गैर आबासीय नागरिकता सम्बन्धि विधेयकमा त्रुटी: सच्च्याउन माग
नेपालको संबिधानमा गैर आबासीय नेपालीहरुलाई बिशेष नागरिकता दिने प्राबधान छ । त्यसको लागि कानुन बनाउनु पर्छ । नेपाल सरकारले सोहि संबैधानिक प्राबधानलाइ ऐन बनाएर पूर्णता दिन बाँकी थियो । त्यो बिधेयक अहिले प्रस्तुत गर्ने तयारी भैरहेको छ । नियतबश हो वा भुलबश अमेरिका र क्यानाडा बस्ने नेपालीहरुलाई भने अप्ठेरो प्राबधान राखिएको छ । यसलाई सच्च्याउन आबस्यक देखिएको छ । नेपाली नागरिकता त्यागेको प्रमाण बुझाउनु पर्ने प्राबधान हटाउनु पर्ने अवस्था देखिएको हो ।
अमेरिका र क्यानाडामा नागरिकता लिनेले नेपाली नागरिकता त्याग्नु पर्दैन । त्यसैले कुनै पनि नेपाली नागरिकहरुले नेपाली नागरिकता अमेरिकी सरकारलाई बुझाएका छैनन् । नबुझाए पछि बुझाएको प्रमाणपत्र हुने कुरै भएन । नागरिकता त्यागेको प्रमाणपत्र बुझाउन नसक्दा नेपाली गैर आबासीय नेपाली नागरिकता नपाइने हो कि भन्ने चिन्ता अमेरिकामा रहेका नेपालीहरु माझ व्याप्त हुन पुगेको छ ।
अमेरिकामा लामो समय देखि कानुनी अभ्यास गरिरहेका खगेन्द्र जिसीले उक्त प्राबधान प्रति चासो व्यक्त गर्दै त्यो हटाउनु पर्ने आबस्यकता औल्याउनु भएको छ । आफ्नो फेसबुक मार्फत सम्बोधन गर्दै उहाँले उक्त प्राबधानले अमेरिकामा रहेका नेपालीहरुलाई समस्या पर्ने जनाउनु भएको हो । दोहोरो नागरिकता व्यवस्था गरेका देशहरुमा बस्ने नेपालीहरुलाई यो प्राबधानले नागरिकता लिन बाट बन्चित हुने यो बिधेयकबाट अवस्था उत्पन्न भएकोमा सबैलाई पहल गर्न अनुरोध समेत गर्नु भएको छ ।