नेपाल स्रष्टा समाजले रमेश खकुरेल र अनुपम रोशीलाई गर्यो सम्मान
काठमाडौँ, पुस ११ । नेपाल स्रष्टा समाजले यस वर्ष शास्त्रीय शैलीमा काव्य रचना गर्ने वरिष्ठ साधक कवि रमेश खकुरेललाई सुभद्रा विश्वराज स्रष्टासम्मान र प्रभावशाली युवा साहित्यकार अनुपम रोशीलाई प्रसिद्ध कँडेल स्मृति राष्ट्रिय युवा स्रष्टासम्मान प्रदान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माले पुरस्कृत स्रष्टाहरुलाई बधाई दिंदै नेपाल स्रष्टा समाजले नेपाली भाषा र साहित्यको क्षेत्रमा गर्दै आएको योगदानको प्रशंसा गर्नुभएको थियो ।
समाजको वार्षिक साधारण सभाका अवसरमा यी सम्मान प्रदान गरिएको हो । सम्मानपत्रसाथ नगदसमेत प्रदान गरिने ती सम्मानहरूको राशि क्रमशः रू. २१,१११ र रु.११,१११ रहेको छ । यी सम्मानहरू प्रत्येक वर्ष प्रदान गर्दै आइएको छ ।
सुभद्रा विश्वराज स्रष्टासम्मान समाजका अध्यक्ष विधान आचार्यले मातापिताका नाममा र प्रसिद्ध कँडेल स्मृति राष्ट्रिय युवा स्रष्टासम्मान पूर्व महासचिव चेतनाथ कणेल र सीता भण्डारी कँडेलले आफ्ना छोरा प्रसिद्धका स्मृतिमा स्थापित गरेका हुन् ।
कार्यक्रममा सम्मानित स्रष्टा रमेश खकुरेलको व्यक्तित्व र कृतित्वबारे साहित्यकार देविका तिमल्सिनाले प्रकाश पार्नुभएको थियो । स्रष्टा अनुपम रोशीका बारे सुमन घिमिरे ‘वर्षा’ले जानकारी गराउनु भएको थियो । कार्यक्रममा सम्मानित स्रष्टा रमेश खकुरेलले आफ्नो जीवनका भोगाइ तथा भाषा र साहित्यको क्षेत्रका अनुभवहरू सुनाउनुभएको थियो ।
कोरोना सङ्क्रमणको अवस्थालाई मध्यनजर गरेर भर्चुअल रूपमा कार्यक्रम सञ्चालन गरिएको थियो ।