मिरुना मगरमाथिको दुर्ब्यबहार , थप्पड र माफीको चक्रमा कुण्ठित समाजको दादागिरी
फिल्म कबड्डी-४ को फिल्म हलमा शो चलिरहेको थियो। सिभिल मलको उक्त फिल्म हलमा चलचित्रको प्रोमोसनको लागि फिल्मका कलाकारहरु गएका थिए। फिल्म हेरेर निस्केका दर्शकहरुसंग मिरुना र टीम फोटो खिच्न व्यस्त थियो। भिडभाड र ठेलाठेल बीच एकजना लामाले मिरुनालाई चिमोटे। ३ चोटी चिमोटे पछि उनले प्रतिकार गरिन, लामालाइ चड्कन लगाइन, माफी माग्न लगाइन र त्यो पनि प्रयाप्त नभए पछि पुलिसमा समेत बुझाइन। पुलिसले २४ बर्षीय फुर्बा तामांगलाइ पक्रेर लग्यो।
यो घटनाले सामाजिक संजालमा प्रवेश गर्यो। एकसेएक न्यायाधिशहरु फैसला सुनाउन लागे। हिंसामा परेकी मिरुनाको आवाज मधुरो र कुण्ठाग्रस्त सामाजिक संजाल प्रयोगकर्ताहरुको स्वर चर्को भयो। पिडित मिरुना उल्टै पीडकमा रुपान्तरण भइन। उनी हिरोइन बाट भिलियनमा रुपान्तरण भइन। उनीहरुले पिडितलाइ होइन पीडकलाई शंकाको सुबिधा दिए। हुँदा हुँदा त्यसमा धर्मको समेत प्रवेश गराइयो।
भिक्षुकको पोशाकमा गएका फुर्बालाई पनि हामीले कुरै नबुझी अपराधी मान्न सक्दैनौं। तर उनको बस्त्र र उनको धार्मिक आस्थाकै कारण उनलाई चोखो मान्न पनि सकिंदैन। उनले निर्दोष साबित गर्ने हरेक हक सुरक्षित हुनुपर्छ भन्नेमा सचेत रहे पनि एक चेलीको बोलीलाई कुल्चिनु अघि एक सभ्य समाजले निकै विचार पुर्याउनु पर्छ।
सामान्यतया कुनै घटनाको रिपोर्ट भए पछि पिडितलाइ सहानुभूति र पीडकलाई शंकाको नजरले हेर्नु सहि हुन्छ। एक सभ्य, सुसंस्कृत र असल नायिकाको छवि बनाएकी मिरुना मगरको फेस भ्यालु नै यसमा समाजको लागि प्रमाण काफी हुनुपर्छ। त्यसो त कुनै पनि चेलीले असह्य नभैकन प्रतिकार गर्दैनन्, त्यसमाथि आफ्नै चलचित्र हेर्न आएको एक भिक्षुक समर्थक माथि मिरुनाले नाजायज लाञ्छना लगाइन भन्ने तर्क हाम्रो अहिलेको सामाजिक बिकृति र कुण्ठाको उपज हो। झुक्किएर छोइनु र चिमोट्नु बिचको भिन्नता थाहा नपाउनेहरु सामाजिक संजालमा न्यायधिश बन्नु झनै उदेकलाग्दो बिषय हो।
अहिले विस्वका ठुलाठुला काण्डहरु हेर्ने नै हो भने यी धार्मिक भेषमा लुकेर हुने गरेका छन्। अहिले पनि नेपालको एकजना धार्मिक गुरुको काण्ड चर्चित छ। भारतमा त त्यस्ता अनगिन्ति घटना छन् जसमा धार्मिक भेषमा बालबालिका देखि धेरै महिलाहरु पिडित हुने गरेका छन्। इसाई गुरुहरुले चर्चमा गर्ने गरेका अपराधको फेहरिस्त लामो छ। इस्लाम धर्ममा पिडित बाहिर आउनै नसक्ने गरी दबाइएका हुन्छन तर त्यहाँ पनि धर्मको आडमा अन्याय नभएको भन्न मिल्दैन।
यो घटना केहि दिन यता नेपालमा चलेका केहि हाइ प्रोफाइल केसहरुसंग पनि जोड्ने हो भने यसमा डबल स्टाण्डर्ड प्रस्टसंग देख्न सकिन्छ। यो भिडले नाबालिक गायिकालाई पनि अपराधी नै घोषित गरेको थियो भने आरोपित पल शाहलाइ “रियल हिरो” बाट “सुपर रियल हिरो” मा बढुवा गरिदिएको थियो। आफु भन्दा आधा भन्दा कम उमेरकी गायिकासंग मायाको नाटक गर्दै आफ्नो दायित्व, जिम्मेवारी र दर्शक माथिको भरोशा तोड्दै शारीरिक शोषण गरेको व्यक्तिलाई सामाजिक संजालको कुण्ठित अदालतले सफाई दिएको थियो।
मिरुना मगर परदेशबाट आफ्नै माटोमा केहि गरूँ भनेर नेपालमा आएको एक उदियमान कलाकार हुन्। बेलायतमा नै राम्रो गर्न सक्ने खुबी भएकी मिरुना नेपाललाई माया गरेर नेपाली फिल्म क्षेत्रमा लागेकी र भविस्य भएकी कलाकार हुन्। उनले आफु माथि हिंसा भयो भन्दा उल्टै उनैलाई गालि गर्नु कुण्ठाग्रस्त सोंचको उपज हो। यसलाई हामीले बदल्नु पर्छ। आरोप लगाउँदैमा त्यसलाई अपराधी नै ठान्ने र आरोप लगाउने चेली माथिनै धावा बोल्नु सभ्य समाजको सूचक मान्न सकिन्न।
यहि दवाव र थप हिंसाका बीच उनले बौद्ध धर्मबलाम्बिहरुसंग माफी मागेको र आरोपित फुर्बा लामालाइ माफी दिएको समाचार आएको छ। पक्कै पनि यो कुरा लम्ब्याएर फाइदा कसैलाई नहुने अबस्थामा यसको निरुपण हुनु राम्रो कुरा हो। तर यसको निरुपण जसरी भएको छ र यसमा मिरुना माथि जसरी अपराधीलाई झैं व्यवहार गरिएको छ त्यसको क्षतिपुर्ति भने समाजले दिनै पर्ने हुन्छ। ढिलो वा चांडो हाम्रो कुण्ठाग्रस्त समाजले चेतना प्राप्त गर्ने र अरु धेरै मिरुनाहरु पिडित हुनु नपरोस भनेर हामी सबै भगवान श्री पशुपातिनाथसंग प्रार्थना गरौँ। त्यस्तै न्याय अन्याय छुट्टाउने स्वयम्भूका दुइटा आँखाले पनि न्याय अन्याय छुट्टाएर सबैलाई सद्बुद्धि प्रदान गरुन। (विचार: लेखनाथ गौतम)