एचडीएनपीले घरबारबिहिनहरुलाई ब्ल्यांकेट वितरण गर्ने: सहयोग गर्न अनुरोध
डालस, टेक्सास । आफु बसेको समाजलाई केहि दिनु पर्छ भन्ने मूल उद्देश्यका स्थापित एचडीएनपी इन्टरनेसनलले क्रिश्मसको समय पारेर ५०० ब्लान्केट वितरण गर्ने भएको छ । घरबारबिहिन, रोगी एबम बृद्धबृद्धाहरुलाई क्रिश्मस इभको दिन अर्थात् डिसेम्बर २४ गते डालस र फोर्ट वर्थमा ब्ल्यांकेट वितरण गरिनेछ भने ७ जना युवायुवतीहरुलाई संयोजक तोकेर ब्ल्यांकेट संकलन शुरु गरिएको संस्थाका अध्यक्ष देवी आचार्यले जनाउनु भएको छ ।
मुख्य संयोजक सृयम जोशी लगायत सातै जनाले भिडियो संदेश मार्फत उक्त असल काममा सहयोग गर्न समुदाय समक्ष अनुरोध गरेका छन् । जाडो याममा न्यानो नपाउंदाको पिडा तर्फ औंल्याउदै त्यसलाई आफ्नो पिडा सम्झेर जति सकिन्छ त्यति सहयोग गर्न उनीहरुको अनुरोध छ । आफ़ु बसेको समाज र बिपन्नहरुलाई केहि दिएर समाजबाट हामीले लिएको धेरै ऋण अलिकति पनि चुक्ता गर्न सके समाज सुन्दर हुने विश्वास लिंदै सबैलाई नसके पनि केहीलाई न्यानो दिन पाउँदा खुशी लागेको व्यक्त गरेका छन् । संयोजकहरु कृतिका तिमिल्सिना, सम्वृद्धि अधिकारी, ऋतु उपाध्याय, हार्डेन, बेन ड्रिगर्स, लेला ड्रिगर्स छन् ।
एचडीएनपी इन्टरनेसनलको कार्यालय टेक्सासको आर्लिंगटन सिटीमा रहेको छ । यसले घरबारबिहिनहरुलाई लामो समय देखि सेवा गर्दै आएको छ । यसले बिभिन्न अवसर पारेर खाना खुवाउने काम समेत गर्छ । त्यस्तै रक्तसंकलन अभियान, आबस्यक परेकाहरुलाई अस्पताल र क्लिनिक जान सवारी साधन समेत उपलब्ध गराउने गर्छ । आफुले बसेको समाजलाई पनि केहि दिनु पर्छ भन्ने उद्देश्यले खोलिएको यो संस्थाले नेपालमा समेत थुप्रै कामहरु गरिरहेको छ । नेपाली कै नेतृत्वमा चले पनि यो संस्थामा अमेरिकी नागरिकहरुले पनि सेवा गर्दै आएका छन् भने युवाहरुको सक्रियताले यो संस्थामा केहि गर्ने उर्जा समेत भरपुर देखिन्छ ।