातीहरुको भनाइ पाइन्छ। अलिकति नियन्त्रणलाइ पनि स्वीकार गर्यो भने त्यो बढ्दै जाने र आफु निशस्त्र हुनसक्ने धारणा अमेरिकीहरुमा पाइन्छ।
अर्को तिर जस्तालाई पनि हतियार बेच्दा आउन सक्ने यस्ता दुखद घटनाहरु प्रति भने सबै सजग हुनै पर्छ। मानसिक रुपमा बिक्षिप्त बनेका व्यक्तिहरु, आपराधिक पृष्ठभूमिका व्यक्तिहरुको हातमा यस्ता खतरनाक बन्दुक दिनु समाजको लागि खतराको बिषय हो। आफ्नो आत्मसुरक्षाको लागि सामान्य हतियार बोक्ने कुरामा बिमति नभए पनि एकै पटकमा सयौं गोली प्रहार गर्नसके बन्दुक सर्बसाधारणको लागि अनाबस्यक कुरा हुन्।
विपदको बेला संवेदनाका शब्दहरु प्रयोग भए पनि त्यो कानुनी प्रक्रियामा नछिरेसम्म यो अबस्थामा परिवर्तन हुनसक्ने देखिन्न। त्यसमाथि सिंगो रिपब्लिकन पार्टी नै हतियार समन्धी कानुनमा खासै परिवर्तन गर्न तयार देखिदैन। त्यस्तै राजनीतिमा पैसाको प्रयोग वा चन्दा जति नि दिन पाउने व्यवस्था रहेसम्म यो परिस्थितिमा परिवर्तन हुने देखिदैन। फलस्वरूप हामीले यस्ता घटना सुन्न र भोग्न परिरहनेछ। यसमा परिवर्तन ल्याउने हो भने हतियारको छाडा किनबेचमा नियन्त्रण ल्याउनु पर्छ भन्ने र ठुला कम्पनीहरुबाट पैसा नखाने सांसद चुनेर पठाउनु आबस्यक छ। नत्र घटना हुँदा रुने र नहुँदा आफ्नो काम गरेर बस्ने मात्र हामीसंग बिकल्प रहन्छ।