हाम्रो र राम्रोलाई मतदान गरौँ
एनआरएन अमेरिकाको चुनाव प्रचारको अन्तिम दिन पनि अमेरिकाको नेपाली समाज तरंगित छ । सामाजिक संजाल देखि व्यक्तिगत मेसेजहरुको आदान प्रदान तिब्र रुपमा भैरहेको छ । एनआरएन र नेपाली समाजलाई केहि सकारात्मक योगदान पुर्याउने अधिकांश उम्मेदवारहरुको उद्देस्य हो, त्यसमा शंका गर्ने ठाउँ छैन । तर सबै उम्मेदवार एकैनासले योग्य हुनुहुन्छ भन्ने छैन । कोहि अर्को उम्मेदवार भन्दा योग्य हुनुहुन्छ भने कोहि कम योग्य । तर उहाँहरु सबैको एउटै उद्देस्य भने राम्रै गरौँ भन्ने हो ।
यस बिचमा मैले पनि कतिपय उम्मेदवारहरुको समाचार छाप्न प्रयास गरें । कतिपयको अनुरोध अनुरुप समाचार लेख्न सकें भने कतिपयको सकिन । त्यसरी लेख्न नसक्नुमा मेरो आफ्नै समयको समस्या हो, अन्यथा केहि होइन । म त चाहन्थें, सबै उम्मेदवारहरुको बारे केहि लेखुं । सबैका कुरा समाजसामु राखेर उनीहरुलाई सहि उम्मेदवार चुन्ने बातावरण तयार गरूँ । तर त्यो सम्भव भएन । त्यसमा मलाई असजिलो लागेको छ ।
टेनेसी कोर्टमा हालिएको मुद्धाबाट शंकामा परेको चुनाव अदालतको फैसलाले चुनाव हुने पक्कापक्की भएको छ । चुनाव आउन केहि दिन मात्र बाँकी रहंदा पनि धेरै मतदाताहरुमा कसलाई भोट हाल्ने भन्नेमा स्पष्टता छैन । यस्तोमा कसलाई भोट हाल्ने भन्नेमा मेरो आफ्नो शुत्र छ । हाम्रो र राम्रोलाइ चुनाव जिताउनु हाम्रो दायित्व हो । यदि हाम्रो मान्छे राम्रो छैन भने अर्कोलाइ रोज्नु पर्छ । हाम्रो रोज्ने नाममा गल्ति गरिरहनु हुँदैन ।
मेरो विचार अनुसार कुनै पनि पदको लागि उठेको व्यक्ति त्यो पदको लागि योग्य छ कि छैन हेर्नु पर्छ । त्यसको लागि उसको पृष्ठभूमि हेर्नु पर्छ । बिगतमा के कस्तो काम गरेको छ, उसका योजना र भिजनहरु के के छन्, त्यसलाई हेर्नु पर्छ । बिगतमा उसले निभाएका भुमिकहरुमा कत्तिको सफल छ, त्यसले उसको भावी पदमा रहेर काम गर्न सक्छ वा सक्दैन भन्ने छुट्टाउन सकिन्छ । जसरी डेलिभरी ड्राइभरको जागिरको आबेदन दिन ड्राइभर लाइसेन्स चाहिन्छ, त्यस्तै कुनै पनि पदमा रहर वा करकाप होइन, योग्यता भएको मान्छे को छ हामीले हेर्नु पर्छ ।
एनआरएन बुझेको, हाम्रो समस्याहरु पहिचान गरेको, समाजमा योगदान गरेको र सबैलाई मिलाएर लान सक्ने व्यक्तिहरुलाई हामीले चुन्नु पर्छ । एउटा गुट वा उपगुटको प्रतिनिधित्व नगरी सबैको प्रतिनिधित्व गर्ने मान्छेको खोजि हामीले जारी राख्नु पर्छ । सानो चित्त बनाएर क्षत्रिय, जातीय वा अन्य साँघुरा सोंचहरुबाट मुक्त रहेर सहि व्यक्तिहरुको पहिचान गरेर मतदान गर्यौं भने पक्कै पनि हाम्रो एनआरएन सहि दिशातर्फ जानेछ । सबैलाई सुभकामना ।
(लेखनाथ गौतम)