फिनल्याण्डमा पुष्पाले सुनाइन् गीत र कविता
फिनल्याण्डमा खनालको कविता वाचन
कुपिओ (फिनल्याण्ड)ः गीतकार तथा कवि पुष्पा खनालले फिनल्याण्डको कुपिओमा अङ्ग्रेजीमा गीत र कविता सुनाइन् । उनको एकल गीत तथा कविता वाचन कार्यक्रममा स्रष्टा खनालले मैले पुज्ने देव तिमी, चाहेर तिमीलाई पाउन सकिन, दाग कति राम्रो, आउँदा जाँदा बाटो परे जस्ता उनका गीत र आमा, गुलाव र म, नारी, हे विष आफूले आफैँलाई पिएर हेरलगायत दर्जन गीत र कविता बाचन गरेकी थिइन् ।
खनालका अहिलेसम्म २०० भन्दा बढी गीत तथा कविता छन् । नेपाल स्रष्टा समाजकी महासचिवसमेत रहेकी खनालको एउटा पुस्तक प्रकाशन भइसकेको छ भने अब चाँडै अर्र्को पनि गीतको किताब निस्कन लागेको उनले बताईन् । नेपालकी उदयमान गीतकार खनालका गीतहरुमा अञ्जु पन्त, स्वरुपराज आचार्य, नरेन्द्र प्यासी, सरोज कोइरालालगायतका गायक गायिकाले स्वर दिएका छन् । खनालका गीत तथा कवितामा ममता, स्नेह, जागरुकताका साथै विद्यमान संसारसँगको बिद्रोह भेटिन्छ । उनको सुने तिम्रो खुशी, यो आँखाको पानीलाई, आमा बोलका गीतहरू धेरै चर्चामा रहेका छन् ।
उनको गीत तथा कवितामा स्थानीय सङ्गीतकार टोनी लेतो र पेते रिसेनले सङ्गीत दिएका थिए । उपस्थित फिनिस नागरिकले कविता तथा गीतले नेपाललाई बुझ्न निकै सहयोग गरेको बताएका थिए ।
कविता तथा गीत वाचन कार्यक्रम स्थानीय माउण्ट शेर्पा रेस्टुराँमा भएको थियो । उनका कविता सुन्न नेपाली र फिनिस गरी करीव ४० नागरिक भेला भएका थिए ।