मिस नेपाल युएस छैठौं शृंखलाको “विद्वता प्रदर्शन”का स्मरणीय क्षणहरु
१९ अगस्त आइतबार मिस नेपाल युएस छैठौं शृंखला सम्पन्न हुँदैछ। यसमा भाग लिने नेपाली युबतीहरु बिभिन्न चरणमा तालिम लिंदैछन । संगसंगै उनीहरुले सामाजिक संजालमा आफ्नो लागि भोट पनि माग्दैछन । आफ्ना भावी योजना र विचार बिभिन्न अनलाइन मार्फत व्यक्त गरिरहेका छन् । त्यस्तै उनीहरुले आफ्नो कला समेत प्रस्तुत गरेर आफुलाई मिस नेपाल युएसको बिजयको दावेदार भएको प्रमाण पेश गरिरहेका छन् ।
हिजो अगस्त १७ गते शुक्रबार उनीहरुलाई कला प्रस्तुत गर्न वा आफ्नो विद्वता प्रदर्शन गर्ने अवसर यो कार्यक्रमका संयोजकहरुले अवसर दिएका थिए । नेपाली समाज टेक्सासको सभाहलमा उक्त कार्यक्रमको आयोजना गरिएको थियो । गीत गाएर, अभिनय गरेर, नाचेर, बाजा बजाएर वा बक्तब्य दिएर जुन तरिकाले भए पनि उनीहरुले उक्त अबसरमा आफु बाहिरी रुपमा सुन्दर मात्र होइन भित्र असल गुण, क्षमता र बिचारको समेत अपार सुन्दरता छ भन्ने कुरा सबै सामु प्रस्तुत गर्नु पर्ने थियो ।
करिव साढे दुइ बजेको हुँदो हो बिस्तारै आयोजकहरु, सहभागीहरु र निर्णायकहरु आइपुग्नु भयो । सहभागी सुन्दरीहरु कोहि नेपाली पहिरनमा, कोहि आधुनिक पहिरनमा देखा परे । सामान्यतया सुन्दरी भन्ने बित्तिकै तडकभडक बढी, हाइफाई बढी, मेकअप बढी, चुरीफुरी बढी हुन्छ भन्ने बुझाइ हुन्छ । तर सबै यी नेपाली युवती सुन्दरीहरु अत्यन्त सामान्य थिए । उनीहरुले लगाएका वस्त्रहरू पनि उत्ताउलो प्रकारका थिएनन । उनीहरु हलमा आए पछि कोहि खान तिर लागे, कोहि हल्का अनुहारको सजावटमा लागे, कोहि कला देखाउनको लागि प्राक्टिस गर्न लागे, कोहि कुर्ची मिलाउन लागे । त्यहाँ उनीहरुले आफु अलग्गै होइन, यो समग्र प्रक्रियाको एक हिस्सा भएको भन्ने अनुभूति दिलाए ।
करिव तीन बजेको थियो, कार्यक्रम शुरु भयो । ट्यालेन्ट शो अर्थात् “विद्वता प्रदर्शन” दिइएको यो समयमा सहभागीहरुले छुट्टाइएको समय भित्र आफ्नो विद्वता प्रदर्शन गरिसक्नु पर्ने थियो । अधिकांश सहभागीहरु परम्परागत नेपाली पहिरनमा थिए । त्यसैले अनुमान धेरैले नृत्य गर्छन भन्ने नै थियो । धेरैले नृत्य नै गरे तर नृत्यमा पनि उनीहरुले कला संगै आफ्नो संदेश समाजमा प्रबाह गरे । बिशेष गरी महिला माथि बिस्व भरि भैरहेका विभेद, नेपालमा छोरीहरु माथि हुने विभेद लगायत अत्यन्त चेतनामुलक नृत्य र नाटक प्रस्तुत गरे । उनीहरुका प्रस्तुतिले कतिबेला हल स्तब्ध हुन्थ्यो भने कतिबेला तालीको गडगडाहट ।
पक्कै पनि निर्णायकहरुले नम्बर दिनु भएको छ । सहभागीहरु मध्ये कसैले धेरै र कसैले थोरै नम्बर पनि पाए होलान । तर मलाई यी सबै नेपाली युवतीहरुको प्रस्तुति अत्यन्त उत्कृस्ट लाग्यो । जुनसुकै कला देखाए पनि उनीहरुमा देखिएको कन्फ़िडेन्स हेर्न लायक थियो । उनीहरुले जे भने, जे गरे अत्यन्त ढुक्कसाथ भने । उनीहरुको क्षमता र विद्वता प्रदर्शन हेर्दा यस्तो लाग्थ्यो, अबको अमेरिकी समाजमा हाम्रा चेलीहरु पक्कै नेतृत्व गर्ने ठाउँमा पुग्नेछन । त्यसमा शंका कसैले नगरे हुन्छ । विद्वता प्रदर्शनको क्रममा उनीहरुले नेपाल लगायत बिस्वमा देखिएका बिकृति र महिला माथिको अन्यायको बारेमा जसरी बोलेका थिए, त्यसले उनीहरु भोलि संसारमै केहि प्रभाव पार्न सक्ने व्यक्ति बन्न सक्छन भन्ने कुरामा नेपाली समाज ढुक्क छ ।
सहभागी धेरैजसो नेपालमा जन्मेका र अमेरिकामा हुर्के बढेका र पढेका थिए । तर उनीहरुको माया नेपाल प्रति नै थियो । उनीहरुले नेपालमा गएको २०१५ को भुकम्पका कुरा गरे । काठमाडौँकी संगीता मगर, नेपालगंजकी रिहाना सेख माथि भएको एसिड आक्रमणका कुरा गरे । गाउँ बस्तिहरुमा छोरा र छोरी माथि हुने विभेदका कुरा गरे । उनीहरुले शिक्षाको महत्व र महिला शसक्तिकरणको बारेमा आफ्ना विचार प्रस्तुत गरे । हामी बिदेशमा छौं होला, हामी दैनिक नेपालको सेवा गर्न सक्दैनौ होला तर हाम्रो मुटुमा नेपाल छ र हाम्रा काम र कर्महरु नेपाल आमाको शिर उचो राख्न नै निर्देशित हुनेछन भन्ने उनीहरुको भावना थियो ।
“विद्वता प्रदर्शन” कार्यक्रममा सहभागी थिए अदिति श्रेष्ठ, पोशा घर्ति मगर, कृति ढुंगेल, बियाङ्का अधिकारी, दिलाशा न्यौपाने, सपना गौतम, लाक्पा शेर्पा, बिना श्रेष्ठ, नेलिया गुरुङ, सुशना पोख्रेल, आइषा ओझा, सुजना रुपाखेती, सुकृति ढुंगेल, अन्जिला पौडेल, श्रेया नेपाली, स्वीकृति भट्टराई र सपना महर्जन । निर्णायकहरु प्रशिद्ध गायक राजु लामा, नृत्यांगना सुलोचना खनाल, पत्रकार सुरज भण्डारी, एनआरएनका बेदराज बस्नेत, कोरियोग्राफर सुरेश मानन्धर हुनुहुन्थ्यो । टेक्सासमा हुन लागेको यो मिस नेपाल युएस छैठौं शृंखलाको आयोजना नेपाल ११ ले गरेको छ ।