चुनाबमा जनताको कोर्टमा बल हुन्छ, त्यति बेलै गोल हान्नु पर्छ नत्र रामराम !
विश्लेषण:लेखनाथ गौतम
अमेरिका त्यस्तो देश हो जहाँ ८० बर्षिय रास्ट्रपति छन्। यहाँको संसदमा अपबाद बाहेक धेरै बुढा र लामो समय देखि पटक पटक सांसद बन्दै आएकाहरु नै छन्। सभामुखमा बुढी नेन्सी पेलोसी छन् भने रिपब्लिकन पार्टीका तर्फबाट अल्पमतका प्रमुख मिच मकानल पनि बुढा नै छन्। प्रणालीले काम गरिरहेको अमेरिकामा बुढाले शासन गर्नु र युवाले शासन गर्नुमा त्यति ठुलो भिन्नता हुँदैन। ठुला परिवर्तन गर्न यहाँ प्रणाली नै बाधक हुन्छ भने त्यसको लागि संबिधान संसोधन आबस्यक हुन्छ जुन सिनेटको दुइ तिहाइले मात्र सम्भव छ। राज्यहरुको संरचना, यहाँको डेमोग्राफी र अन्य कारणले कुनै एक पार्टीले ६७ सिट जित्न सम्भव छैन।
अमेरिकामा सिनेटबाट बहुमतले कानुन पारित हुने भए पनि “फ़िलिबस्टर” नामक हतियारले हरेक सिनेटरलाइ भिटो प्रदान गरेको छ। कुनै पनि कानुन पास गर्नबाट रोक्न जुनसुकै सिनेटरले “फ़िलिबस्टर” रुपी भिटो प्रयोग गर्न सक्ने अबस्थामा फ़िलिबस्टर रोक्न ६० मत ल्याउन आबस्यक हुन्छ। अर्थात् कुनै कानुनको भोटिंगमा ६० मत आयो भने फ़िलिबस्टर प्रयोग हुँदैन र त्यो कानुन पास हुन्छ। यो भिटो पावर बजेट सम्बन्धी कानुन र अदालतका न्याधिश नियुक्तिमा भने लागु हुँदैन, ५१ भोट अर्थात् सामान्य बहुमतले पारित गर्न सकिन्छ।
अहिले अमेरिकाको सिनेटमा रिपब्लिकन र डेमोक्र्याटिक पार्टीका ५०/५० जना सिनेटर छन्। कुनै कुराको मतदानमा ५०/५० भयो भने उपरास्त्रपतिले “टाइ ब्रेकर” मत दिने संबैधानिक प्राबधान छ र उपरास्त्रपतिले मत अनुसार कानुन पास वा फेल हुन्छ।
यहि फ़िलिबस्टर रुपी भिटोले गर्दा अमेरिकाको सिनेट लामो समय देखि निकम्मा सावित भएको छ। कुनै पनि प्रस्तावले ६० मत ल्याउने नसक्ने हुँदा निकै गम्भीर प्रकृतिका नियम र कानुनहरु लामो समय देखि बन्न सकेका छैनन्। अत्यन्त कम महत्वका र जनताको चासोमा नरहेका कानुनहरु मात्र पास हुन्छन भने अरु सिनेटको कार्यालयमा लामो समय देखि थन्किएर बसेका छन्।
अध्यागमन मुद्धा अमेरिकामा लामो समय देखि अल्झेर बसेको छ। १९८६ मा रिपब्लिकन रास्ट्रपति रोनाल्ड रेगन पछि अमेरिकामा कुनै कानुन पास हुन सकेको छैन। गैरकानुनी रुपमा बस्ने करोडौं पुग्दा पनि त्यसको सम्बोधन हुन कानुन बन्न सकेको छैन। त्यसको कारण पनि फ़िल्बस्टर नै हो। दुइ पार्टीको शैद्धान्तिक ध्रुविकरणले गर्दा एकार्कामा मिलेर काम गर्न सक्ने वातावरण नहुँदा यति महत्वपूर्ण मुद्धाको कानुन समेत बन्न सकेको छैन।
त्यस्तै संविधानको दोश्रो संसोधनद्वारा प्रदत्त अधिकार भन्दै बन्दुकको बिक्री सहज भए पछि अमेरिका अत्यन्तै असुरक्षित बन्दै गएको छ। स्कुल, चर्च, मन्दिर, सिनेमा हल, पसले देखि घरघरमा बन्दुकले दैनिक सयौं नागरिकहरुको ज्यान लिने गरेको छ। ९० प्रतिशत भन्दा बढी अमेरिकनहरुले बन्दुक सम्बन्धी कानुनमा समयानुकुल समायोजन गर्नु पर्छ भने पनि यस्तो कानुन बन्न सकेको छैन। यहि फ़िलिबस्टर रुपी भिटोका कारण भैरहेको छ किन भने यस्तो कानुन बनाउन प्रयत्न गरिरहेका डेमोक्र्याटहरुसंग ६० भोट छैन।
हालैका दिनहरुमा रास्ट्रपति बाइडेनले जनतालाई बन्दुक सम्बन्धी मुद्धामा केहि नहुनुमा रिपब्लिकन पार्टीका सिनेटरहरु जिम्मेवार रहेको र आगामी चुनावमा जनताले नै बन्दुक सम्बन्धी कानुनमा संसोधन चाहनेहरुलाई जिताएर पठाउनु पर्ने अभिव्यक्ति दिन थालेका छन्। अर्थात् यहि अवस्था रहेमा बन्दुक सम्बन्धी वा अन्य कुनै परिवर्तन हुन नसक्ने भन्दै बल जनताको कोर्टमा रहेको अभिव्यक्ति दिएका छन्।
त्यस्तै १९७३ मा रो र वेडको गर्भपतन सम्बन्धी मुद्धामा सर्बोच्च अदालतले ऐतिहासिक फैसला गरेको थियो जसले गर्भपतनलाई आबस्यकता अनुसार गर्न पाइने उल्लेख थियो । तर लिक भएको समाचार अनुसार अहिलेको अदालतले त्यो उल्टाउन निर्णय गरिसकेको र जुनको अन्त्य सम्म त्यो निर्णय हुनेछ। हाडनाता करणी र बलात्कारबाट भएका गर्भाधानहरुमा समेत गर्भपतन गर्न नपाइने गरी गर्न लागिएको यो फैसलालाई ठेगान लगाउन पनि सिनेटमा कानुन पास हुन सक्ने अवस्था छैन किनभने फ़िलिबस्टर रुपी भिटो भोइड गर्न आबस्यक ६० मत डेमोक्र्याटहरु संग छैन।
यी सबै कानुनहरु बनाउने कुरामा भने जनताहरुको अत्यधिक समर्थन रहेको सर्भेहरुले देखाएका छन्। तर चुनावमा उनै व्यक्तिहरुलाई नै जनताहरुले भोट हालेर जिताउने हुँदा यी कानुन पारित हुने सम्भावना भने छैन। जनताको मत लिएर आएका अधिकांश सिनेटरहरु बन्दुकको पक्षमा लबिङ्ग गर्ने बन्दुक उत्पादक र वितरकहरुको पैसामा बिक्छन र कानुन बनाउदैनन। चुनवामा जनताले त्यो बिर्सिन्छन र फेरी तिनैलाई भोट दिएर जिताउछन। जितेका जनप्रतिनिधि जनता प्रति उत्तरदायी नबनी लबिङ्ग गर्नेहरुको पैसा खाएर निर्णय गर्ने हुँदा ठुला मुद्धाहरु अमेरिकामा लामो समय देखि अल्झिएर बसेका छन्।
यो कुरा अमेरिका मात्र होइन नेपाल र अन्यत्र पनि लागु भएकै छ। २००७ सालदेखि सुनिरहेका नामहरु नै अहिले पनि राजनीतिको केन्द्र बिन्दुमा छन्। जनताहरु यिनीहरुबाट वाक्क दिक्क त छन् तर भोट हाल्ने बेलामा उनैलाई हालेर जिताउछन। स्थानीय चुनाबमा केहि प्रमुख शहर बाहेक अन्यत्रको नतिजा पनि खासै आशलाग्दो भएन।
यो अकर्मण्यताको अबस्थामा दिक्क रास्ट्रपति बाइडेनले जनता गुहारेका छन्। कानुन बनाउने सिनेटमा डेमोक्र्याटलाइ सुविधाजनक बहुमत दिने हो भने उल्लेख्य काम गर्न सकिने उनको बुझाइ छ। उनले यी निकै महत्वपूर्ण मुद्धाहरुमा सिनेटर वा सांसदहरुको झुकाव हेरेर जिताउन वा हराउन अपिल गरेका छन्। तर एकदम ध्रुविकृत भैसकेको अमेरिकी समाजमा खासै ठुलो परिवर्तन गर्न सक्ने गरी चुनावले परिणाम दिन सक्ने अवस्था भने छैन।
त्यसैले नेपाल होस्, अमेरिका होस् वा अन्य देश होस्, त्यहाँका जनताको काँधमा ठुलो जिम्मेवारी र चुनौती छ। नेपालमा परिवर्तन ल्याउन धेरै बालेन र हर्कहरु जस्ता युवा र जुझारु भिजन भएका व्यक्तिहरुलाई जिताउनु पर्ने हुन्छ। चुनावको बेला भाषण गर्ने तर कार्यकालभरी प्रणालीको दुरुपयोग गर्दै आफ्नो निजी उन्नतिको लागि काम गर्ने लामो समय देखि जरो गाडेर राजधानीमा बस्ने जनप्रतिनिधिहरुलाई जनताले नै ठेगान नलगाए सम्म देशमा परिवर्तन असम्भव छ। त्यसैले अब परिवर्तनको बल जनताको कोर्टमा छ। आफ्नो कोर्टमा भएको बललाई आफ्नो मताधिकारको कलाद्वारा गोल गर्ने काम जनताकै हो। नत्र संधै मासु भात खाएर भोट हाल्ने र ५ बर्ष पछुताउने चक्र चलिरहन्छ। त्यसो गर्ने जनता चाहे नेपालका हुन् चाहे अमेरिकाका हुन्, रामराम भन्न सकिन्छ काँध थाप्न सकिन्न।