नेपानको अध्यक्षमा झविन्द्र भण्डारी
नेपाल सहभागीमूलक कार्य समूह (नेपान) को हालै (शनिवार) सम्पन्न २५औं वार्षिक साधारणसभाले झविन्द्र भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिमा १३ जना निर्वाचित पदाधिकारी रहने र संस्थाका कार्यकारी निर्देशक पदेन सचिव रहने व्यवस्था छ । २०७४ भदौमा सम्पन्न २३औं साधारणसभाबाट निर्वाचित अध्यक्ष चेतनाथ कणेलको २ वर्षे पदावधि समाप्त भएपश्चात् उक्त नयाँ कार्यसमिति गठन गरिएको हो ।
नेपानको २५ वर्षे इतिहासमा कहिले पनि अध्यक्ष नदोहोरिने परम्परा यसपटक पनि कायम रह्यो । तर संस्थामा अविच्छिन्नता कायम राख्न र सल्लाहकारीय भूमिकाका लागि भने निवर्तमान अध्यक्षलाई ‘पदेन सदस्य’को रूपमा राख्ने नेपानको प्रचलन छ । नवनिर्वाचित अध्यक्ष भण्डारी नेपानको १५औं अध्यक्ष बन्नुभएको छ ।
नयाँ कार्यसमितिमा कोषाध्यक्ष तेजबहादुर सुनार हुनुहुन्छ भने सदस्यहरूमा क्रमशः अनिरुद्धनाथ शुक्ला, विनोदकुमार तिमिल्सेना, बिर्ख क्षेत्री, डा. मीनाक्षी दाहाल, पदम भुसाल, पद्माकुमारी शाक्य, रुपा बस्नेत, रुपा मुनकर्मी, सुनीलकुमार यादव र तोया गौतम निर्वाचित हुनुभएको छ ।
संस्थामा हाल करिब ३०० जना सदस्य रहेका छन् । ‘आउँदा वर्षमा सातैवटा प्रदेशमा नेपानको सञ्जाल विस्तार गर्ने र स्थानीय सरकारका विकास योजना तर्जुमा, सुशासन तथा जवाफदेहिता अभिवृद्धि, जनसहभागितात्मक एवम् समावेशी विकास प्रक्रियाको सुदृढीकरणमा टेवा पु¥याउनेलगायतका कार्यमा नेपानले आफ्ना क्रियाकलाप केन्द्रित गर्ने सोच बनाएको छ’, निवर्तमान अध्यक्ष कणेलबाट जिम्मेवारी लिँदै नवनिर्वाचित अध्यक्ष भण्डारीले साधारणसभालाई सम्बोधन गर्दै भन्नुभयो ।
नेपानले विभिन्न विकास सवालमा अनुसन्धान, तालिम, नियमित छलफल गोष्ठी, प्रकाशन, स्रोत केन्द्र सञ्चालन तथा विकास पैरवी गर्ने गर्दछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकासकर्मी तथा नीति–निर्माताहरूलाई लक्षित गर्दै दुई दशकभन्दा बढी समयदेखि ‘सहभागिता’ नामक विकास पत्रिका र ‘पार्टिसिपेसन’ नामक अंगे्रजी जर्नल पनि नियमितरूपमा नेपानबाट प्रकाशित हुँदै आएका छन् । नेपानले सक्रिय विकासकर्मी तथा लेखकहरूलाई सम्मान र पुरस्कृत गर्नका लागि ‘प्रसिद्ध कणेल स्मृति सहभागीमूलक विकास लेखन सम्मान’ र ‘डा. भोलाप्रसाद दाहाल स्मृति सम्मान’ गरी दुई सम्मानको स्थापना पनि गरेको छ ।