महाअभियोग प्रस्ताव संसद्को पूर्ण बैठकमा पठाइयो:अभियोग लाग्नेहरुको क्लबमा ट्रंप
वाशिंटन डिसी, अमेरिका । अमेरिकाको तल्लो सदनको न्याय समितिले रास्ट्रपति ट्रंप बिरुद्ध महाअभियोग लगाउने प्रस्ताव पारित गरेको छ । न्याय समितिबाट पारित भए पछि अब यो प्रस्ताव संसद्को पूर्ण इजालसमा गएको छ भने यसमाथि मतदान डिसेम्बर १८ मा हुनेछ । न्याय समितिमा डिसेम्बर १३ शुक्रबार भएको मतदानमा पक्षमा २३ र बिपक्षमा १७ मत परेको थियो । पूर्ण पार्टी लाइन अनुसार मतदान भएर पारित भएको यो प्रस्तावमा पदको दुरुपयोग र कांग्रेसको अनुसन्धानलाई बाधा पुर्याएको आरोप लगाइएको छ । यो ऐतिहासिक घटना संगै अमेरिकाको इतिहासमा महाअभियोग लाग्ने अन्य दुइ रास्ट्रपतिहरुको क्लबमा ट्रंपको नाम दर्ता हुने भएको छ ।
महाअभियोगको पहिलो बुंदा अनुसार रास्ट्रपति ट्रंपले आफ्नो पदको दुरुपयोग गरेका छन् । देशको स्वार्थ भन्दा आफ्नो चुनावी स्वार्थ अगाडी राखेर काम गरेको आरोप रास्ट्रपति माथि लगाइएको छ । कांग्रेसले युक्रेन्लाई रसिया बिरुद्ध लड्न प्रदान गरेको ३९१ मिलियन डलर रकम रोकेर आफ्ना सम्भावित सन् २०२० को निर्बाचनका प्रतिद्वन्दी जो बाइडेन र उनका छोरा हन्टर बाइडेनले काम गरेको इनर्जी कम्पनि बुरिस्माको अनुसन्धान गर्न दवाव दिएको अभियोग लगाइएको छ । त्यस्तै युक्रेनी रास्ट्रपतिले अनुरोध गरेको ट्रंपसंगको भेटघाटको लागि पनि आफ्ना राजनीतिक प्रतिद्वन्दी माथिको अनुसन्धानको घोषणालाइ शर्त बनाएको अभियोग पत्रमा उल्लेख छ ।
अभियोगको दोश्रो बुंदामा कांग्रेसलाई अनुसन्धानमा बाधा पुर्याएको आरोप लगाइएको छ । त्यसमा रास्ट्रपति ट्रंपको जुलाई २५ को युक्रेनी रास्ट्रपति भ्लादिमिर जेलेंस्कीसंगको टेलिफोन कुराकानी र त्यसको बिषयबस्तुलाई लिएर इन्स्पेक्टर जेनेरलमा उजुरी परेपछि कांग्रेसले अनुसन्धान शुरु गरेको थियो । उजुरी परेको जानकारी पछि युक्रेनलाइ दिने भनिएको रकम निकासा गरिएको थियो । तर त्यसबारे छानबिन गर्ने क्रममा कांग्रेसका हरेक कुराहरुमा अबरोध सिर्जना गरिएको थियो । सोहि कदमलाई कांग्रेसको अनुसन्धानलाई ढुङ्गे पर्खाल लगाइएको भन्दै महाअभियोग लगाइएको छ ।
न्यायिक समितिबाट बाटो प्रशस्त भए संगै अब संसद्को पूर्ण बैठकबाट पारित हुने पक्का पक्कि जस्तै छ । त्यहाँ पारित भए पछि प्रस्ताव संसद्को माथिल्लो सदन सिनेटमा जानेछ । सिनेटमा प्रमुख न्यायाधिशको उपस्थितिमा महाअभियोगबारे छलफल हुनेछ भने त्यहीं नै मतदानद्वारा रास्ट्रपतिलाइ पदच्युत गर्ने वा नगर्ने निर्णय गरिनेछ । तर मननयोग्य कुरा के भने तल्लो सदनले महाअभियोग यस अघि दुइ वटा रास्ट्रपतिहरुलाई लगाइसकेको छ छ भने सिनेटबाट प्रस्ताव पारित नहुँदा उनीहरु पदच्युत भने हुनु परेको छैन । रिचार्ड निक्सनले भने अभियोग लाग्ने पक्का भए पछि राजिनामा दिएका थिए ।
प्रस्ताव पारित भएको घोषणा गर्दै न्यायिक समितिका अध्यक्ष जेरी न्याड्लरले आजको दिन ऐतिहासिक महत्वको तर दुखको दिन भएको जनाएका थिए ।