ट्रंपमाथि महाअभियोग लगाउने आरोप तयार गर्न इन्टेलिजेन्स कमिटिको रिपोर्ट जुडिसिएरी कमिटीमा
यतिबेला अमेरिकाको राजनीति रास्ट्रपति ट्रंपमाथि अभियोग लगाउने वा नलगाउने भन्ने बिषयमा केन्द्रित छ । २०१८ को निर्बाचनमा प्रतिनिधिसभामा डेमोक्र्याटहरु बहुमतमा आए पछि शुरु भएको यो महाअभियोगको डण्डा युक्रेन काण्डमा पुगेर बजारिने भएको छ । बन्द कोठा भित्र भएका सुनुवाई र सार्बजनिक सुनुवाइको दुइ चरणहरु पार गरिसकेपछि इन्टेलिजेन्स कमिटिले रिपोर्ट तयार गरेर जुडिसिएरी कमिटीमा पठाउँदै छ । जुडिसिएरीमा रिपोर्ट पुगिसके पछि महाअभियोगको तेश्रो चरण शुरु हुनेछ जसमा संबिधानविद र कानुनविदहरुले प्राप्त प्रमाण र तथ्यहरुका आधारमा महाअभियोग लगाउन मिल्ने वा नमिल्ने र मिल्ने भए कुन कुराहरुलाइ समाबेश गर्ने भन्ने बारेमा बहस गर्नेछन् । त्यसको लागि व्यक्तिको छनोट पनि घोषणा भैसकेको छ ।
जुडिसिएरी कमिटिका प्रमुख जेरी न्याड्लरले रास्ट्रपति ट्रंप र व्हाइट हाउसलाइ पत्र लेखि आफ्नो प्रतिरक्षाको लागि आफै वा आफ्नो वकिललाइ पठाउन अनुरोध गरिसकेका छन् । साथै त्यसको लागि डिसेम्बर ५ सम्मको समयसिमा तोक्दै त्यसपछि कमिटि व्हाइट हाउसको प्रतिक्षा नगरी केसलाइ अघि बढाउने उक्त पत्रमा जनाएका छन् । यो समग्र घटनामा पहिलो जानकारी भएका व्यक्तिहरुलाई नबोलाई केहि कर्मचारीहरुको भनाइको भरमा मात्र यति गम्भीर बिषयलाई अघि बढाएको भन्दै रिपब्लिकनहरु रुस्ट छन् । तर यो काण्डमा नाम मुछिएका ट्रंप प्रशासनका मिक मुल्भेनी र माइक पम्पेओलाइ सुनुवाईमा भाग लिन नदिएर उक्त बाटो व्हाइट हाउसले नै बन्द गरेको डेमोक्र्याटहरुको भनाइ छ ।
हाउस डेमोक्र्याटहरुले घोषणा गरेका बिज्ञहरुमा नोह फ़ेल्ड्मेन, पामेला कर्लान, माइकल जर्हार्ट र जोनाथन टर्ली छन् । उनीहरु सबै जना अमेरिकाका प्रशिद्ध बिस्वबिद्यालयका प्रोफेसरहरु छन् । सुनुवाइको दिन र समय घोषणा गरिसक्दा र आफ्नो प्रतिरक्षाको लागि प्रतिनिधि पठाउन पत्र लेखे पनि व्हाइट हाउसले निस्पक्ष अनुसन्धान नभएको भन्दै सुनुवाइमा आफुले भाग नलिने उत्तर पठाएको छ । अर्को तिर जुडिसिएरी कमिटीमा ४ दर्जन भन्दा बढी सदस्य रहेको र दुइ पार्टीमा गहिरो गरी विभक्त भएको हुनाले यो सुनुवाई पनि निकै बिबादित हुने पक्का छ । नेटो बैठकमा भाग लिन युरोप जाँदै गर्दा ट्रंपले आफ्नो धारणा स्पस्ट गर्दै डेमोक्र्याटहरुले काम केहि नगर्ने र काम गर्न पनि नदिने भन्दै आलोचना गरेका छन् ।